सुदूरपश्चिमसहित देशभरी आजदेखि ‘खोप सप्ताह’ शुरु

  सोमबार ११, बैशाख २०८० ११:२८

धनगढी । सुदूरपश्चिमसहित देशभरी आजदेखि ‘खोप सप्ताह’ शुरु भएको छ । स्वास्थ्य निर्देशनालय, स्थानीय तहको स्वास्थ्य शाखा लगायतको आयोजनामा सप्ताह शुरु भएको हो । 

सप्ताहअन्र्तगत विभिन्न सचेतनामुलक कार्यक्रम, अभिमुखीकरण, छलफल लगायतका कार्यक्रम गरिने जनाईएको छ ।सप्ताहकै पूर्वसन्ध्यामा सञ्चारकर्मीहरुसंग निर्देशनालयले अन्तरक्रिया कार्यक्रम गरेको छ ।

अन्तरक्रिया कार्यक्रममा बोल्दै स्वास्थ्य निर्देशक डाक्टर जगदिश जोशीले पछिल्लो समय खोपको पहुँचबाहिर रहने बालबालिकाको संख्या बढ्दै गएको बताए । उनले बसाईसराई, विशेष समुदाय, जानकारी नहुनु लगायतका कारण बालबालिका खोपको पहुँचबाहिर रहेको पाइएको बताए ।

उनले खोप सप्ताहले बाहिर रहेका बालबालिकालाई पहुँचमा ल्याउन मद्दत पुग्ने बताए । उनले स्थानीय तहका वडामै अहिले घरधुरी सर्वेक्षण तथा पहिचान कार्यक्रम भइरहेको बताए ।

 नेपाल सरकारको उच्च प्राथमिकतामा रहेको कार्यक्रम हो, राष्ट्रिय खोप कार्यक्रम । बाल मृत्युदर घटाउन तथा बालबालिकालाई विभिन्न रोगबाट जोगाउन यो कार्यक्रम वि।सं २०३४ सालबाट ३ वटा जिल्लाबाट सुरु गरिएको थियो । ४ प्रकारका रोगबाट सुरु गरिएको खोप कार्यक्रममा हाल सबै जिल्लामा १३ वटा रोगविरुद्धको खोप दिइन्छ । 

नेपालमा ९६ प्रतिशत बालबालिकाले खोप सुरु गर्नु सुखद देखिन्छ तर ४ प्रतिशत बालबालिका खोप पाउन सकेका छैनन् । नेपाल जनसांख्यिक सर्वेक्षणअनुसार १६ प्रतिशत बालबालिकाहरु पूर्ण खोपबाट वञ्चित छन् भने ४ प्रतिशत बच्चा शून्य डोज पनि लगाएका छैनन् । धेरैले ९ महिनासम्म खोप लगाए पनि पूर्ण मात्राको खोप लगाउने समयसम्म ड्रप आउट भएको तथ्यांकले देखाउँछन् ।

clock सोमबार ११, बैशाख २०८० ११:२८

प्रतिक्रिया