सुदूरपश्चिम सरकार बिस्तार भोली हुने, नागरिक उन्मुक्ति आन्तरिक छलफलमा

  शुक्रबार ०५, जेठ २०८० १७:४८

धनगढी । आज हुने भनिएको सुदूरपश्चिम प्रदेशको सरकार विस्तार भोली सम्मलाई टरेको छ । भोली बिहान १० बजे शपथ ग्रहण गर्ने गरि सत्ता गठबन्धनको बैठक सकिएको माओवादी संसदीय दलका नेता खगराज भट्टले जानकारी दिए।

सत्ता गठबन्धनका दलहरू बिच मन्त्रालयका बिषयमा सहमति नभएपछि आज सरकार विस्तार हुन नसकेको हो । चार मन्त्रालय अहिले मन्त्री विहीन छन् । छलफलमा माओवादीले र नागरिक उन्मुक्तिले २/२ र नेपाली कांग्रेसले १ मन्त्रालयको दाबी गरेका थिए ।

चार मन्त्रालयमा पाँच जनाको दाबी भएपछि सहमति जुट्न नसकेको हो । नागरिक उन्मुक्तिलाई १ मन्त्रालयमा मनाउने बिषयमा छलफल भएको थियो । उनीहरुले यस बिषयमा छलफल गर्ने बताएर बैठकबाट निस्किएका थिए ।

उनीहरुले भोली बिहान सम्म आन्तरिक छलफल गर्ने छन् । एक मन्त्रालयमै सरकारमा सहभागी हुने कि सरकारमा नजाने भन्ने बिषयमा उनीहरुले निर्णय गर्ने जनाइएको छ ।

उनीहरुको सहमति भएमा भोली तीन दलबाट नभए दुई दलबाट मन्त्री नियुक्त हुने छन् । माओवादी केन्द्रले पाउने २ मन्त्रीमा सहमति भइसकेको छ । रमेश धामी र झपट साउद मन्त्री बन्ने पक्का छ ।

नागरिक उन्मुक्ति पार्टीले रामेश्वर चौधरी र लक्ष्मण किशोर चौधरीलाई मन्त्री बनाउने निर्णय भइसकेको छ । नेपाली कांग्रेसले पृथ्वीबहादुर सिंहलाई मन्त्री बनाउने सम्भावना बढि रहेको छ ।

clock शुक्रबार ०५, जेठ २०८० १७:४८

प्रतिक्रिया