एक्काइसौँ शताब्दीका सीप, बालशिक्षण र शिक्षक पेशागत विकास
शिक्षा संसार निरन्तर परिवर्तनको प्रक्रियामा छ, र भाषा शिक्षण त अझ परिवर्तनको केन्द्रमा रहेको क्षेत्र हो। विशेषगरी एक्काइसौँ शताब्दीमा शिक्षा केवल ज्ञान हस्तान्तरणमा सीमित छैन, बरु विद्यार्थीलाई सिर्जनशील, आलोचनात्मक, सहकार्यशील र प्राविधिक रूपमा सक्षम बनाउने दिशामा अघि बढेको छ। यस परिप्रेक्ष्यमा Teaching English to Young Learners अर्थात् बालअङ्ग्रेजी शिक्षणले शिक्षार्थीमा भाषिक सीप मात्र होइन, भविष्यका लागि आवश्यक एक्काइसौँ शताब्दीका सीप विकास गर्ने लक्ष्य राख्छ। नेपाल जस्तो बहुभाषिक र सांस्कृतिक विविधतायुक्त देशमा यी सीपहरूको समावेशी शिक्षण र शिक्षकको व्यावसायिक विकास अत्यन्त महत्वपूर्ण विषय बनेको छ।
नेपालको विद्यालय शिक्षा अझै परम्परागत ढाँचामा अड्किएको छ, जहाँ शिक्षक केन्द्रित शिक्षण, रटन्ते अभ्यास, र परीक्षा–केन्द्रित मूल्याङ्कन प्रचलित छन्। तर आजको डिजिटल युगमा विद्यार्थीलाई केवल पाठ्यपुस्तकको सीमामा राखेर शिक्षित गर्न सम्भव छैन। एक्काइसौँ शताब्दीका सीपहरू — creativity, critical thinking, collaboration, communication, र technology integration — आजका बालअङ्ग्रेजी शिक्षणका आधारस्तम्भ बन्न थालेका छन्। यी सीपहरूले विद्यार्थीलाई मात्र होइन, शिक्षकलाई पनि सोच्ने, प्रयोग गर्ने र आत्मसमीक्षा गर्ने क्षमता विकास गर्न उत्प्रेरित गर्छन्।
सृजनशीलता र आलोचनात्मक सोच शिक्षणका हृदय हुन्। जब बालबालिकाले अंग्रेजी सिक्दै नयाँ विचार सिर्जना गर्न, समस्या समाधान गर्न र वैकल्पिक सोच प्रस्तुत गर्न सिक्छन्, उनीहरू भाषा सीपसँगै जीवनका सीप पनि सिकिरहेका हुन्छन्। उदाहरणका लागि, कुनै कथालाई नयाँ अन्त्य दिन लगाउने अभ्यासले बालकमा कल्पनाशक्ति, भाषिक प्रयोग, र आत्मविश्वास बढाउँछ। त्यस्तै, “What would you do?” भन्ने प्रकारका कार्यहरूले बालकलाई सोच्न, तुलना गर्न, र निर्णय गर्न प्रेरित गर्छ। यसरी आलोचनात्मक सोच र सृजनात्मकतालाई एकसाथ जोड्दा बालकको भाषिक सीप मात्र होइन, संज्ञानात्मक विकास पनि प्रगाढ हुन्छ। नेपालका अधिकांश विद्यालयहरूमा अझै शिक्षकको “correct answer” मा जोड दिइन्छ, तर एक्काइसौँ शताब्दीका शिक्षण अभ्यासमा प्रक्रियालाई परिणामभन्दा बढी मूल्य दिनुपर्छ।
सहकार्य र सञ्चार अर्को महत्वपूर्ण क्षेत्र हो, जुन बालशिक्षणमा अत्यावश्यक मानिन्छ। भाषा स्वभावतः सामाजिक माध्यम हो, र बालबालिकाले समूहमा सिक्दा बढी सिक्छन्। नेपालमा धेरैजसो विद्यार्थीहरू ग्रामीण पृष्ठभूमिबाट आएका हुन्छन्, जहाँ समूहमा खेल्ने, साझा गर्ने र सहयोग गर्ने संस्कृतिको गहिरो जरो छ। यसलाई शिक्षणमा रूपान्तरण गर्न सक्दा विद्यार्थीले भाषासँगै सामाजिक सीप पनि विकास गर्छन्। उदाहरणका लागि, “pair storytelling,” “peer teaching,” वा “role-play” जस्ता गतिविधिहरूले बालबालिकालाई बोल्ने अभ्यास मात्र गराउँदैनन्, बरु उनीहरूलाई सुन्न, प्रतीक्षा गर्न, र अरूको विचारको सम्मान गर्न पनि सिकाउँछ। यस्तो वातावरणमा संचारलाई केवल भाषिक दक्षताको रूपमा होइन, सामाजिक सहअस्तित्व र सहानुभूतिको अभ्यासको रूपमा पनि बुझिन्छ।
