कैलारीमा १५ शय्याको अस्पताल निर्माण अन्तिम चरणमा

  शुक्रबार १८, फागुन २०८० ०८:१३

कैलाली । कैलारी गाउँपालिकामा १५ शय्या अस्पताल निर्माण अन्तिम चरणमा पुगेको छ । कैलारी–५ स्थित बैजपुरमा निर्माणाधीन अस्पतालको काम ९० प्रतिशत सम्पन्न भएको छ । 

अस्पताल निर्माणका लागि विसं २०७९ असार २९ मा निर्माण कम्पनीसँग ठेक्का सम्झौता भएको थियो । अस्पताल निर्माणको अवधि आगामी असारसम्म रहेको छ ।

चार वर्षअघि हरेक स्थानीय तहमा अस्पताल हुनुपर्ने सङ्घीय सरकारको नीतिअनुसार अस्पताल निर्माण गरिन लागेको हो । सङ्घीय सरकारको लगानीमा निर्माण भइरहेको अस्पतालको लागत १८ करोड ५२ लाख रुपैयाँ रहेको गाउँपालिकाका सूचना अधिकारी यगम कलेलले जानकारी दिए । 

उनले सकेसम्म मसान्तभित्रै भवन हस्तान्तरण भएर चालु आर्थिक वर्षको असार मसान्तबाट अस्पताल सञ्चालनमा ल्याउने लक्ष्य रहेको बताए। अस्पताल सञ्चालन भएपछि कैलारी गाउँपालिकाको दक्षिणी क्षेत्रका जनतालाई स्वास्थ्योपचारमा राहत मिल्ने अपेक्षा गरिएको छ । 

अस्पताल नहुँदा गाउँपालिका स्थानीय जनता सामान्य उपचारका लागि धनगढीमा तथा भारतसमेत पुग्ने गरेका छन् । चालु आर्थिक वर्षबाट अस्पताल सञ्चालनमा ल्याउन आवश्यक जनशक्ति व्यवस्थापनको पहल भइरहेको सूचना अधिकारी कलेलको भनाइ छ । 

त्यस्तै प्रदेशस्तरमा रहेका जिल्ला अस्पतालहरूलाई २५ देखि ५० शय्यासम्मका बनाउने र अञ्चल अस्पताललाई दुई सय शय्याको जनरल अस्पतालमा स्तारोन्नति गरिने उल्लेख गरिएको थियो ।

clock शुक्रबार १८, फागुन २०८० ०८:१३

प्रतिक्रिया