सुदूरपश्चिम एमालेमा तीन धार

  मङ्गलबार ०९, असोज २०८० ०७:०८

धनगढी । लुम्बिनीबाट सुरु भएको नेकपा एमालेको प्रदेश अधिवेशन असोज तेस्रो साता सुदूरपश्चिमको नेतृत्व चयन गरेर सकिंदैछ । गएको १६–१७ भदौमा लुम्बिनीको नेतृत्व चयन गरिसकेको एमालेले सोमबार बागमती प्रदेशको अधिवेशन सुरु गरेको छ ।

सुदूरपश्चिम प्रदेशको अधिवेशन भने आगामी २१–२२ असोजमा तोकिएको छ । तर सुदूरपश्चिमको नयाँ नेतृत्वको गृहकार्य चाहिं अन्य प्रदेशलाई उछिन्ने गरी भइरहेको छ । जबकी अधिवेशनको औपचारिक थालनी १६ असोजदेखि मात्रै हुनेछ । त्यसदिन प्रतिनिधि चयन भएपछि प्रदेश अधिवेशन औपचारिक रुपमा सुरु हुनेछ । ‘प्रतिनिधि चयन भएपछि नेतृत्व चयनको औपचारिक बहस सुरु हुनेछ, अहिले प्रतिनिधि चयन हुनै बाँकी छ’, सुदूरपश्चिमका एक नेता भन्छन् ।

तर नेतृत्वका आकांक्षीहरुको गतिविधिकै कारण प्रतिनिधि चयनलाई चासोका साथ हेरिएको छ । ‘प्रतिनिधि कसरी आउँछन् भन्नेले नेतृत्वमा को आउँछन् भन्ने समेत संकेत मिल्ने भएकाले चासो हुन स्वभाविकै हो’, ती नेता भन्छन् । ती नेताका अनुसार, प्रतिनिधि चयन हुन बाँकी रहेकाले औपचारिक रुपमा कसैले उम्मेदवारी घोषणा नगरेपनि कार्यकर्ता पंक्तिले बुझ्नेगरी गृहकार्य चलिरहेको छ ।

थपिएको भीम रावल फ्याक्टर

नेताहरुका अनुसार, प्रदेशको नेतृत्व लिन मुख्यगरी तीन समूह मैदानमा उत्रिएका छन् । एमाले विभाजनअघि अध्यक्ष केपी शर्मा ओलीलाई साथ दिदै आएका नेताहरु नै यो अधिवेशनमा अलग–अलग समूहमा विभाजित भएकाले तीन समूह बन्ने भएको हो ।

विशेषगरी सुदूरपश्चिम एमालेको राजनीतिमा अध्यक्ष ओलीलाई बलियो साथ दिंदै आएका स्थायी कमिटी सदस्य कर्ण थापाले अछामका कृष्णप्रसाद जैसीलाई अगाडि बढाएका छन् । उनले खुलेर जैसीलाई प्रदेश अध्यक्ष बनाउने गृहकार्यमा छन् ।

‘प्रदेशको अध्यक्ष सर्वसम्मत बनाउनुपर्छ । त्यसैमा लागिरहेको छु’, थापा भन्छन् । थापाले अगाडि बढाएका जैसी अछामका पूर्वजिल्ला अध्यक्ष हुन् । एमाले विभाजन अगाडि उनी माधवकुमार नेपाल समूहमा थिए । तर पार्टी विभाजनका बेला उनी एमालेमा बसे । स्रोतका अनुसार, युवा संघका पूर्व केन्द्रीय अध्यक्ष निरु पाल समेत जैसीकै पक्षमा छिन् ।

तर पार्टी केन्द्रीय सचिव लेखराज भट्ट, हालका प्रदेश अध्यक्ष दामोदर भण्डारी लगायत नेताहरु बाजुराका लालबहादुर थापालाई उम्मेदवार बनाउने गृहकार्यमा जुटेका छन् । कर्ण थापाकै जिल्ला बाजुराका लालबहादुरलाई उम्मेदवार बनाउने तयारीमा भट्ट र भण्डारीहरु लागिपरेकाले पनि प्रदेश नेतृत्व सर्वसम्मत हुने सम्भावना न्यून बनेको नेताहरु बताउँछन् ।

