पाँच जिल्लाका २७ जनामा हैजा पुष्टि

  सोमबार २१, साउन २०८१ ०८:१४

काठमाडौँ । दिसाको माध्यमबाट सर्ने महामारीजन्य रोग हैजा (कोलेरा) पाँच जिल्लामा देखिएको छ । काठमाडौँ उपत्यकामा सबैभन्दा बढी बिरामी पुष्टि भएको छ । 

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार दुई साताअघि ललितपुरमा देखिएको हैजा अहिलेसम्म पाँच जिल्लामा २७ जनामा पुष्टि भएको छ । यो सङ्ख्या प्युठानमा थपिएका दुईसमेतको हो । 

महाशाखाका निर्देशक डा. यदुचन्द्र घिमिरेले आइतबार थप दुई जनामा हैजा पुष्टि भएको जानकारी दिनुभयो । उहाँले सबैभन्दा बढी उपत्यकाको ललितपुरमा १६ र काठमाडौँमा एक गरी उपत्यकामा १७ जनामा हैजा पुष्टि भएको जानकारी दिनुभयो । यसै गरी कैलालीमा आठ र प्युठानमा दुई जनालाई हैजा पुष्टि भएको छ ।

भक्तपुर चाँगुनारायणका एक जनालाई हैजा पुष्टि भएकामा ती व्यक्ति ललितपुरको एक अस्पतालमा कार्यरत रहेकाले भक्तपुर गणना नगरिएको रोग नियन्त्रण महाशाखाले जनाएको छ । 

महाशाखाका निर्देशक डा. घिमिरेले हैजासम्बन्धी कुनै पनि लक्षण देखिएमा नजिकैको स्वास्थ्य कार्यालयमा सम्पर्क गर्न अनुरोध गर्नुभयो । डा. घिमिरेले भन्नुभयो, “हैजाबाट बच्न खानेपानीमा विशेष सावधानी अपनाउनु पर्छ । त्यसका लागि खानेपानी तथा ढल निकास व्यवस्था विभाग, पानी उद्योगी, खानेपानी उपभोक्ता समिति, सरसफाइसम्बन्धी काम गर्ने सङ्घ संस्थाको दायित्व र भूमिका महत्त्वपूर्ण हुन्छ ।” 

उहाँले गर्मी र बर्खाको समयमा झाडापखाला, हैजा तथा पानीजन्य रोग फैलिने हुँदा सतर्कता अपनाउन सुझाव दिनुभयो । डा. घिमिरेका अनुसार हैजा फैलिएको स्थानमा रोग नियन्त्रण महाशाखाबाट स्वास्थ्यकर्मीको टोली गएर ती स्थानलाई निगरानीमा राखी कुन माध्यमबाट हैजा फैलिएको हो भन्ने अनुसन्धान गरिरहेको छ । 

उहाँले खानेपानीलाई उमालेर वा क्लोरिन प्रयोग गरेर मात्र प्रयोग गर्न सुझाव दिनुभयो । यस्तै व्यक्तिगत सरसफाइ, खानेकुराको सरसफाइ तथा खुला रूपमा दिसापिसाब नगर्न र चर्पीको प्रयोग गर्न, दिसापिसाब गरेपछि अनिवार्य रूपमा साबुनपानीले हात धुन आग्रह गर्नुभयो । 

clock सोमबार २१, साउन २०८१ ०८:१४

प्रतिक्रिया