कैलाली पूर्ण खोप जिल्ला सुनिश्चितता तथा दिगोपना घोषणा

  सोमबार ३१, असार २०८१ ०७:०१

धनगढी । कैलाली पूर्ण खोप जिल्ला सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको छ । आईतबार धनगढीमा जिल्ला पूर्ण खोप समन्वय समिति र स्वास्थ्य कार्यालय कैलाली आयोजनामा एक कार्यक्रम गरी खोप सुनिश्चितता जिल्ला घोषणा गरेको हो । 

जिल्लाको १३ वटै स्थानीय तहका ३६ हजार ९ सय १६ बालबालिकालाई खोप लगाएको स्वास्थ्य कार्यालय कैलालीले जनाएको छ । जिल्लामा १६ देखि ५९ महिना सम्मका ३७ हजार ४ सय ६२ बालबालिकाहरुमा शून्य डोजको संख्या ११ र छुटका ४ सय ४८ जना बालबालिकाहरु रहेको खोप समन्वय समितिले जनाएको छ ।

कार्यक्रममा सुदूरपश्चिम प्रदेश स्वास्थ्य महिला तथा बालबालिका मन्त्री ओमविक्रम भाट सरल प्रमुख अतिथि रहेका थिए । उनले निरोगी हुनका लागि खोप अपरिहार्य रहेको बताए । त्यसका लागि खोपलाई सबैले प्राथमिकता राख्नुपर्ने सुझाए । आफ्नो प्रयास प्रदेशको स्वास्थ्यमा सुधार गर्नमा रहेको उनले बताए ।

प्रदेशको स्वास्थ्य सुधार गर्नका लागि आगामि आर्थिक बर्षको बजेटमा स्वास्थ्यलाई प्राथमिकता दिएको उनको भनाई रहेको थियो । स्वास्थ्यलाई स्वस्थ राख्नका लागि मानिसले एक घण्टा भए पनि समय दिनुपर्ने उनले सुझाए । उनले समय–समयमा हुने नेतृत्वले गर्दा पनि समस्या भईरहेको बताए ।

‘समय–समयमा नेतृत्वसंगै नीति फेरिन्छन’, उलने भने । ‘त्यसले गर्दा काम गर्न समस्या भईरहेको छ । यसमा सुधार गर्न आवश्यक छ ।’ कार्यक्रमममा घोडाघोडी नगरपालिका मेयर खडकबहादुर रावतले खोप सुनिश्चिताका लागि सबैको मेहनत सह्रानीय रहेको बताए । 

उनले बसाईसराईका कारण कतिपय बालबालिकाहरु छुट्ने गरेको हुँदा यो चुनौतीको विषय रहेको उनले औल्याए । कार्यक्रममा जोशीपुर गाउँपालिका अध्यक्ष गणेश चौधरी, स्वास्थ्य निर्देशनालयका प्रमुख खगेन्द्र वम, स्वास्थ्य स्वंयसेविका अम्बीका भण्डारी लगायतले आफ्नो धारणा राखेका हुन् । 

कार्यक्रममा स्वास्थ्य कार्यालय कैलालीका प्रमुख आशिसतोष श्रेष्ठले पूर्ण खोप जिल्ला सुनिश्चितता तथा दिगोपना घोषणा कार्यक्रममा प्रतिवेदन प्रस्तुत गरेका थिए । जिल्ला समन्वय समितिका संयोजक खगराज भुषालको अध्यक्षतामा भएको कार्यक्रममा १३ वटै स्थानीय तहका प्रमुख एवं प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

 

clock सोमबार ३१, असार २०८१ ०७:०१

प्रतिक्रिया