धनगढीको चैतन्य पाठशालामा २५ विद्यार्थीलाई पूर्ण छात्रवृत्तिको अवसर

  शुक्रबार २०, असार २०८२ ०७:०५

धनगढी । “शिक्षा र संस्कारको सङ्गम, वेद र विज्ञानको संयोजन” भन्ने मूल मन्त्र बोकेको धनगढीस्थित चैतन्य पाठशालाले आगामी शैक्षिक सत्र २०८२ का लागि कक्षा ११ मा अध्ययन गर्न चाहने २५ जना मेधावी तथा आर्थिक रूपमा कमजोर विद्यार्थीहरूलाई पूर्ण छात्रवृत्तिमा अध्ययन गराउने घोषणा गरेको छ।

सुदूरपश्चिम प्रदेशमा फरक शैलीको शिक्षण प्रणालीमार्फत परिचित चैतन्य पाठशालाले गुणस्तरीय शिक्षा र पहुँचको सन्तुलनमा जोड दिँदै आएको छ। विद्यालयका अध्यक्ष गणेशप्रसाद जोशीले भने, “आर्थिक अवस्था कमजोर भएकै कारण शिक्षा रोकिएकाहरूलाई अवसर दिनु हाम्रो सामाजिक उत्तरदायित्व हो।”

“समाजप्रति पनि केही योगदान गर्नुपर्छ भन्ने भावनाबाट प्रेरित भई हामीले छात्रवृत्तिको व्यवस्था गरेका हौं। यसै अन्तर्गत कक्षा ११ को भर्ना प्रक्रिया सँगसँगै असार २५ गते छात्रवृत्तिका लागि विशेष प्रवेश परीक्षा सञ्चालन हुनेछ,” उनले भने।

समाज–उत्तरदायी शैक्षिक पहल

चैतन्य पाठशालाले हरेक वर्ष प्रतिभावान तर, आर्थिक अभावमा परेका विद्यार्थीहरूलाई छात्रवृत्तिमार्फत शिक्षाको ढोका खोल्दै आएको छ। अध्यक्ष जोशी भन्छन्, “हामी विद्यार्थीलाई केवल परीक्षा पास गराउने हैन, जीवनका हरेक मोडमा सक्षम नागरिक बनाउने उद्देश्यले शिक्षण गर्छौं।”

प्रधानाध्यापक प्रेमनिधि ओझाले पनि छात्रवृत्तिका कार्यक्रमले अतीतमा सयौं विद्यार्थीको भविष्य उज्यालो बनाएको भन्दै यस वर्षको योजना झनै प्रभावकारी र विशेष बनाइएको बताएका छन्।

छात्रवृत्तिका लागि आवेदन प्रक्रिया

छात्रवृत्तिका लागि आवेदन दिन इच्छुक विद्यार्थीहरूले असार २४ गते साँझ ५ बजेभित्र विद्यालयको प्रशासन शाखाबाट फारम प्राप्त गरी बुझाइसक्नुपर्नेछ। प्रवेश परीक्षा विद्यालयमै सञ्चालन हुनेछ। काठमाडौंका विज्ञ शिक्षकहरूबाट प्रवेश परीक्षाको स्तरीय प्रश्न(पत्र बनाइने र परीक्षा मार्यादित र पूर्ण निष्पक्ष हुने विद्यालले जनाएको छ।

एमबीबीएस तयारीका लागि प्रिमेडिकल कक्षा

चैतन्य पाठशालाले कक्षा ११ र १२ मा साइन्स, जनरल म्यानेजमेन्ट र होटल म्यानेजमेन्ट विषयमा अध्ययन गराउँदै आएको छ। 

यसैसाथ, एमबीबीएस प्रवेश परीक्षामा तयारी गरिरहेका विद्यार्थीका लागि विशेष प्रिमेडिकल कक्षा पनि सञ्चालन गरिने विद्यालयले जनाएको छ।

अध्यक्ष जोशीले भने, “१२ कक्षा पछि सजिलै एमबीबीएस प्रवेश परीक्षा पास गर्न सक्ने क्षमता विकास गर्न हामीले योग्य प्रशिक्षकमार्फत स्रोत कक्षा सञ्चालन गर्नेछौं।”

स्मार्ट शिक्षाका लागि डिजिटल प्लेटफर्मको प्रयोग

विद्यालयले कक्षा १०, ११ र १२ मा अध्ययनरत विद्यार्थीहरूका लागि ‘माइ स्कूल टिचर डिजिटल प्लेटफर्म’ मार्फत शिक्षण सुरु गरिसकेको छ। डिजिटल सिकाइमा पहुँच सुनिश्चित गर्दै विद्यार्थीको रुचि र सुविधा अनुसारको गुणस्तरीय सिकाइ प्रणालीमा जोड दिइएको छ।

सम्पूर्ण शैक्षिक संरचनासहित उत्कृष्ट वातावरण

चैतन्य पाठशालामा अनुभवी शिक्षक, विषयगत प्रयोगशाला, पुस्तकालय, मनो–परामर्श केन्द्र, डिजिटल कक्षा र व्यक्तित्व विकासका विविध कार्यक्रमहरू नियमित रूपमा सञ्चालन हुँदै आएका छन्।

विद्यालयले छात्रवृत्तिको यो अवसर प्रयोग गर्न इच्छुक सक्षमता भएका तर अवसर नपाएका विद्यार्थीहरूलाई आवेदन दिन विशेष अनुरोध गरेको छ।

clock शुक्रबार २०, असार २०८२ ०७:०५

प्रतिक्रिया