आवाज
बिस्तारै बिरालो चालमा 
फर्किरहेका छन उनीहरू - पुरानै लयमा ।
उक्साईरहेका छन हामीलाई - पुरानै शैलीमा । 
झुटो बोल्दै
घोषणा गर्दैछन आफैलाई - 
युगकै महान क्रान्तिकारी नेता ।
तर यसपटक हामी - मौन बस्ने छैनौं ।
डराउँदैनौ अब हामी —
न त नैतिकताको मुखौटा लगाउनेहरूबाट,
न त गुण्डाहरूको धम्कीबाट ।
हाम्रो मौनता अब चिच्याउन थालिसकेको छ।
धैर्यताको डोरी चुँडिईसकेको छ ।
हामी कलाकार —
अब स्क्रिप्टबाट होइन,
अनुभूतिबाट बोल्न थालेका छौं ।
शब्दहरू अब संवाद होइनन् —
संघर्ष बनेका छन्।
र प्रतिरोध, हाम्रो अभिनय।
हामीले भन्नैपर्ने छ —
हामी कलाकार - गरिरहेका छैनौं कुनै नाटक ।
हामी इतिहास देखाइरहेका छौं।
र हरेक पटक —
जब हामी ऐना देखाईरहेका छौ 
बदलिईरहेको छ शासकको अनुहार ।
तर
अब अनुहार बदलिनु पर्याप्त छैन।
अब चरित्र नै बदलिनुपर्ने बेला आएको छ।
✍️ विजय बराल, कलाकार
 
                     
                                 
                         
                                         
                                         
                                             
                                             
                                     
                                             
                                             
                                     
                                     
                                     
                                     
                                     
                                             
                         
                         
                         
                         
                         
                         
                         
                        
प्रतिक्रिया