त्यस्तै, एक्काइसौँ शताब्दीको अर्को अनिवार्य पक्ष हो technology integration। आजका बालबालिका डिजिटल युगका नागरिक हुन्। उनीहरूको ध्यानाकर्षण परम्परागत पुस्तक वा बोर्डमार्फत मात्र सम्भव छैन। नेपालका धेरै विद्यालयमा प्रविधिको पहुँच असमान भए पनि, साना पहलहरूले ठूलो प्रभाव पार्न सक्छन्। उदाहरणका लागि, digital storytelling, Kahoot वा Quizizz प्रयोग गरेर खेलमै अंग्रेजी सिकाउने अभ्यासले विद्यार्थीलाई संलग्न राख्छ। शिक्षकले छोटा भिडियो, गीत, वा चित्र–आधारित कार्यहरू प्रयोग गर्न सक्दछन् जसले सुन्ने, बुझ्ने, र बोल्ने सीपलाई मजबुत बनाउँछ। तर प्रविधि प्रयोग गर्नुको अर्थ केवल उपकरण प्रयोग गर्नु होइन, बरु उद्देश्यपूर्ण रूपमा सिकाइ सुदृढ गर्ने माध्यमका रूपमा यसको उपयोग गर्नु हो। शिक्षकले प्रविधिको प्रयोग गर्दा डिजिटल सुरक्षा, नेटिक्वेट, र सन्तुलित प्रयोगका बारेमा पनि सचेत रहनुपर्छ।
यी सबै सीपहरूको सफल समावेशका लागि शिक्षक स्वयं सशक्त र अद्यावधिक हुन आवश्यक छ। त्यसैले, व्यावसायिक विकास (PD) बालअङ्ग्रेजी शिक्षणको मेरुदण्ड हो। नेपालमा शिक्षक विकास कार्यक्रमहरू प्रायः बाह्य निकाय वा परियोजना–केन्द्रित देखिन्छन्, जसमा निरन्तरता र सन्दर्भगत उपयुक्तता कम हुन्छ। तर PD को सार भनेको निरन्तर सिकाइ, सहकर्मी सहयोग, र आत्म–अनुसन्धान हो। Peer teaching, mini-conferences, workshops, mentorship, र collaborative action research जस्ता अभ्यासहरूले शिक्षकलाई ज्ञान अद्यावधिक गर्ने मात्र होइन, आफ्नो शिक्षणलाई आलोचनात्मक रूपमा पुनर्विचार गर्न पनि प्रेरित गर्छन्।
उदाहरणका लागि, peer-teaching sessions मा शिक्षकले सहकर्मीहरूसामु छोटो पाठ पढाउँछन् र त्यसपछि सहकर्मीहरूले निर्माणात्मक प्रतिक्रिया दिन्छन्। यसले आत्मविश्वास बढाउँछ र नयाँ शिक्षण रणनीति परीक्षण गर्न साहस दिन्छ। Mini-conferences वा micro-workshops ले शिक्षकहरूलाई आफ्ना अनुभव र अनुसन्धान प्रस्तुत गर्न प्लेटफर्म दिन्छ। त्यस्तै, mentorship र coaching प्रणालीले नयाँ शिक्षकलाई सहयोग र परामर्शद्वारा व्यावसायिक परिपक्वतामा पुर्याउँछ। विशेष गरी ग्रामीण नेपालमा, जहाँ तालिम र प्रशिक्षणको पहुँच सीमित छ, अनुभवी शिक्षकहरूले मार्गदर्शकको भूमिका खेल्दा स्थानीय शिक्षक समुदाय सशक्त बन्छ।
Collaborative action research PD को अत्यन्त प्रभावकारी रूप हो। जब शिक्षकहरूले मिलेर आफ्नै कक्षामा देखिएका समस्याहरूमा अनुसन्धान गर्छन्—जस्तै डिजिटल कथाले शब्दस्मरणमा कस्तो प्रभाव पार्छ?—त्यो शिक्षणलाई प्रमाण–आधारित बनाउँछ। यसले शिक्षकलाई अनुसन्धानकर्ता बनाउँछ, जसले आफ्ना कक्षागत निर्णयहरू डाटामा आधारित गर्छन्, न कि अनुमानमा। नेपालका शिक्षक शिक्षणका साथसाथै अनुसन्धानमा पनि संलग्न हुन सक्ने वातावरण बनाउनु PD को दीर्घकालीन लक्ष्य हुनुपर्छ।
