नेपाल आइडल सिजन–६ को उपाधि गंगा सोनामलाई, अरु को कुन स्थानमा आए ?
काठमाडौं । ‘नेपाल आइडल’ सिजन–६ को उपाधि सिन्धुपाल्चोककी गंगा सोनामले हात पारेकी छन् । गायन रियालिटी शो ‘नेपाल आइडल’ सिजन–६ को आइतबार राति सम्पन्न ग्राण्ड फिनालेमा चार जना प्रतिस्पर्धीलाई पछि पार्दै उनले उपाधि हात पारेकी हुन् । दर्शकको भोटका आधारमा गंगा विजेता घोषणा भएकी हुन् ।
विजेता बनेसँगै गंगाले पुरस्कार स्वरूप उपाधि, ट्रफी सहित नगद २५ लाख रूपैयाँ तथा विभिन्न उपहार प्राप्त गरेकी छन् । यस सिजनमा सिक्किम (भारत) की बबिता थापामगर फर्स्ट रनरअप र चितवनकी दर्शना गान्धारी सेकेन्ड रनरअप भएकी छन् ।
उनीहरूले क्रमशः नगद १० लाख र ५ लाख रूपैयाँ सहित विभिन्न उपहार हात पारेका छन् । यस्तै दार्जिलिङका अभिनय खाती चौथो बने भने काठमाडौंका मृनल मानन्धर पाँचौँ स्थानमा आएका छन् । चौथो र पाँचौँ भएका दुबै जनाले एक–एक लाख रूपैयाँ पुरस्कार हात पारेका छन् ।
नेपाल आइडलको यो सिजनमा निर्णायक मण्डलमा न्ह्यू बज्राचार्य, कालीप्रसाद बाँस्कोटा र इन्दिरा जोशी थिए भने आसिफ शाहले उद्घोषण गरेका थिए । सुरेश पौडेल र एलेन श्रेष्ठले शोको निर्देशन गरेका हुन् । ललितपुरको ग्वार्कोस्थित रोयल टुलिप होटलमा भएको फिनालेलाई लाइभ प्रसारण गरिएको थियो । यसअघि नेपाल आइडलमा क्रमशः बुद्ध लामा, रवी ओड, सज्जा चौलागाईं, भूपेन्द्र थापामगर र अघिल्लो वर्ष करण परियारले उपाधि हात पारेका थिए ।
प्रतिक्रिया