डडेलधुरा अस्पतालमा १० दिनको फरकमा दुई जना अध्यक्ष
धनगढी । डडेलधुरा अस्पताल विकास समितिको अध्यक्षमा दश दिनको फरकमा दुई जना व्यक्तिले पत्र पाएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले वैशाख २६ गते लक्ष्मण सिंहलाई तीन वर्षका लागि अध्यक्ष नियुक्त गरेको पत्र दिएको थियो।
तर त्यसको ९ दिनपछि जेठ ३ गते करुणाकर ओझालाई पनि अध्यक्षमा नियुक्त गरेको पत्र दिएको छ। जेठ ३ गते स्वास्थ्यमन्त्री मोहन बस्नेतले यसअघि नियुक्त भएका सिंहको नियुक्ति बदर गर्दै ओझालाई अध्यक्षमा नियुक्त गरेका हुन्।
सिंहलाई भने स्वास्थ्यमन्त्रीमा मोहन बस्नेत नियुक्त हुनुभन्दा तीन दिन अघि वैशाख १७ गते नै स्वास्थ्य मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका प्रधानमन्त्री पुष्पकमल दाहालले अध्यक्षमा मनोनयनको निर्णय गरेका थिए।
प्रधानमन्त्री दाहालको निर्णय अनुसार स्वास्थ्य मन्त्रालयले सिंहलाई वैशाख २३ गतेदेखि लागू हुने गरी २६ गते मात्र पत्र दिएको थियो। पत्र पाएपछि सिंहले अस्पतालमा पुगेर अध्यक्षको जिम्मेवारी समेत सम्हालिसकेका छन्।
तर उनी अध्यक्षको कुर्सीमा भने १० दिन पनि बस्न पाएनन्। स्वास्थ्यमन्त्री बस्नेतले उनको मनोनयन बदर गर्दै ओझालाई पठाएका छन्। दुवै जनालाई लेखिएको पत्रको व्यहोरा भने एकै छ।
मन्त्रालयकी जनस्वास्थ्य अधिकृत रोजिना ताण्डुकारको हस्ताक्षर रहेको पत्रमा ‘तपाईँलाई अस्पताल विकास समिति गठन आदेश २०७६ को दफा ३ को उपदफा (२) क बमोजिम डडेल्धुरा अस्पताल विकास समितिको अध्यक्ष पदमा ३ वर्ष पदावधि रहने गरी मनोनित गरिएको व्यहोरा जानकारी गराएको छु,’ भन्ने उल्लेख छ।
मन्त्री बस्नेतले ओझालाई मनोनयनको पत्र दिएका छन् भने सिंहलाई भने यसअघि गरिएको मनोनयन बदरको पत्र दिएका छन्। यस मन्त्रालयको मिति २०८० वैशाख २६ गतेको पत्रानुसार अध्यक्ष पदमा नियुक्त गरिएकोमा यस मन्त्रालयको जेठ ३ गते मन्त्रीस्तरको निर्णयानुसार तपाईंको मनोनयन बदर गरिएको व्यहोरा अनुरोध छ, सिंहलाई ३ गते पठाइएको पत्रमा भनिएको छ।
अस्पतालको विकास समिति अध्यक्षका रुपमा ओझाको कार्यकाल केही समय अघि मात्र सकिएको थियो। उनको कार्यकाल सकिएपछि प्रधानमन्त्रीले सिंहलाई नियुक्त गरेका थिए। तर स्वास्थ्यमन्त्री बस्नेतले उक्त नियुक्ति बदर गरिदिएको स्वास्थ्यमन्त्रालयका एक कर्मचारीले जानकारी दिए। ती कर्मचारीका अनुसार सिंह यसअघि पनि पहिला अस्पतालको अध्यक्ष भइसकेका थिए।
प्रतिक्रिया