सहमति भएपछि कञ्चनपुरका आन्दोलित शिक्षकहरूले गरे सबै कार्यक्रम स्थगित

  मङ्गलबार १२, भदौ २०८० २१:३८

कञ्चनपुर । कञ्चनपुरका सबै सामुदायिक तथा संस्थागत विद्यालयहरू अनिश्चितकालीन बन्द गरेर आन्दोलित भएका शिक्षकहरूले आन्दोलनका सबै कार्यक्रम स्थगित गरेका छन् ।

मंगलबार अपराह्न आन्दोलनरत पक्ष र प्रशासनबिच ५ बुँदे सहमति भएपछि आन्दोलनका कार्यक्रम स्थगित गरिएको नेपाल शिक्षक महासंघ आन्दोलन परिचालन समिति कञ्चनपुरले जनाएको छ । बुधबारदेखि सबै विद्यालयहरूमा नियमित पठनपाठन सञ्चालन हुने बताइएको छ ।

भीमदत्त नगरपालिका १० जिमुवास्थित सिद्धनाथ माध्यमिक विद्यालयका लेखापाल वीरेन्द्र जोशीमाथि एक साता अघि कुटपिट भएको घटनालाई लिएर शिक्षक संघसंगठनहरूले आइतबार भीमदत्तका सबै शिक्षण संस्था बन्द र सोमबारदेखि जिल्लाभरका सामुदायिक तथा संस्थागत विद्यालयमा अनिश्चितकालीन पठनपाठन बन्द गरेका थिए ।

विद्यालयका कर्मचारीरशिक्षक वीरेन्द्र जोशीलाई कुटपिट गरेको भनी किटानी जाहेरीमा नाम उल्लेख भएका व्यक्तिहरू मध्ये ७ जना पक्राउ परेका र अझ २ जना पक्राउ पर्न बाँकी रहेका छन् ।

त्यी व्यक्तिहरूको खोजी तीव्र पारी यथाशीघ्र पक्राउ गरी कानुन बमोजिम कारबाही अगाडी बढाउने, भदौ ३ गते विद्यालयका कर्मचारीरशिक्षक वीरेन्द्र जोशी माथि कुटपिट भएको घटना प्रति दुख व्यक्त गर्दै शीघ्र स्वास्थ्य लाभको कामना गरी उनको आर्थिक अवस्था समेत कमजोर भएको हुँदा उपचार खर्च बापत भीमदत्त नगरपालिकाबाट रु ५० हजार उपलब्ध गराउन नगर प्रमुखले प्रतिबद्धता जनाएको हुँदा नपुग रकमका लागि जिल्लाका अन्य स्थानीय तहलाई जिल्ला समन्वय समिति मार्फत र गृह मन्त्रालयलाई जिल्ला प्रशासन कार्यालय मार्फत अनुरोध गर्ने, विद्यालयमा सुरक्षा प्रबन्ध गर्ने क्रममा भएको कमीकमजोरी समेतमा अध्ययन गरी प्रतिवेदन पेस गर्न जिल्ला प्रशासन कार्यालयबाट समिति गठन भएको सन्दर्भमा नेपाल शिक्षक महासंघ समेतबाट आवश्यक सूचना उपलब्ध गराई सहयोग पुर्‍याउने, विद्यालय शान्ति क्षेत्र भएकाले विद्यालय परिसरमा हो९हल्ला, तोडफोड लगायतका शान्ति विरोधी गतिविधि हुन नदिन सबै पक्षले सजगता अपनाउने, विद्यालय र सुरक्षा निकाय बिचको सूचना नेटवर्कलाई अझ प्रभावकारी बनाउने सहमति भएसँगै नेपाल शिक्षक महसंघको अगुवाइमा शिक्षकका विभिन्न संघसंगठनबाट भइरहेको विरोधका सबै कार्यक्रम आजैबाट फिर्ता लिने निर्णय भएको छ ।

गत साताको आइतबार सिद्धनाथ माविका लेखापाल वीरेन्द्र जोशीले कक्षा १० मा अध्ययनरत एक छात्रामाथि यौन दुर्व्यवहार गरेको आरोप लागेपछि सोही विद्यालयका विद्यार्थी, अभिभावक र आसपासको क्षेत्रका व्यक्तिहरू आन्दोलित भएका थिए । त्यस क्रममा प्रहरीले लेखापाल जोशीलाई नियन्त्रणमा लिएकै अवस्थामा उक्त भिडले विद्यालय हाताभित्रै जोशीमाथि आक्रमण गरेको थियो । निर्घात कुटपिटबाट घाइते लेखापाल जोशीको अहिले पनि धनगढीस्थित निसर्ग अस्पतालको सघन उपचार कक्षमा उपचार भइरहेको बताइएको छ ।

clock मङ्गलबार १२, भदौ २०८० २१:३८

प्रतिक्रिया