व्यावसायिक विकाससँगै reflective practice अर्थात् आत्म–प्रतिबिम्बन पनि अत्यावश्यक छ। प्रतिबिम्बन शिक्षकको दैनिकीको हिस्सा हुनुपर्छ, जसले आफूले के राम्रो गर्यो, के सुधार गर्नुपर्छ भनेर निरन्तर सोच्न मद्दत गर्छ। नेपालका धेरै शिक्षकहरूले अझै “पढाउने र जान्ने” बीचको अन्तर महसुस गरेका छैनन्। Reflective journals, peer reflection sessions, वा lesson recordings हेरेर आत्ममूल्यांकन गर्ने अभ्यासले शिक्षकको चेतनाको स्तर बढाउँछ। उदाहरणका लागि, कुनै शिक्षकले पढाइको भिडियो हेर्दा देख्न सक्छन् कि उनीहरूले निर्देशन स्पष्ट दिएनन् वा विद्यार्थीलाई पर्याप्त समय दिएनन्। यस्तो आत्म–समीक्षा PD को आत्मा हो।
प्रतिबिम्बनका तीन तह हुन्छन् — descriptive, analytical, र critical reflection। पहिलोले के भयो भनेर वर्णन गर्छ, दोस्रोले किन भयो भनेर विश्लेषण गर्छ, र तेस्रोले के गर्न सकिन्थ्यो भनेर भविष्यको योजना बनाउँछ। जब शिक्षकले यो चक्र निरन्तर दोहोर्याउँछन्, उनीहरू आफ्ना कमजोरी बुझ्छन्, नयाँ रणनीति तयार गर्छन् र विद्यार्थी–केन्द्रित दृष्टिकोण विकसित गर्छन्। यसले शिक्षणलाई केवल “पेशा” होइन, “शिक्षकको यात्राको निरन्तर अभ्यास” बनाउँछ।
नेपालको सन्दर्भमा यी सबै पक्षहरू—एक्काइसौँ शताब्दीका सीप, प्रविधि, व्यावसायिक विकास र प्रतिबिम्बन—लाई सन्तुलित रूपमा जोड्नु चुनौतीपूर्ण छ। ग्रामीण र शहरी विद्यालयबीच प्रविधि र स्रोतको पहुँचमा ठूलो अन्तर छ। कतिपय शिक्षकहरू अझै डिजिटल उपकरण वा आलोचनात्मक सोचका अवधारणासँग अपरिचित छन्। त्यसैले नीति स्तरमा शिक्षक प्रशिक्षण, ICT–साक्षरता, र स्थानीय सन्दर्भमा आधारित PD कार्यक्रमहरू विकास गर्नु जरुरी छ। शिक्षक शिक्षा विश्वविद्यालयहरू र विद्यालयबीच सहकार्य बढाई school-based professional learning communities (PLCs) स्थापना गर्न सकिन्छ, जसले शिक्षकलाई निरन्तर सिकाइको अवसर दिन्छ।
समग्रमा, एक्काइसौँ शताब्दीका सीपहरू TEYL शिक्षणमा केवल अतिरिक्त पक्ष होइनन्, बरु यसको आत्मा हुन्। यी सीपहरूले विद्यार्थीलाई भाषिक, संज्ञानात्मक, र सामाजिक रूपमा सशक्त बनाउँछन्। तर यसको सफल कार्यान्वयनका लागि शिक्षक स्वयं सशक्त, सृजनशील र प्रतिबिम्बशील हुनुपर्छ। शिक्षकले जब आफ्ना अभ्यासहरूलाई आलोचनात्मक दृष्टिले हेर्छन्, सहकर्मीहरूसँग साझा गर्छन्, र प्रविधि र अनुसन्धानलाई अंगाल्छन्, तब मात्र बालअङ्ग्रेजी शिक्षणले आधुनिक अर्थ पाउँछ। नेपालको शिक्षा प्रणालीले यदि यस्ता शिक्षकहरू उत्पादन गर्न सके, जसले पाठ्यपुस्तक भन्दा पर सोच्न सक्छन् र बालबालिकाको सोचलाई प्रज्वलित गर्न सक्छन्, तब मात्र हामीले एकविसौँ शताब्दीका शिक्षार्थीहरू तयार गर्न सक्छौं।
यसरी, TEYL र शिक्षक व्यावसायिक विकासमा एक्काइसौँ शताब्दीका सीपहरूको एकीकृत प्रयोगले शिक्षणलाई रूपान्तरण गर्न सक्छ। शिक्षक केवल ज्ञान–प्रदायक होइन, प्रेरक, सहायक, अनुसन्धानकर्ता र आजीवन सिक्ने व्यक्तित्व बन्नुपर्छ। सृजनशीलता, आलोचनात्मक सोच, सहकार्य, सञ्चार र प्रविधिको संयोजनले शिक्षकलाई परिवर्तनका वाहक बनाउँछ। अन्ततः, नेपालका विद्यालयहरूमा यस्ता शिक्षकहरू जब देखिन्छन्, तब बालबालिकाले अंग्रेजी मात्र होइन, भविष्यका लागि आवश्यक जीवन–सीप पनि सिक्नेछन्। यही हो वास्तविक शिक्षा, जसले राष्ट्रको रूपान्तरण सम्भव बनाउँछ।
प्रतिक्रिया