कञ्चनपुर कारागारको घटना छानबिन गर्न समिति गठन
कञ्चनपुर । दुई दिनअघि कञ्चनपुर कारागारभित्र कैदीबन्दी र नाइके बीच भएको झडप विवाद घटना छानबिन गर्न स्थानीय प्रशासनले समिति गठन गरेको छ । गत शुक्रबार कैदीबन्दी र नाइके बीच कारागारभित्र विवाद हुँदा भएको झडपमा आठ कैदीबन्दी घाइते भएका थिए ।
घाइतेमध्ये दुई जना कारागार फर्किएका छन् भने ६ जनाको महाकाली प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले कारागारको घटनाको यथार्थ बुझ्न सहायक प्रमुख जिल्ला अधिकारी मोहनचन्द्र जोशीको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरिएको जानकारी दिए ।
समितिमा जिल्ला प्रहरीका डीएसपी सागर बोहरा र जिल्ला प्रशासनका प्रशासकीय अधिकृत धर्मराज उपाध्याय सदस्य रहेका छन् । समितिलाई छानबिन गर्न सात दिनको समयावधि दिइएको प्रजिअ ढकालले जानकारी दिए । आज पनि कारागारको अनुगमनमा जाँदैछौँ, उनले भने, घटनाको विस्तृत छानबिन समितिले प्रतिवेदनमार्फत पेस गर्ला ।
नाइकेहरुले कारागारभित्र एकाधिकार गरेको आरोपसहित यहाँ कैदीबन्दी आन्दोलित भएका थिए । कैदीबन्दीले नाइकेहरुले आफूहरुले पाउने सेवासुविधामा आर्थिक चलखेल गर्ने र कारागारभित्र अवैध गतिविधि गर्दै आएको आरोप लगाएका छन् ।
प्रतिक्रिया