लामखुट्टे नष्ट गर्न बैतडीका विभिन्न ठाउँमा बिषादी छर्किदै

  मङ्गलबार १२, बैशाख २०८० १९:०३

बैतडी । मलेरिया रोग नियन्त्रणका लागि बैतडीका विभिन्न ठाउँमा लामखुट्टे नष्ट गर्न बिषादी छर्कने कार्य शुरु भएको छ । जिल्लाको मेलौली नगरपालिका र पञ्चेश्वर गाउँपालिकाका विभिन्न वडामा औलो नियन्त्रण कार्यक्रम अन्तर्गत लामखुट्टे नष्ट अभियान शुरु भएको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले बताए ।

जिल्लाको तल्लोसोराड क्षेत्रका मेलौली नगरपालिका, र पञ्चेश्वर गाउँपालिकाका केही वडा औलोको जोखिममा रहेका छन् । औलोको जोखिममा रहेका वडाहरुका प्रत्येक घरधुरीमा बिषादी छर्कने कार्य शुरु भएको स्वास्थ्य प्रमुख भट्टले बताए ।

औलो लामखुट्टेबाट सर्ने रोग भएकाले लामखुट्टे नष्ट अभियान थालिएको हो । पछिल्लो समयमा पहाडी क्षेत्रमा समेत औलोको जोखिम बढ्दै गएको छ । पहाडी क्षेत्रमा लामखुट्टे भित्रिएसंगै औलोका बिरामी फेला पर्न थालेका स्वास्थ्य कार्यालयले जनाएको छ ।

‘शून्य औलो अबको थालनीस नवीनतम कार्य, कार्यान्वयनमा लगानी’ भन्ने नारासहित विश्व औलो दिवसको अवसरमा पारेर लामखुट्टे नष्ट अभियान शुरु भएको हो । औलोको जोखिम रहेका वडाहरुमा लामखुट्टे नष्ट अभियान सञ्चालन गरिएको बताइएको छ ।

यसैबीच विश्व औलो दिवसको अवसर पारेर बैतडीका विभिन्न पालिकाहरुले सचेतनामूलक कार्यक्रमको आयोजना गरेका छन् । औलोको बारेमा जानकारी दिनका लागि पालिकाहरुले सचेतनामूलक कार्यक्रमको आयोजना गरेका हुन् । 

clock मङ्गलबार १२, बैशाख २०८० १९:०३

प्रतिक्रिया