‘कृष्णप्रसाद जैसी भनेर हिंडिरहेका कर्ण थापाकै जिल्लाका लालबहादुर उम्मेदवार बनाउन अर्को समूह लागेपछि सर्वसम्मत हुने सम्भावना कम भइगयो’, एक केन्द्रीय सदस्य भन्छन् । लालबहादुर पनि बाजुराका पूर्वजिल्ला अध्यक्ष हुन् । उनी दुई पटक पार्टी केन्द्रीय सदस्य र प्रतिनिधिसभा सदस्य भइसकेका छन् ।

‘यो क्षेत्रका उच्च तहका नेताहरु आफैं प्रतिस्पर्धामा उत्रिएकाले त्यसैपनि सर्वसम्मत प्रदेश अधिवेशन हुने सम्भावना थिएन । अझ लुम्बिनीमा मतदान भएकाले यता मलजल गरेको छ’, ती नेता भन्छन् ।

यसरी एकअर्कालाई हराउने गरी मैदानमा उत्रने गृहकार्य चलिरहँदा अर्को समूह पनि थपिएको नेताहरु बताउँछन् । त्यो समूहले पूर्वउपाध्यक्ष भीम रावललाई आफ्नो नेता मानेको छ । भीम रावलले भने केही बोलेका छैनन् ।

दशौं महाधिवेशनमा ओलीसँग अध्यक्ष पदमा चुनाव लडेपछि पार्टी गतिविधिमा रावल निष्क्रियजस्तै थिए । तर केही समयदेखि ओलीसँगै सार्वजनिक कार्यक्रममा देखा पर्न थालेका रावलले पार्टी गतिविधिमा पनि सक्रियता बढाएका छन् ।

सुदूरपश्चिममा लामो समय एकछत्र प्रभाव जमाएका भीम रावल सक्रिय बनेपछि त्यसैलाई आधार मानेर कैलालीका झपट रावललाई प्रदेश अध्यक्ष बनाउने गृहकार्य सुरु भएको छ । तर झपट रावललाई अध्यक्ष बनाउन नयाँ समीकरण बनेको एक नेता बताउँछन् ।

‘हिजोका गुटको आधारमा होइन । विकल्पका रुपमा झपट रावललाई अगाडि बढाएर जाऔं भन्ने हो’, ती नेता भन्छन् । एमाले विभाजनअघि झपट रावल माधव नेपाल समूहमा थिए । तर दश बुँदे सहमतिसँगै उनी एमाले विभाजनको विपक्षमा उभिएका थिए । अहिले उनलाई विगतमा ओली समूहमै रहेका नेताहरुले साथ दिइरहेको ती नेता बताउँछन् ।

प्रतिनिधिसभा सदस्य भइसकेका, पार्टी केन्द्रीय सदस्य र युवा संघको केन्द्रीय उपाध्यक्ष समेतको अनुभव रहेका झपट रावललाई नेतृत्वमा स्थापित गरेर जाँदा एमालेमा नयाँ सन्देश जाने उनको तर्क छ । ‘युवालाई आकर्षित गर्ने पार्टी नीति नै छ । अझ हामीलाई एकतबद्ध एमाले बनाउनुपर्ने भएकाले पनि विकल्पमा जाऔं भन्ने हो’, उनी भन्छन् ।

यी तीनबाहेक कञ्चनपुरका बचनबहादुर सिंह र कमला बोहरालाई पनि प्रदेश अध्यक्षको उम्मेदवार बनाउने छलफल भइरहेको नेताहरु बताउँछन् । युवा संघका पूर्वअध्यक्ष सिंह र अखिलको राजनीतिबाट आएकी बोहरालाई नेतृत्वमा आउँदा पनि युवा नेतृत्वको सन्देश जाने उनीहरुको तर्क छ । अनलाइनखबरबाट

clock मङ्गलबार ०९, असोज २०८० ०७:०८

प्रतिक्रिया