कैलाली र कञ्चनपुरमा पशुचौपायामा रेबिजको संक्रमण बढ्दो

तीन महिनामा दुई जिल्लामा २२ पशुचौपायामा रेबिज

  मङ्गलबार २६, बैशाख २०८० ०९:४८

धनगढी । कैलाली र कञ्चनपुरमा केही महिनायता पशु–चौपायामा रेबिज रोगको संक्रमण बढ्दो छ । करिब तीन महिनाको अवधिमा यी दुई जिल्लामा २२ वटा पशु–चौपायामा रेबिज रोग देखिएको पशुपन्छी रोग अन्वेषण प्रयोगशाला धनगढीले जनाएको छ ।

प्रयोगशाला प्रमुख डा. नरेशप्रसाद जोशीले कैलालीमा चार र कञ्चनपुरमा १८ वटा पशु–चौपायाको नमुना प्रयोगशालामा परीक्षण गर्दा रेबिज रोग पुष्टि भएको जानकारी दिए । गाई, भैँसी, बाख्रा र कुकुरमा रेबिज देखिएको उनले बताए । ‘यहाँ रेबिज देखिएको नेपालमै सबैभन्दा बढी संख्या हो,’ उनले भने, ‘परीक्षणमा नआएको संख्या अझै बढी हुन सक्ने देखिएको छ ।’ 

"संक्रमित पशुबाट मानिसमा पनि रेबिज सर्न सक्छ" जोशीले भने, "संक्रमित पशुको र्‍याल मानिसको शरिरमा भएको घाउचोटमा लागेमा वा परेमा  पशुचौपायाबाट सजिलै रेबिज मानिसमा सर्न सक्छ । त्यसैले बिरामी पशुचौपायाको रेखदेख गर्दा होशियारी अपनाउनुपर्छ ।"

कैलाली, कञ्चनपुरमा मात्रै करिब तीन महिनायता रेबिजबाट थप डेढ सय पशु–चौपायाको मृत्यु भएको उनको अनुमान छ । परीक्षण गरिएकामध्ये धेरैजसो चौपायामा स्यालको टोकाइबाट रेबिज सरेको देखिएको जोशीले बताए । केही साताअघि कञ्चनपुरको कृष्णपुरमा एउटा स्यालमा रेबिज देखिएको थियो । पशु–चौपायालाई निरन्तर टोक्न थालेपछि स्थानीयले एउटा स्याललाई मारेका थिए ।

त्यसको नमुना परीक्षण गर्दा रेबिज पुष्टि भएको पशुपन्छी रोग अन्वेषण प्रयोगशाला धनगढीले जनाएको छ । त्यहाँ थप चौपायामा रेबिज परीक्षण हुन सकेको छैन । त्यस क्षेत्रमा पशु–चौपायालाई रेबिजविरुद्धको खोप लगाउन कृष्णपुर नगरपालिकालाई आग्रह गरिएको डा। जोशीले बताए ।

दुई जिल्लामा परीक्षणमा नआएका धेरै चौपायामा रेबिज भएको हुन सक्ने उनको अनुमान छ । ‘किसानलाई पशु–चौपायामा रेबिजको लक्षण देखिए हामीलाई खबर गर्न आग्रह गरेका छौँ,’ जोशीले भने, ‘त्यस्तो खबर आए हामी परीक्षणका लागि २४सै घन्टा तयार छौँ । जुनसुकै वेला पनि सेवा दिइरहेका छौँ ।’   

clock मङ्गलबार २६, बैशाख २०८० ०९:४८

प्रतिक्रिया