प्रधानमन्त्रीसहित मन्त्रीहरू भूकम्प प्रभावित क्षेत्र बझाङमा आज अवलोकन गर्न आउँदै

  शुक्रबार १९, असोज २०८० ०६:३६

बझाङ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भूकम्प प्रभावित जिल्ला बझाङ आउँदै हुनुहुन्छ । उहाँ आज (शुक्रबार) बिहान बझाङ आउन लागेको उहाँका प्रेस संयोजक सूर्य किरणले जानकारी दिनुभयो । बिहीबार बसेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन परिषद्को १२औँ बैठकमा प्रधानमन्त्रीले भूकम्पपीडित र प्रभावित जनतालाई राहत, उद्धार, पुनःस्थापना तथा पुनर्निर्माणका बारेमा आवश्यक निर्णय तथा कार्यान्वयन गर्न निर्देशन दिनुभएको छ । उहाँले भूकम्प पीडितलाई राहत दिन र क्षतिग्रस्त संरचनाको पुनर्निर्माण प्रक्रिया तत्काल अगाडि बढाउन पनि निर्देशन दिनुभएको छ ।

प्रधानमन्त्रीका स्वकीय सचिव रमेश मल्लका अनुसार प्रधानमन्त्रीसहित उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ, रक्षामन्त्री श्री पूर्णबहादुर खड्का, परराष्ट्रमन्त्री नारायणप्रकाश साउद बझाङ आउने कार्यक्रम शुक्रबारका लागि तय गरिएको हो । बिहीबार बिहान मात्रै सिंहदरबारमा प्रधानमन्त्री प्रचण्डको अध्यक्षतामा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन परिषद्को बैठक बसेको थियो । त्यसअघि बुधबार साँझ नै भूकम्प पीडितहरूको अवस्था बुझ्न पूर्वगृहमन्त्रीसमेत रहनुभएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने बझाङ आइपुग्नुभएको छ । उहाँले भूकम्पपछि घाइते भएका र विस्थापितहरूलाई भेट्नुभएको छ । बझाङको बित्थडचिर, केदारस्युँ गाउँपालिकामा भूकम्प पीडितसँग भेटघाट गरी सदरमुकाम चैनपुर पुगेका लामिछानेले भूकम्पका कारण बाहिर बसिरहेका सदरमुकामका स्थानीय र घाइतेहरूलाई भेट्नुभएको थियो ।

बिहीबार बिहान प्रमुख जिल्ला अधिकारीलगायत सुरक्षाकर्मी र स्थानीयसँग भेटघाट गरेका लामिछानेले पीडितहरूलाई राहतसमेत वितरण गर्नुभएको छ । लामिछानेले जिल्लाका सञ्चारकर्मीहरूसँग भेटघाट गर्दै विपद्मा परेकाहरूलाई सान्त्वना दिन बझाङ आएको र यहाँको समस्याप्रति गम्भीर बन्न सदन र अन्य निकायमा आवाज उठाउने बताउनुभएको छ । आफू बझाङ आउनुले मात्रै पनि राज्यको नजर पर्नेसमेत उहाँको दाबी थियो ।

त्यस्तै, बिहीबार सुदूरपश्चिमका प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह सहितको टोली पनि बिहीबार बझाङ आएर प्रवाभित क्षेत्रको अवलोकन गर्नुभएको छ । बिहीबार दिउँसो बझाङ पुगेका मुख्यमन्त्री शाहको टोलीले बुंगल नगरपालिका लगायतका विभिन्न भूकम्प प्रभावित क्षेत्रको अवलोकनपछि बिहीबार साँझ नै सदरमुकाम पुगेको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ । भूकम्पमा परी घाइते भएका व्यक्तिहरूको उपचार पनि सुदूरपश्चिम प्रदेश सरकारले निःशुल्क उपलब्ध गराउने निर्णय गरिसकेको छ ।

शीर्षनेताहरू भूकम्प प्रभावित क्षेत्रको अवलोकन गरी राहत वितरण गर्न तथा पीडितलाई सान्त्वना दिन बझाङमा आउँदै हुनुहुन्छ । तर, बझाङबाट प्रतिनिधित्व गर्ने नेताहरू भने काठमाडौंमै गुमनाम भएका भन्दै जिल्लावासीले चर्को आलोचना गरिरहेका छन् । बझाङबाट प्रतिनिधिसाभा सांसद तथा शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समिति सदस्य भानुभक्त जोशी भने असोज १६ गते बझाङमा आएको भूकम्पका कारण जनताले खेपेका पीडा र समस्या समधानका लागि भूकम्प गएकै दिनदेखि आफू काठमाडौंमा रहेको भए पनि प्रशासन, प्रहरी, जनप्रतिनिधि, आम समुदायसँग नियमित सम्पर्कमा रहेको बताउनुभएको छ ।

आफ्नै पहलमा सेभ द चिल्ड्रेनले दुई सयवटा त्रिपाल पठाएको र अहिले तत्काल कति राहत सामग्री आवश्यक हुन्छ तथ्यांक संकलन भइरहेकोले आफूले सरकारलाई घचघच्याउने काम गरिरहेको बताउनुभयो । उहाँले प्रधानमन्त्री र गृहमन्त्रीलाई भेटेर आफूले प्रत्यक्ष अवलोकनका लागि आग्रह गरेकै कारण बिहीबार प्रधानमन्त्री बझाङ आउन लाग्नुभएको बताउनुभयो ।

प्रदेश सरकार पनि राहत उद्धारमा जुटेको र आफू पनि रित्तो हात जनतामाझ जानुभन्दा राहत जुटाउनमा बेस होला ठानेर लागिपरेको बताउनुभयो । नेकपा एमालेका केन्द्रीय सदस्य ऐन महरले पनि आफू पीडितहरूको लागि काठमाडौंबाटै सरकारको ध्यानाकर्षण गराएको र राहत संकलनको लागि पनि प्रयासरत रहेको बताउनुभएको छ । बझाङमा भूकम्पका कारण जयपृथ्वी नगरपालिकाकी ४० वर्षीया गुणमति धामीको मृत्यु भएको छ भने २७ जना घाइते भएका छन् । भूकम्पबाट ३७८ निजी आवास र सातवटा विद्यालय भवनमा क्षति पुगेको छ भने २५ वटा सरकारी कार्यालय भवन, एउटा स्वास्थ्य भवन क्षतिग्रस्त भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बताएको छ ।

clock शुक्रबार १९, असोज २०८० ०६:३६

प्रतिक्रिया