सुदूरपश्चिममा रेशमको पार्टीमा खैलाबैला, रामेश्वर र लक्ष्मणको पद खोसियो

  बुधबार २७, बैशाख २०८० १८:४६

धनगढी । नागरिक उन्मुक्ति पार्टी सुदूरपश्चिम प्रदेश संसदीय दलको नेताबाट रामेश्वर चौधरीलाई हटाइएको छ। आज (बुधवार) संसदीय दलको कार्यालयमा बसेको बहुमत सदस्यहरूको बैठकले चौधरीलाई संसदीय दलको नेताबाट हटाएको हो।

बैठकले घनश्याम चौधरीलाई दलको नेताको जिम्मेवारी पनि दिएको छ। उक्त बैठकमा रामेश्वर भने उपस्थित थिएनन्। सात जना प्रदेशसभा सदस्य रहेको नागरिक उन्मुक्तिमा चार जनाको हस्ताक्षरसहित संसदीय दलको नेता परिवर्तन गरेको सूचना प्रदेशसभा सचिवालयमा दिइएको छ।

त्यस्तै प्रमुख सचेतकको जिम्मेवारी खुसीराम चौधरीलाई दिइएको छ। यसअघि लक्ष्मणकिशोर चौधरी प्रमुख समेतक थिए। सचेतकको जिम्मेवारी कैलाश चौधरीलाई दिइएको छ।

संसदीय दलको नेतासहित अन्य जिम्मेवारी परिवर्तन गर्न बसेको बैठकमा लक्ष्मण किशोर चौधरी, धनश्याम चौधरी, खुसीराम चौधरी र कैलाश चौधरी उपस्थित थिए। इन्दिरा गिरीले बैठकमा उपस्थित भएर पनि निर्णयमा हस्ताक्षर गरिनन् । प्रदेश सांसदहरु रामेश्वर चौधरी र टीका थापा भने बैठकमा उपस्थित थिएनन्।

clock बुधबार २७, बैशाख २०८० १८:४६

प्रतिक्रिया