सुदूरपश्चिममा स्वास्थ्य बीमाः ८ वर्षमा २० प्रतिशत नागरिक मात्रै आवद्ध

  मङ्गलबार ०१, फागुन २०८० १७:०४

धनगढी । सुदूरपश्चिम प्रदेशमा नागरिक स्वास्थ्य बीमा कार्यक्रम लागू भएको आठ वर्षमा झण्डै २० प्रतिशत जनसंख्या मात्र आबद्ध भएका छन्।

नेपाल सरकारले सामाजिक स्वास्थ्य सुरक्षा विकास बोर्डमार्फत २०७२ साल चैत २५ गतेदेखि सुदूरपश्चिम प्रदेशको कैलालीबाट स्वास्थ्य बीमा कार्यक्रमको आरम्भ गरेको थियो।

प्रदेशभर २६ लाख ९४ हजार सात सय ८३ जनसंख्या रहेकोमा स्वास्थ्य बीमा कार्यक्रम लागू भएको आठ वर्षमा पाँच लाख ५४ हजार ३७ नागरिकले स्वास्थ्य बीमा गराएको बीमा बोर्ड कार्यालय सुदूरपश्चिम प्रदेशले जनाएको छ।

२०७३ साल जेठ १ गतेदेखि स्वास्थ्य संस्थाबाट बिमितलाई सेवा प्रदान गरिएको थियो। राष्ट्रिय जनगणना २०७८ अनुसार कैलालीमा नौ लाख चार हजार छ सय ६६ जनसंख्या रहेकोमा दुई लाख ८५ हजार ८ सय ७० जना बिमित रहेका छन्।

प्रदेशको तराईको अर्को जिल्ला कञ्चनपुरको जनसंख्या पाँच लाख १३ हजार सात सय ५७ रहेकोमा ६० हजार ६ सय ४६ जना बीमामा आबद्ध भएका छन्। दुई लाख २८ हजार आठ सय ५२ जनसंख्या रहेको अछाममा ५६ हजार एक सय २० जना स्वास्थ्य बीमा कार्यक्रममा आवद्ध भएका छन्।

राष्ट्रिय स्वास्थ्य बीमा बोर्ड, सुदूरपश्चिम प्रदेश कार्यालयले दिएको तथ्यांकअनुसार पाँच वर्षमा बाजुराको एक लाख ३८ हजार पाँच सय २३ जनसंख्या रहेकोमा ३४ हजार ८ सय २५ जना नागरिक स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध भएका छन्।

त्यस्तै, दुई लाख चार हजार आठ सय ३१ जनसंख्या रहेको डोटीमा १८ हजार २ सय ६३ जना स्वास्थ्य बीमा कार्यक्रममा आवद्ध भएका छन्। स्वास्थ्य बीमा गर्नेमा बैतडीमा २४ हजार ५ सय ४९ जना पुगेका छन् भने, अछाममा ५६ हजार एक सय २०, बझाङमा ४० हजार ५ सय ५५ र डडेल्धुरामा २० हजार ६ सय ४२ जना नागरिक पुगेका छन्।

यस्तै, दार्जुलामा बीमामा आवद्ध हुनेको संख्या १२ हजार ५ सय ३३ पुगेको स्वास्थ्य विमा बोर्डको तथ्याङ्कमा छ। स्वास्थ्य बीमा बोर्डको केन्द्रीय कार्यालयले माघबाट बिमितबाट उपचारको १० प्रतिशस शुल्क लिन सुरु गरेको छ।

स्वास्थ्य बीमा बोर्ड सुदूरपश्चिमका प्रमुख रमेन्द्र कुसुवाहका अनुसार लक्षित वर्ग बाहेकका बीमाबाट शुल्क लिन सुरु गरिएको छ। उनले बिमितको संख्या बढाउन विभिन्न सचेतनामूलक कार्यक्रमहरु पनि भइरहेको बताए।

clock मङ्गलबार ०१, फागुन २०८० १७:०४

प्रतिक्रिया