दर्शकको मन जित्दै बलिदान

  आइतबार १९, असोज २०८२ २०:४७

काठमाडौं । बडादसैंको फूलपातीको अवसर पारेर प्रदर्शनमा आएको नेपाली चलचित्र ‘बलिदान’ ले पहिलो सातामै देशभर दर्शकको मन जित्न सफल भएको छ। दोस्रो हप्तामा प्रवेश गर्न लाग्दासम्म पनि यो चलचित्र करिब १ सय २० शोका साथ निरन्तर चलिरहेको छ, जसले यसले बजारमा बलियो उपस्थिती जनाइरहेको संकेत गर्छ।

वितरकहरूका अनुसार ‘बलिदान’ ले काठमाडौंका मल्टिप्लेक्सदेखि धनगढीदेखि धरानसम्मका हलहरूमा उत्साहजनक व्यापार गरिरहेको छ। प्राविधिक कारणले केही समयका लागि पोखराको मिडटाउन हलबाट हटेको चलचित्र पुनः प्रदर्शनमा फर्किएको कुबेर सिने डिस्ट्रीब्युसनका पुष्कर घिमिरेले जानकारी दिए। उनका अनुसार उपत्यका बाहिरको व्यापार सन्तोषजनक मात्र नभई आशालाग्दो छ।

उपत्यकाका वितरक गोविन्द शाहीका भनाइमा, देशको चुनौतीपूर्ण परिस्थिति र बजारको सुस्त गतिबीच पनि ‘बलिदान’ ले चलचित्र क्षेत्रमा नयाँ उत्साह ल्याएको छ। निर्देशक सन्तोष सेनले पनि प्रदर्शनको सुरुवाती कारोबारबाट सन्तुष्टि व्यक्त गर्दै छिट्टै व्यापारिक तथ्यांक सार्वजनिक गर्ने तयारी भइरहेको जनाए।

पहिलो साताभर चलचित्र युनिट-अभिनेता समीर भट्ट, अभिनेत्री ऋचा शर्मा र निर्देशक सेनसहितका कलाकार काठमाडौंका हलहरूमा दर्शकसँग प्रत्यक्ष भेटघाटमा व्यस्त रहे। दर्शकको साथप्रति खुसी हुँदै अभिनेता भट्टले भने, “लामो समयको मेहनतलाई दर्शकले यति माया गर्नु नै हाम्रो सबैभन्दा ठूलो उपलब्धि हो।”

दर्शकहरूले भट्टको दमदार अभिनय र एक्सन दृश्यहरूको प्रशंसा गर्दै उनलाई पछिल्लो पुस्ताको ुएक्सन स्टारु का रूपमा चित्रण गरेका छन्। धेरै दर्शकले भनेका छन्, 'नेपालमा यस स्तरको मनोरञ्जन र भावनात्मक गहिराइ भएको चलचित्र पहिलो पटक देख्यौँ।'

चलचित्रभरि आमा–छोराको प्रेम र त्यागको कथा दर्शकका मनमा गहिरो छाप पारिरहेको छ। कतिपयको आँखा रसाउने गरी बनाइएको भावनात्मक दृश्यहरूले चलचित्रलाई विशेष बनाएको छ।

‘आशुसेन फिल्म प्रोडक्सन प्रालि’ को ब्यानरमा बनेको यस चलचित्रमा समीर भट्टसँगै सौगात मल्ल, अर्पण थापा, ऋचा शर्मा, कविता राय, हेमन्त बुढाथोकी, र प्रेम पुरी लगायत कलाकारको सशक्त अभिनय देख्न पाइन्छ। चलचित्रका निर्माता पवन ब्राडफोर्ड बिस्ट र कार्यकारी निर्माता प्रेम पुरी हुन्।

clock आइतबार १९, असोज २०८२ २०:४७

प्रतिक्रिया