अमेरिका भ्रमण फलदायी : मन्त्री साउद

  मङ्गलबार २१, कार्तिक २०८० ०६:५३

काठमाडौँ । परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले संयुक्त राज्य अमेरिकाको भ्रमण देशका लागि फलदायी बनेको बताएका छन् । उनले अमेरिकाका विदेशमन्त्री एन्टोनी ब्लिन्केनको निमन्त्रणामा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै कात्तिक १२ गतेदेखि कात्तिक १७ गतेसम्म अमेरिका भ्रमण गरेका थिउ । 

मन्त्री साउदले विदेशमन्त्री ब्लिन्केनसँग भएको भेटवार्ता समग्र देशको विकासका लागि फलदायी रहेको बताए । “विदेशमन्त्रीसँगको भेटका अवसरमा नेपाल–अमेरिका द्विपक्षीय सम्बन्धका विषय तथा साझा चासोका क्षेत्रीय र अन्तर्राष्ट्रिय विषयमा विचार आदानप्रदान भयो,” उनले भने, “भेटमा दुवै पक्षले आपसी हितका विषय तथा सहकार्यलाई थप विस्तार र घनीभूत बनाउने प्रतिबद्धता व्यक्त गर्र्यौैं ।” 

मन्त्री साउदले नेपाल अल्पविकसित मुलुकबाट स्तरोन्नति हुन लागेको भन्दै नेपालको विकास तथा प्राथमिकतालगायतका विषय अमेरिकी सरकारलाई आफूले जानकारी गराएको बताए । उनले नेपालमा सूचना प्रविधिको विकास, खाद्य सुरक्षा, कृषिको विकास, बजारको पहुँच, लगानी र व्यापारलगायतका क्षेत्रमा अमेरिकी सरकारबाट सहयोग बढाउन आग्रह गरेको उल्लेख गरे । उनले नेपालका तर्फबाट निर्यातयोग्य गार्मेन्ट, फुटवेयर र फार्मास्युटिकल वस्तु थप गर्दै जिएसपी प्लस सुविधा र नेपाल व्यापार प्राथमिकता कार्यक्रमको विस्तार र पूर्ण अनुमतिका लागि अनुरोध गरेको जानकारी दिए । 

मन्त्री साउदले सो अवसरमा हालसालै मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसिसी) मार्फत उपलब्ध अमेरिकी सहयोगले नेपालको सामाजिक–आर्थिक विकासमा निरन्तर सहयोग पुगेकाले अमेरिकी सरकारप्रति नेपाल कृतज्ञ रहेको बताए । उनले भने, “नेपालको लोकतान्त्रिक शासन प्रणालीको सुदृढीकरण गर्नमा भएको प्रगतिलाई प्रशंसा गर्दै अमेरिकी विदेशमन्त्रीले अमेरिकी सरकार नेपाललाई एक बलियो र समृद्ध लोकतन्त्र भएको मुलुकका रूपमा हेर्न चाहेको बताए ।” 

उनले नेपालको विकास प्रयत्नमा अमेरिकी सरकारको निरन्तर सहयोग रहने अमेरिकी विदेशमन्त्री ब्लिन्केनले थप आश्वस्त पार्नुभएको उल्लेख गरे । उनले अमेरिकी विदेशमन्त्री महामहिम एन्टोनी ब्लिन्केनलाई नेपालको औपचारिक भ्रमण गर्न निमन्त्रणा दिएको जानकारी दिए ।

युनाइटेड स्टेटस इन्स्टिच्युट अफ पिसले आयोजना गरेको ‘नेपाल–अमेरिका परराष्ट्र नीतिको दृष्टिकोण’ विषयक छलफलमा मन्त्री साउदले नेपालको धारणाबारे स्पष्ट पारे । मन्त्री साउदले अमेरिकी अन्तर्राष्ट्रिय विकास सहयोगका प्रमुख प्रशासकीय अधिकृत समन्था पावर, सिनेटर क्रिस भान होलान तथा अमेरिकी अन्तर्राष्ट्रिय विकास वित्त संस्थानका कार्यकारी अधिकृत स्कट नाथन, एमसिसीका कार्यकारी अधिकृत एलिस अलब्राइट, अमेरिकी विदेश मन्त्रालयका नागरिक सुरक्षा, प्रजातन्त्र र मानव अधिकार मामिला हेर्ने उपविदेशमन्त्री उज्रा जेया र अमेरिकी राष्ट्रिय सुरक्षा परिषद्की वरिष्ठ निर्देशक आइलीन लाउवाकरसँग दुई देशको आपसी साझेदारीका बारेमा गहन छलफल भएको बताए ।

  

clock मङ्गलबार २१, कार्तिक २०८० ०६:५३

प्रतिक्रिया