जयपृथ्वी पूर्ण खोप सुनिश्चितता पालिका घोषणा

  बिहिबार १०, जेठ २०८१ ०७:३४

बझाङ । बझाङको जयपृथ्वी नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता पालिका घोषणा गरिएको छ। नगर प्रमुख चेतराज बजालले पालिकालाई निश्चित इन्डिकेटरका आधारमा पूर्ण खोप सुनिश्चितता गाउँपालिका घोषणा गरेका हुन्।

पालिका खोप समन्वय समितिका संयोजक रहेका बजालले खोप लगाउने उमेर समूहका कुनैपनि बालबालिका खोपबाट बञ्चित हुन नहुने बताए ।

राष्ट्रिय खोप तालिका अनुसार नगरका ११ वटै वडाका खोप लगाउने उमेर समूहका बालबालिकाले खोप लगाएको सुनिश्चित गरिएपछि पूर्ण खोपयुक्त सुनिश्चित पालिका घोषणा गरिएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख नैन बहादुर सिंहले बताए ।

कार्यपत्र प्रस्तुत गर्दै सिंहले पालिकामा १५ महिनाका ३ सय ९० बालबालिका र १६ महिनादेखि ५९ महिना सम्मका १ हजार १ सय ८९ बालबालिकालाई खोप लगाइएको जानकारी दिए । 

उनले सबैको प्रयासले पूर्ण खोप सुनिश्चित पालिका घोषणा गर्न सफल भएको बताए । जिल्लामा चालु आर्थिक बर्षमा पुर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गर्ने जयपृथ्वी पहिलो बनेको छ ।

clock बिहिबार १०, जेठ २०८१ ०७:३४

प्रतिक्रिया