सर्पदंश उपचारमा विश्वास जगाउँदै महाकाली प्रादेशिक अस्पताल
कञ्चनपुर । महाकाली पारिको दोधारा चाँदनी नगरपालिका–४ लक्ष्मी चौराहाका ७ वर्षीय सिद्धार्थ राई गत साता साँझपख आँगनमा खेलिरहेका थिए । नजिकै शौचालयमा पुग्दा सर्पले डस्यो । तर यसबारे न ती बालकलाई थाहा भयो, न परिवारलाई । सर्पदंशको असर बढ्दै गएपछि मात्रै परिवारका सदस्यले थाहा पाए ।
त्यसपछि उनीहरूले बालकलाई दोधारा चाँदनीकै प्राथमिक स्वास्थ्य केन्द्रमा लगे । त्यहाँ उपचार हुन सकेन । उनीहरूले बालकलाई महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पताल पुर्याए । बालकलाई सर्पदंशको पीडाले झन्–झन् च्याप्दै लगेको थियो ।
महाकाली प्रादेशिक अस्पतालमा बालकलाई आईसीयूमा राखियो । तीन दिनसम्म आईसीयूमै राखेर उपचार गरेपछि बालक होसमा आए । आइतबार उनलाई जनरल वार्डमा सारेर उपचार भइरहेको छ । ‘अब निको भइसकेको छ, खुट्टामा घाउ मात्रै छ,’ सिद्धार्थकी आमा शोभा राईले भनिन्, ‘हामी त आत्तिइसकेका थियौं । समयमै अस्पताल ल्याएकाले राम्रो उपचार भयो ।’
केही वर्षअघिसम्म महाकाली प्रादेशिक अस्पतालमा पुग्ने सर्पदंशका अधिकांश बिरामी अन्यत्र ‘रिफर’ हुन्थे । यहाँ आईसीयूको व्यवस्था नहुँदा अस्पतालले उपचारमा समस्या व्यहोरिरहेको थियो । त्यही भएर जोखिम मोल्न खोज्दैनथे । ५ वर्षयता भने महाकाली प्रादेशिक अस्पतालमा पुगेका सर्पदंशका बिरामी शतप्रतिशत निको भएर घर फर्किएका छन् । भारतका समेत सर्पदंशका बिरामी उपचारका लागि महाकाली प्रादेशिक अस्पताल आउने गरेका छन् ।
तालिमप्राप्त स्वास्थ्यकर्मी र उपयुक्त उपकरणका कारण अस्पतालले सर्पदंशको उपचारमा सफलता पाइरहेको हो । ‘सर्पदंशको उपचारमा हामीले निकै मिहिनेत गरेका छौं, त्यहीअनुसार सफलता पनि पाइएको छ,’ अस्पतालका निमित्त मेडिकल सुपरिन्टेन्डेन्ट डा। अर्जुर भट्टले भने, ‘विगतमा यहाँ बिरामी ल्याउन मान्दैनथे, अहिले यहाँ भरपर्दो उपचारले विश्वस्त भएका छन् ।’
जिल्लाका अन्य ठाउँमा पनि सर्पदंशको उपचार केन्द्र स्थापना गरिएको छ । तर जटिल अवस्था आए ती क्षेत्रबाट पनि बिरामीलई अस्पतालै पठाउने गरिएको छ । ‘विषालु सर्पले टोकेका धेरै हुँदैन, तर उनीहरू आत्तिएर आउँछन्,’ डा। भट्टले भने, ‘विषालुमध्ये करेत र गोमनले टोकेका केस आउँछन् ।’ विषालु सर्पले टोकेको अवस्थामा झारफुक वा अन्य घरेलु उपचारमा अलमलिन छाडेर समयमै अस्पताल ल्याए जोखिम कम हुने उनले बताए ।
महाकाली प्रादेशिक अस्पतालमा पछिल्ला ४ वर्षमा सर्पदंशका १ सय ८२ बिरामी आएका छन् । तीमध्ये १३ जना ५ वर्षमुनिका छन् । यो वर्ष वैशाख २० यता १७ जना बिरामीको उपचार भएको छ । तीमध्ये १३ जनालाई आईसीयूमा भर्ना गरिएको थियो । डडेलधुराको परशुराम नगरपालिकामा पर्ने जोगबुडामा यसै साता सर्पदंशका बिरामीको झारफुककै भर पर्दा मृत्यु भएको थियो । ‘धेरैले सुरुमा झरफुकमै लाग्ने र अन्तिम अवस्थामा अस्पताल ल्याउने गर्छन्,’ डा। भट्टले भने, ‘समयमै अस्पताल ल्याए जस्तोसुकै अवस्थामा पनि बिरामी जोगाउन सकिन्छ ।’
प्रतिक्रिया