यस वर्षको एसईई परीक्षा आजदेखि सुरू

  शुक्रबार १७, चैत २०७९ ०७:४२

काठमाडौं । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) शुक्रबारदेखि सुरू हुँदैछ । परीक्षाका लागि देशका ७७ जिल्लामा दुई हजार ३६ र जापानमा एक गरी २ हजार ३७ वटा परीक्षा केन्द्र निर्धारण गरिएको छ ।

शुक्रबार बिहान ८ बजेदेखि ११ बजेसम्म देशभर एकैसाथ परीक्षा सञ्चालन हुनेछ । पहिलो दिन शुक्रबार अनिवार्य अंग्रेजी विषयको परीक्षा हुनेछ । शुक्रबार नै वेद विद्याश्रमतर्फ अनिवार्य संस्कृत र साहित्यको परीक्षा हुनेछ । परीक्षा २९ चैतसम्म सञ्चालन हुँदै छ ।

एसईई परिक्षामा सहभागि हुन देशभरका ५ लाख १६ हजार ५ सय ९१ जनाले कक्षा १० को रजिष्ट्रेशन फारम भरेका छन् । परीक्षामा सबैभन्दा धेरै बागमती प्रदेशमा एक लाख ६ हजार नौ सय ५९ र सबभन्दा कम कर्णाली प्रदेशमा ४१ हजार तीन सय २९ परीक्षार्थी सहभागी हुँदैछन् ।

यस वर्ष सात हजार दुई सय सामुदायिक र चार हजार पाँच सय ६४ संस्थागत गरी ११ हजार आठ सय २९ विद्यालयका विद्यार्थीहरू एसईईमा सहभागी हुँदैछन् । पुरानो पाठ्यक्रमअनुसारको यो वर्ष अन्तिम परीक्षा हो ।

आगामी २०८० सालदेखि नयाँ पाठ्यक्रममा आधारित परीक्षा सञ्चालन हुनेछ । प्रदेशस्तरमा अनिवार्य विषयका प्रश्नपत्रको समानान्तर सेट तयार गरिएको छ । कठिनाइस्तर एउटै भए पनि हरेक प्रदेशमा फरक प्रश्न सोधिनेछ ।

परीक्षा सञ्चालनका लागि केन्द्राध्यक्ष, सहायक केन्द्राध्यक्ष, निरीक्षक, सुरक्षाकर्मीलगायत गरी ७८ हजार जनशक्ति प्रत्यक्ष रूपमा परिचालन भएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।

clock शुक्रबार १७, चैत २०७९ ०७:४२

प्रतिक्रिया