सुदूरपश्चिम प्रदेश सभाको सचिवालय मर्मत

  शनिबार ०१, कार्तिक २०८२ १४:१६

धनगढी । आगजनी र तोडफोड गरिएको सुदूरपश्चिम प्रदेश सभा सचिवालय र विषयगत समितिका कार्यालय मर्मत गरिएको छ।

कम क्षति भएका सचिवालय र विषयगत संसदीय समितिका कार्यालय मर्मत गरिएको हो। प्रदेश सभा सचिवालयका सचिव बस्ने कार्यकक्ष व्यवस्थापनसहित विभिन्न समितिको कार्यालय सामान्य मर्मत भएको प्रदेश सभा सचिवालयका सूचना अधिकारी युवराज जैसीले बताए।

“विषयगत समितिको एउटाबाहेक अन्य समितिको कार्यालयमा त्यति धेरै क्षति भएको थिएन,” उनले भने, “सामान्य मर्मतको कार्य गरिएको छ।” सुदूरपश्चिम प्रदेश सभा अन्तर्गत पाँच वटा विषयगत संसदीय समिति रहेका छन्।

प्रदेश सभा भवन र राजनीतिक दलका संसदीय दलको कार्यालय मर्मतको कार्य भने अझै सुरु गरेको छैन। बढी क्षति भएका कारण संसदीय दलको कार्यालय र प्रदेश सभा भवन मर्मतको काम सुरु नभएको जैसीले बताए।

उनले छलफलपश्चात् तिहारपछि मर्मतको काम अगाडि बढाइने उल्लेख गरे। जेनजी आन्दोलनको क्रममा प्रदर्शनकारीले भदौ २४ गते प्रदेश सभाको संरचनामा आगजनी र तोडफोड गरेका थिए।

clock शनिबार ०१, कार्तिक २०८२ १४:१६

प्रतिक्रिया