बैतडीका आचार्य दमाई धनगढीको समावेशी शिक्षा सहजकर्तामा नियुक्त

  शुक्रबार १०, असोज २०८२ ०७:१४

धनगढी । संस्कृतमा आचार्य उत्तीर्ण गरेर बेरोजगार रहेका बैतडीका आचार्य कृष्ण दमाईले नोकरी पाएका छन् ।  उनलाई धनगढी उपमहानगरपालिकाले समावेशी शिक्षा सहजकर्तामा नियुक्ति गरेको छ । 

बैतडीको शिवनाथ गाउँपालिका –५, बकुन्नामा जन्मनुभएका कृष्ण दमाईले संस्कृत विषयमा आचार्य (स्नातकोत्तर तह) उत्तीर्ण गरेका छन् । उनलाई यसअघि पशुपति कोटीहोममा सम्मानसहित व्यसमा बसालेर प्रवचन दिने मौकासमेत दिइएको थियो । सोही बेला धनगढी उपमहानगरपालिकाले उनको नागरिक अभिनन्दन गरेको थियो । 

आचार्य कृष्ण दमाईको घरको आर्थिक अवस्था कमजोर भएकाले नोकरी दिने नगरप्रमुख गोपी हमालले घोषणा गरेका थिए । दलितले वेदपुराण पढ्नु हुँदैन भन्ने मान्यता बोकेको समाजमा हुर्केका दमाईले नेपाल संस्कृत विश्व विद्यालय विद्यापीठ लालझुण्डी, दाङबाट २०७८ सालमा संस्कृत साहित्यमा आचार्य उत्तीर्ण गरेका हुन् । उनले, संस्कृत विषय पढ्दा आफूले थुप्रै सङ्घर्ष गर्नुपरेको बताए ।  

केही समयदेखि विभिन्न धार्मीक अनुष्ठानमा सहभागी हुँदै आएका आचार्य दमाई परिवारको छाक टार्न कञ्चनपुरस्थित एक निजी विद्यालयमा पढाउने काम गर्दै आएका थिए । यहीबिचमा धनगढी उपमहानगरपालिकाले आफूलाई टिकाराम पार्की छात्रवृत्ति र जुठे दमाई छात्रवृत्ति कार्यक्रम सञ्चालनका लागि सहजकर्तामा नियुक्ति दिएपछि जीविका चलाउन सहज हुने उनले बताए । 

नगरपालिकाले तोकेको जिम्मेवारी इमान्दारितापूर्वक निर्वाह गर्ने उनले प्रतिबद्धता जनाए । उनलाई नगररपलिकाले शिक्षा, युवा तथा खेलकुद महाशाखा अन्तर्गत काम गर्नेगरी छैटौं तहमा नियुक्ति दिएको छ । 

बैतडीको दुर्गम गाउँमा गरिबी र विभेद सहन नसकेर कञ्चनपुरको भीमदत्त नगरपालिका –३। तिलकपुरमा बसाइँसरेका कृष्णले सुदूरपश्चिमबाट दाङ जिल्ला पुगेर संस्कृत विषय पढ्न ठुलो संङ्घर्ष गर्नुपरेको अनुभूति सुनाए । त्यसमाथि दलितले संस्कृत पढेर के गर्छ ? भन्नेहरुबाटसमेत पीडित भएको बताए । 

सानैमा आमाबुवा गुमाउनु पर्दा परिवारको आर्थिक अवस्था कमजोर भएकाले संस्कृत भाषामा कर्मकाण्ड र ज्योतिषी विद्याको पढाइ गर्न बाँकी रहेको उनले बताए । नगरपालिकाले काम गर्ने अवसर दिएपछि थप अध्यययनका लागि टेवा पुग्ने उनले बताए । 

clock शुक्रबार १०, असोज २०८२ ०७:१४

प्रतिक्रिया