च्यारिटी हेल्थ फाउन्डेसनद्वारा ६२ हजार भन्दा बढीको आँखा जाँच, सात हजारको शल्यक्रिया

  शनिबार २२, असार २०८१ ०९:३७

धनगढी । च्यारिटी हेल्थ फाउन्डेसन नेपालको सामाजिक लेखा परीक्षण कार्यक्रम शुक्रवार धनगढीमा सम्पन्न भएको छ । फाउन्डेशनको आर्थिक वर्ष २०७९/८० को सामाजिक लेखा परीक्षण सम्पन्न भएको हो । आँखा स्वास्थ्यका क्षेत्रमा कृयाशिल सामाजिक संस्था च्यारिटी हेल्थ फाउन्डेसनद्धारा आयोजित सामाजिक लेखा परीक्षण कार्यक्रममा प्रस्तुत प्रतिवेदनका अनुसार संस्थाले एक बर्षको अवधीमा २ सय ५२ वटा आँखा शिविर सञ्चालन गरेको छ ।

सो अबधिमा ६२ हजार २ जनाको आँखा जाँच गरिएकोमा सात हजार ११ जनाको आँखाको शल्यक्रिया गरिएको संस्थाका तर्फबाट प्रस्तुत प्रतिबेदनमा उल्लेख गरिएको छ । त्यस्तै एक वर्षको अबधिमा १५ हजार ३४ जनालाई निशुल्क चश्मा वितरण संस्थाले जनाएको छ । कार्यक्रमका प्रमुख अतिथि धनगढी उपमहानगरपालिका वडा नम्बर ४ का अध्यक्ष बुद्धिबहादुर खड्काले च्यारिटी हेल्थ फाउन्डेसनले आँखा स्वास्थ्यका क्षेत्रमा सुदूर पश्चिम र कर्णाली प्रदेशमा पुर्याएको योगदानको प्रशंसा गरे ।

आर्थिक अभावका कारण आँखाको उपचारबाट बञ्चितहरुलाई निशुल्क सेवा दिएर च्यारिटी हेल्थ फाउन्डेसनले ठूलो गुन लगाएको छ, प्रमुख अतिथि खड्काले भने, त्यस बाहेक निशुल्क शव बाहन सञ्चालन गरेर सामाजिक क्षेत्रमा पुर्याएको योगदान प्रशंसनीय छ । तर प्रचार प्रसार नहुदा यस्तो कार्य ओझेलमा परेको छ ।

च्यारिटी हेल्थ फाउन्डेसन नेपालका संस्थापक सदस्य तथा नेपाल नेत्रज्योती संघका बरिष्ठ उपाध्यक्ष चक्रबहादुर सिंहले संस्थाका सबै काम खुला र पारदर्शी रहेको बताए । उनले भने, सेवा भावबाट खुलेको संस्था भएकाले सुशासन प्रवद्र्धन गर्न समाजिक लेखा परीक्षण गरिएको हो ।’ उनले आँखा उपचारका क्षेत्रमा अझै धेरै काम गर्न बाँकी रहेको र सबै संस्थाहरुको साझा प्रयासबाट मात्र आँखा स्वास्थ्यमा नतिजा ल्याउन सकिने बताए ।

धनगढी नेत्रालयका अध्यक्ष गजेन्द्र बहादुर चन्दले च्यारिटी हेल्थ फाउण्डेसनसंगको सहकार्यमा ०७४ सालयता सञ्चालन गरिएका ६८० निशुल्क आँखा शिविर मार्फत एक लाख ८१ हजार दुई सय ८६ जनाको आँखा जाँच गरिएकोमा १८ हजार नौ सय ५२ जनाको शल्यक्रिया गरिएको बताए ।

च्यारिटी हेल्थ फाउण्डेसनका संस्थापक सदस्य तथा कार्यक्रमका अध्यक्ष दीर्घराज उपाध्यायले फाउण्डेसनले सुदूर पश्चिम र लुम्बिनी प्रदेशमा २१ वटा आँखा उपचार केन्द्र स्थापना गरेको र थप दुई वटा स्थापना गर्ने क्रममा रहेको जानकारी दिए । उनले फाउण्डेसनले २०७४ सालदेखि सञ्चालनमा सञ्चालनमा ल्याएको निशुल्क शव बाहनले बारादेखि बाजुरासम्म सेवा दिएको बताए ।

उपाध्यायले च्यारिटी हेल्थ फाउण्डेसनले धनगढीस्थित पञ्चोदय माध्यमिक विद्यालयमा दृष्टिबिहीन छात्रछात्राहरुका लागि छात्रवास भवनको निर्माण र डडेल्धुराको अमरगढी नगरपालिकालाई शव बाहन उपलब्ध गराएको जानकारी दिए । च्यारिटी हेल्थ फाउन्डेसनका कार्यक्रम निर्देशक त्रिलोक पाण्डेयले सञ्चालन गरेको सामाजिक लेखा परीक्षण कार्यक्रमको सहजीकरण पत्रकार टेकेन्द्र देउवाले गरेका थिए । कार्यक्रममा संस्थाका सचिव लक्ष्मीकान्त ढकालले स्वागत मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा सहभागी सेवाग्राहीहरुले च्यारिटी हेल्थ फाउण्डेसनद्धारा निशुल्क आँखा उपचार गरिएकोमा धन्यवाद दिए ।

च्यारिटी हेल्थ फाउण्डेसन बरिष्ठ नेत्र बिशेषज्ञ डा. विद्या प्रसाद पन्तको अगुवाई २०७३ सालमा स्थापना भएको गैरमुनाफा मुखी संस्था हो । बिभिन्न जिल्लामा आँखा उपचार केन्द्र स्थापना गरेको च्यारिटी हेल्थ फाउण्डेसनले धनगढी नेत्रालय र श्री कृष्ण आँखा अस्पताल टीकापुरसंगको साझेदारीमा आँखा शिविर सञ्चालन गर्दै आएको छ ।

clock शनिबार २२, असार २०८१ ०९:३७

प्रतिक्रिया