अहिलेको सत्ता समीकरण पूरै अवधी चल्छ – प्रधानमन्त्री

  आइतबार ०९, बैशाख २०८१ १३:०९

धनगढी । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिलेको सत्ता समीकरण पूरै समयावधी चल्ने बताउनु भएको छ । उहाँले सत्ता समीकरणबारे बाहिर चलेका हल्लाको पछाडि नलाग्न पनि आग्रह गर्नुभयो ।

आज दिउँसो धनगढी विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा बोल्नुहुँदै प्रदेशका सरकार बनाउने चरण पनि अन्तिम चरणमा पुगेकाले अब प्रदेश पनि बलियो भएर अघि बढ्ने बताउनुभयो । प्रधानमन्त्री प्रचण्डले कोशी प्रदेशमा नयाँ सरकार गठनको काम पनि चाँडै सकिने अपेक्षा पनि गर्नुभयो ।

प्रधानमन्त्रीले विगतका तुलनामा नीति तथा कार्यक्रम र बजेट परम्परागतभन्दा भिन्न तरिकाले वैज्ञानिक र जनमैत्री आउने बताउनुभयो । उहाँले सरकार लगानी सम्मेलनको तयारीमा पनि जुटेको बताउनुहुँदै लगानी मैत्री वातावरणका लागि एक दर्जन ऐन अध्यादेशबाट परिवर्तन गर्ने तयारी भइरहेको बताउनुभयो । 

प्रधानमन्त्री प्रचण्डले सरकार जलवायु परिवर्तनको समस्यालाई ध्यानमा राखेर पहाडी मुलुकहरु सहभागी हुने पर्वतीय सम्मेलनको तयारीमा रहेको पनि जानकारी गराउनुभयो । प्रधानमन्त्री प्रचण्डले नेपालमा पहिलो पटक कतारका राजा अमिर नेपाल आउन थालेकोमा खुसी प्रकट गर्नुहुँदै उहाँको स्वागतका लागि अन्तिम तयारी भइरहेको पनि बताउनुभयो ।

अहिलेको समकीकरण वामपन्थीको मात्र नभएको बताउदै उहाँले  भोली राम्रै काम हुँदै गयो समझदारी भयो भने वामपन्थी एकता हुन सक्ने बताउनु भयो । उहाँले अहिलको समिकरण वामपन्थी एकता नभएर राजनीतिक सत्ता समीकरण भएको बताउनु भयो । प्रधानमन्त्री प्रचण्ड कञ्चनपुरको महेन्द्रनगरस्थित सुदूरपश्चिम विश्वविद्यालयको दिक्षान्त समारोहलाई सम्बोधन गर्न धनगढी आउनु भएको हो । 


 

clock आइतबार ०९, बैशाख २०८१ १३:०९

प्रतिक्रिया