दार्चुलामा पछिल्लो समय निगालोका सामग्री लोप हुँदै

  मङ्गलबार १८, कार्तिक २०८२ ११:३१

दार्चुला । दार्चुलामा पछिल्लो समय निगालोबाट बनेका सामग्री लोप हुँदै गएका छन् । निगालोबाट बन्ने डोको, डालो, नाङ्लो, मट्टो, सुपालगायतका सामग्री निकै प्रचलनमा रहे पनि लोप हुँदै गएका छन् । 

जङ्गलमा विगतमा प्रशस्त मात्रामा पाइने निगालोसमेत कम मात्रामा पाइन थालेको बताइएको छ । व्यावसायिक रूपमा उत्पादन कम गरिएको र यसको बजार पनि खस्किँदै गएकाले निगालोबाट बनेका सामग्री लोप हुन थालेको यहाँका व्यापारीले बताएका छन् । 

प्लास्टिकका भाँडाकुँडा प्रयोगमा आउन थालेपछि निगालोका सामग्रीको बजार खस्कँदै गएको कृषि बजार खरिद तथा बिक्री केन्द्र दार्चुलाका सञ्चालक दिलेन्द्रराज भट्टले बताउनुभयो । निगालोका सामग्री बनाउन झन्झट हुने र उचित बजारसमेत नपाउँदा समस्या हुने गरेको छ ।

हाल बजारमा पाइने प्लास्टिकका भाँडाभन्दा कैयौँ गुणा राम्रो भए पनि निगालोबाट बनेका सामग्रीको बजार खस्कँदै गएको छ । वनजङ्गलमा निगालो कम हुँदै गएको र प्लास्टिकका भाँडाको बढ्दो प्रयोग नै निगालोका सामग्री लोप हुनुको मुख्य कारण रहेको उहाँले बताउनुभयो । 

निगालोका सामाग्री बिक्रीबाट घरपरिवारको खर्च चलाउन सहयोग मिल्ने भए पनि प्लास्टिकका भाँडाको प्रयोगले यो व्यवसायमा लागेकाहरू पलायन हुन थालेका छन् । 

सडक र बजार अभावका कारणले निगालोका सामग्री लोप हुँदै गएको महाकाली नगरपालिका–३ का केशवदत्त भट्टले बताउनुभयो । निगालोबाट बनेका सामग्री स्वास्थ्यका दृष्टिले पनि राम्रो मानिन्छ । 

यहाँका सबै स्थानीय तहमा निगालो र यसका सामग्री निर्माण गरिने भए पनि व्यावसायिकतामा ह्रास आाउँदा बजारमा सामग्री नै अभाव रहेको व्यापारी दिलेन्द्रराज भट्टले बताउनुभयो ।

निगालोका सामाग्री केही मात्रामा सदरमुकाम खलङ्गामा पाइने भए पनि यसका उपभोक्ता घटेका छन् । मेला तथा पर्वमा मात्रै निगालोका सामग्री पाइने आमबुझाइ रहँदै आएको छ । 

आफ्नै कला र सिपबाट बन्ने यस्ता सामग्रीको संरक्षणमा ध्यान दिनु आवश्यक देखिएको छ । जङ्गलमा डढेलो लगाउने कार्य र नयाँ पुस्ताले यो पेसा नअपनाउँदा निगालोबाट बनेका सामाग्री पाइन छाडेको स्थानीय बताउँछन् ।  

clock मङ्गलबार १८, कार्तिक २०८२ ११:३१

प्रतिक्रिया