दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा उपकुलपतिका लागि दुईपल्ट विज्ञापन गर्दा पनि कसैको आवेदन परेन

  शुक्रबार १९, मङि्सर २०८२ ०९:५१

धनगढी । कैलालीको गेटामा रहेको नेपालकै पहिलो दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपतिका लागि दुईपल्ट विज्ञापन गर्दा पनि कसैको आवेदन परेको छैन ।

शिक्षा विज्ञान तथा प्रविधिमन्त्री महाविर पुनले सामाजिक सञ्जाल फेसबुकमार्फत् यो जानकारी दिएका हुन् । सुदूरपश्चिम प्रदेश धनगढी नजिकै रहेको दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति पदको लागि दुई पटक विज्ञापन गर्दा पनि कसैको निवेदन परेन,’ मन्त्री पुनले लेखेका छन् ।

उनले उपकुलपतिका लागि १० वर्ष स्वास्थ्य सेवामा प्रा डा भई काम गरेको इच्छुक व्यक्तिलाई विश्वविद्यालयको नेतृत्व लिन सार्वजनिक आह्वान पनि गरेका छन् । मातृभूमिलाई योगदान दिने उद्देश्यले १० वर्ष स्वास्थ्य सेवामा प्राडा भई काम गरेको नेपाल आमाको कोही देशभक्त सन्तान हुनुहुन्छ भने आउनुहोस् वा मलाई नै सम्पर्क गर्नुहोस्,’ मन्त्री पुनले भनेका छन् ।

कैलालीको गेटामा २०७३ सालमा झन्डै ८ अर्ब ११ करोडको लागत अनुमानमा मेडिकल कलेज निर्माण सुरु भएको थियो । तर त्यहाँ बनाइएका भव्य भवनहरु प्रयोगविहीन भएका थिए ।

त्यसै भवनमा सरकारले देशकै पहिलो स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चाललन गर्ने निर्णय गरेको थियो । त्यस सम्बन्धी विधेयक गत जेठ महिनामा संघीय संसदबाट पास भइसकेको छ भने आर्थिक वर्ष २०८२र८३ को बजेटमा पनि शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालनमा ल्याइने उल्लेख छ ।

clock शुक्रबार १९, मङि्सर २०८२ ०९:५१

प्रतिक्रिया