अत्तरिया हस्पिटलमा सुदूरपश्चिममै पहिलो पटक क्याथ ल्याब सेवा सुरु
अत्तरिया । कैलालीको अत्तरियामा रहेको अत्तरिया हस्पिटलले अत्याधुनिक सुविधा सम्पन्न क्याथ ल्याब सेवा सञ्चालनमा ल्याएको छ । हस्पिटलले शुक्रवार देखी औपचारिक रूपमा सो सेवा सञ्चालनमा ल्याएको हो ।
सुदूरपश्चिममै पहिलो पटक मुटुका रोगीहरूका लागि हस्पिटलमा क्याथ ल्याब सेवा सुरु गरिएको हस्पिटलका अध्यक्ष डा।आनन्द पाठकले जानकारी दिए । उनले सुदूरपश्चिम भौगोलिक हिसाबले विकट रहेकाले यहाँ स्वास्थ्यका क्षेत्रमा धेरै चुनौतीहरू रहेको बताए । उनले त्यसमध्ये पछिल्लो समय मुटुको समस्या एक प्रमुख चुनौतीका रूपमा देखिएको बताउँदै सो समस्याको समाधान गर्नका लागि अत्तरिया हस्पिटलले जमर्को गरेको बताए ।
उनले अब विगतको जस्तो मुटुका रोगीहरूले उपचारका लागि नेपालगन्ज, काठमाडौँ तथा भारत जानुपर्ने अवस्था नरहेको समेत बताए । ‘अत्तरिया हस्पिटलले विभिन्न अत्याधुनिक स्वास्थ्य सेवाहरू सर्वसाधारणहरूलाई दिँदै आएको छ’ उनले भने ‘वर्तमान अवस्थामा मुटुरोगबाट सम्पूर्ण उमेर समूहका व्यक्तिले ज्यान गुमाइरहेको समस्यालाई मध्यनजर गर्दै सुदूरपश्चिममा अति आवश्यक भैसकेको तर अहिलेसम्म कतै नभएको मुटु रोगको उपचार गर्न सकिने क्याथ ल्याब सेवा सञ्चालनमा ल्याएका हौ ।’ उनले प्रदेशका आम मानिसहरूलाई सो सेवा लिन भौँतारिनुपर्ने अवस्थाको अन्त्य हुने विश्वास लिएको समेत बताए ।
हस्पिटलका मुटुरोग विशेषज्ञ डा। विप्लव कार्कीले सुदूरपश्चिममा पहिलो पटक क्याथ ल्याब मेसिन जडान भएको बताए । उनले सो मेसिनले मुटुका नसा तथा रक्तनलीहरुको अवरोध हेर्ने तथा खोल्न सकिने काम गरिने बताए । उनले त्यसबाहेक सो मेसिनले अस्थायी तथा स्थायी पेसमेकरहरू समेत राख्न सकिने बताए । उनले मेसिनले अरू विभिन्न किसिमका मुटुका रोगहरूको उपचार गर्न पनि सहज हुने बताए ।
‘यहाँ पहिलो पटक यो क्याथ ल्याब मेसिन आएको छ, यसले मुटुका विभिन्न समस्याहरू पहिचान गर्नुका साथै सो समस्याहरूको उपचार गर्न सकिन्छ’ उनले भने ‘हालसम्म यो मेसिन नहुँदा बिरामीहरूलाई बाहिर पठाउनुपर्ने बाध्यता थियो तर अब हामीले यतै मुटु रोगीहरूको उपचार गर्न सक्छौ ।’
डा।कार्कीले सुदूरपश्चिममा मुटुका रोगीहरू दिनानुदिन बढ्दै गइरहेको अवस्थामा उपचार गर्ने मेसिनको अभावका कारण अकालमै ज्यान गुमाउनुपर्ने बाध्यता अब भने अन्त्य हुने विश्वास लिएको बताए ।
प्रतिक्रिया