निसर्गको निःशुल्क उपचारमा भानुले पाए ‘नयाँ जीवन’

  मङ्गलबार २५, भदौ २०८१ १८:११
उपचार शुल्क मिनाह रिपोर्ट बिरामीका बुबा धने जोशीलाई हस्तान्तरण गर्दै हस्पिटलका अध्यक्ष तीर्थराज पन्त र साथमा बिरामी भानु जोशी ।

धनगढी । सडक दुर्घटनामा गम्भीर घाइते भएका बझाङका भानु जोशी धनगढीस्थित निसर्ग हस्पिटलमा चिकित्सकको ४५ दिनको  उपचारपछि घर फिर्ता भएका छन् । आर्थिक अवस्था कमजोर भएका जोशीले उपचार शुल्क तिर्न नसकेपछि हस्पिटलले समाजिक उत्तरदायित्व अन्तर्गत उनको उपचारको क्रममा लागेको मोटो रकम मिनाहा गरेको हो । उपचारसँगै उपचार शुल्क मिनाहा भएपछि उनीसँगै उनको परिवारमा खुशी छाएको छ । अस्पतालको ४५ दिने बसाइँपछि उनी सोमबार बझाङ फर्केका छन् ।

उनी ६ महिनाअघि सडक दुर्घटनामा परेर गम्भीर घाइते भएका थिए । उनको टाउकोमा गहिरो चोट लागेको थियो । यसअघि सवारी बिमाबाट पहिलो चरणको उपचार गरिसकेका उनको दोस्रो चरणको उपचारमा कतैबाट उपचार खर्च नजुटेपछि निरास थिए । ‘छोराको उपचारमा लागेको पैसा तिर्नका लागि विभिन्न संघसंस्थामा धायौँ कहिँबाट केही जुगाड भएन,’ विरामी भानुका बुबा धने जोशीले भने,‘अन्ततः अस्पतालसँग हारगुहार गरेँ, अस्पतालले पनि मेरो पारिवारिक र आर्थिक अवस्थाका बारेमा बुझेछ ।’ अस्पतालले ४५ दिनसम्म लागेको २ लाख ७२ हजार १ सय ५० रूपैयाँ निःशुल्क गरेपछि छोराले पुनर्जीवन पाउनुका साथै आफ्नो परिवारमा खुशी छाएको उनले बताए ।

‘यति ठूलो रकम हामी घरखेत बेचेर पनि तिर्न सक्ने थिएनौं,’ उनले भने,‘हाम्रो अवस्था हेरेर अस्पतालले जम्मै रकम मिनाहा गरेर हामीमाथि ठूलो गुन लगाएको छ ।’ २१ वर्षिय भानु उच्च शिक्षा अध्ययनका लागि बझाङबाट धनगढी झरेका थिए । उनी ६ महिना अघि मोटरसाइकल दुर्घटनामा घाइते भए । टाउकोको पहिलो चरणको शल्यक्रियामा बिमा कम्पनीले उपचार खर्च तिरेपनि दोस्रो चरणको शल्यक्रियामा भने उनले कहिँकतैबाट रकम पाएनन् । ‘छोराको उपचार त गर्नै प¥यो, जस्तो पर्ला भनेर अस्पताल ल्याएँ, उपचार सुरु गराएँ,’ बुबा धनेले भने,‘तर, पैसाका लागि कहीँबाट जुगाड नै भएन । अस्पतालको शुल्क तिर्न अनेक प्रयास गरेँ, कहिँबाट केही सिप नचलेपछि अस्पताल प्रशासनसँग विन्ति गरेँ । अस्पतालले पनि मेरो अवस्था बुझिदियो ।’

लामो समयको उपचारपछि घर फर्कदै गर्दा भानुले आफूलाई सन्चो भएको बताउँदै भने,‘मेरो उपचारमा संलग्न चिकित्सक टोली र यति ठूलो रकम मिनाहा गर्ने निसर्ग हस्पिटललाई धन्यवाद दिन चाहन्छु । यो गुन म कहिल्यै विर्सने छैन ।’ 

बिरामी भानुको पारिवारिक अवस्थाका बारेमा बझाङसम्मै बुझ्दा अवस्था नाजुक देखेपछि अस्पताल व्यवस्थापन बोर्डको बैठकले उनको अहिलेसम्मको उपचार शुल्क २ लाख ७२ हजार १ सय ५० रूपैयाँ मिनाहा गर्ने निर्णय गरेको निसर्ग हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा.लि.का अध्यक्ष तीर्थराज पन्तले बताए । उनले भने,‘टाउकोको शल्यक्रिया शुल्कदेखि ४५ दिनसम्मको अस्पतालको बसाइँबापतको २ लाख ७२ हजार १ सय ५० रूपैयाँ हामीले मिनाहा ग¥यौँ ।’

सामाजिक उत्तरदायित्व अन्तर्गत अस्पतालले पनि समय समयमा विभिन्न काम गर्दै आएपनि आर्थिक अवस्था कमजोर भएका विरामीको उपचारमा विगतदेखि सहयोग गर्दै आएको अध्यक्ष पन्तले बताए । ‘हामी प्रति विश्वास, भरोसा र आशा लिएर बिरामी आउँछन्,’ अध्यक्ष पन्तले भने,‘हामीले पनि सामाजिक उत्तरदायित्व बहन गर्दै सक्ने सहयोग गर्दै आएका छौँ ।’ यो मात्रै नभएर निसर्ग हस्पिटलले पटक–पटक बेसहारा, आर्थिक अवस्था कमजोर भएका र ज्येष्ठ नागरिकहरूलाई सहयोग गर्दै आएको उनले बताए । 

clock मङ्गलबार २५, भदौ २०८१ १८:११

प्रतिक्रिया