धनगढीका मेयर हमालले नागरिकलाई दिएको बाचा पुरा गर्ने
धनगढी । धनगढीका मेयर गोपाल हमालले स्थानीय तहको निर्वाचनका बेला स्थानीयलाई पाँच वर्ष सेवा गर्न दिएको बाचा पुरा गर्ने भएका छन् । स्थानीय तहमा स्वतन्त्रबाट चुनाव जितेका चर्चित मेयरहरुले पार्टी खोलेर संघीय निर्वाचनमा भाग लिइरहेको बेला हमालले पाँच वर्षसम्म मेयरकै रुपमा धनगडेलीलाई सेवा दिने जनाएका छन् ।
काठमाडौं महानगरका मेयर बालेन साह र धरान उपमहानगरका मेयर हर्क साम्पाङले फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधि सभाको निर्वाचनमा उम्मेद्वार बन्ने तयारी गरिरहेका बेला उनीहरुसंगै चर्चामा रहने गरेका मेयर हमालले सो निर्वाचनमा उम्मेदवार नबन्ने बताएका छन् । काडमाडौंका मेयर बालेनले पनि आइतबार बिहान राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गरे ।
उनलाई पार्टीले भावी प्रधानमन्त्रीको उम्मेदवार बनाउने सहमति गरेको छ । साम्पाङले जनश्रामदान पार्टी खोलेर चुनावी प्रचार गरिरहेका छन् । स्वतन्त्र उम्मेदवार भएर जितेका बालेन र साम्पाङले दलीय राजनीति सुरु गर्दा धनगढीका मेयर हमालले आगामी निर्वाचनबारे मौन छन् । उनले न त नयाँ दल गठन वा प्रवेशमा लागेका छन्, न त पुराना दल नै रोजेका छन् ।
हमालले आफूलाई धनगढीका जनताले पाँच वर्ष मेयर पदका लागि म्यान्डेट दिएको बताउँदै सोही जिम्मेवारी निभाउने बताए । ‘पाँच वर्ष मेयरको जिम्मेवारीमै रहेर धनगढीका लागि काम गर्छु,’ उनी आफू निकटलाई भन्छन्, ‘अहिले कतै जान्नँ ।’
२०७४ सालको स्थानीय तह निर्वाचनमा धनगढीकै मेयरमा स्वतन्त्र लडेका हमाल २ हजार ७०० मतले कांग्रेसका नृपबहादुर वडसँग पराजित भए । निर्वाचन हारेका हमाल लगत्तै विवेकशील साझा पार्टीमा प्रवेश गरे । प्रदेश संयोजकको जिम्मेवारीमा रहँदै संगठन विस्तारमा लागेका उनले ०७८ सालमा पार्टी परित्यागको गरी धनगढीको मेयर पदमा पुनः स्वतन्त्र उम्मेदवार भए । ०७९ सालको स्थानीय तह निर्वाचनमा कांग्रेसका उनै वडलाई पराजित गर्दै मेयरमा विजयी भएका हमाल जनतालाई दिएको बाचा नबिर्सिने दावी गर्छन् । २०७९ को स्थानीय निर्वाचनमा हमालले कुल खसेको ६३ हजार ७१५ मतमध्ये २६ हजार ८६५ मत ल्याएर विजयी भएका थिए । । निकटतम् प्रतिस्पर्धी वडले १४ हजार ८१७ मत मात्रै पाए । तेस्रो भएका एमालेका रणबहादुर चन्दले ९ हजार ११५ मत ल्याएका थिए ।
पछिल्लो समयमा धनगढी क्षेत्रमा भइरहेका हरेक निर्वाचनमा ‘गोपाल हमाल फ्याक्टर’ले चुनावी अंकगणितमा प्रभाव राख्दै आएको छ । ०७९ सालको स्थानीय तह निर्वाचनपछि भएको प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा पनि हमालकै समर्थनमा तत्कालीन कांग्रेस–माओवादी गठबन्धनका उम्मेदवार विजयी भएको चर्चा थियो । कैलाली निर्वाचन क्षेत्र नं। ५ मा कांग्रेसका डिल्लीराज पन्त तथा प्रदेशसभातर्फ कांग्रेसका प्रकाश देउवा र तत्कालीन माओवादी केन्द्रका रमेश धामी विजयी भएका थिए ।
कैलाली उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष तथा महासंघका पूर्वकेन्द्रीस्य रहेका हमाल प्रतिष्ठित व्यवसायी पनि हुन् । उनी ‘सुन्दर सुदूरपश्चिम’का अभियनको नेतृत्वकर्ता हुन् ।
प्रतिक्रिया