सुदूरपश्चिम सरकारले लगानी सम्मेलन आयोजना गर्ने

  शुक्रबार ०३, कार्तिक २०८० ०६:२६

धनगढी। सुदूरपश्चिम प्रदेश सरकारले प्रदेशमा कृषि र औद्योगिक क्षेत्रमा लगानी भित्र्याउने उद्देश्यका साथ लगानी सम्मेलन आयोजना गर्ने भएको छ ।

प्रदेश मन्त्रिपरिषद् बिहिबार बसेको बैठकले आउँदा फागुन २३ र २४ गते लगानी तथा विकास सम्मेलन आयोजना गर्ने निर्णय गरेको हो । मुख्यमन्त्री कमलबहादुर शाहले कुनै नकुनै लगानी गर्ने प्रतिबद्धता हुने गरी प्रदेश लगानी सम्मेलन आयोजना गरिने बताए । उनले लगानी सम्मेलनले कृषि, उद्योग, विकासको क्षेत्रमा लगानी ल्याउन मद्दत गर्ने निर्णय भएको बताए ।

मुख्यमन्त्री शाहले कृषि र उद्योगमा लगानी गर्न चाहने व्यक्तिलाई जमीन, पानी, सडक र विद्युत सम्बन्धी समस्या समाधान गर्न प्रदेश सरकारले सहयोग गर्ने बताए । उनले संघीय सरकारबाट गर्नुपर्ने सहयोगका लागि पनि प्रदेश सरकारले पहल गर्ने बताए ।

लगानी सम्मेलनमा देश र विदेशमा रहेका लगानीकर्ताहरुलाई सहभागी गराउने निर्णय समेत भएको मुख्यमन्त्री शाहले बताए । उनले लगानी सम्मेलनबाट सुदूरपश्चिम प्रदेशमा लगानी गर्नका सम्मेलनबाटै केही नकेही लगानीको प्रतिबद्धता गर्ने गरी सम्मेलन आयोजना गरिने बताए । उनले सम्मेलन आयोजनाका लागि थप समिति उपसमितिहरु आवश्यकता बमोजिम गठन गर्दै आयोजनाको तयारी गरिने बताए ।

प्रदेश सरकार चालु आर्थिक वर्षमा लगानी तथा विकास सम्मेलन आयोजना गर्न ५० लाख रुपैयाँ विनियोजन गरेको छ । मुख्यमन्त्री शाहले लगानी सम्मेलन आयोजना गर्न सहकार्य गर्ने स्रोतहरु समेत जुटाइने बताए । प्रदेश सरकारले तीन वर्ष पहिले वित्तीय सम्मेलन आयोजना गरेको थियो ।

clock शुक्रबार ०३, कार्तिक २०८० ०६:२६

प्रतिक्रिया