गेटा मेडिकल कलेज विश्वविद्यालय नै हो, द्विविधा छैन : अर्थमन्त्री

  सोमबार २९, जेठ २०८० १५:३५

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले गेटामा स्वास्थ्य विज्ञान प्रतिष्ठान नभई स्वास्थ्य विज्ञान विश्वविद्यालय नै बनाउने बताएका छन् ।

नाम जे दिए पनि यो विश्वविद्यालय नै भएको भन्दै उनले आगामी आर्थिक वर्षमा मात्र १ अर्ब १५ करोड बजेट सुनिश्चित गरिएको जानकारी दिए । सोमबार प्रतिनिधिसभामा बजेटमाथि उठेका प्रश्नको जवाफ दिँदै मन्त्री महतले पूर्ण क्षमतामा विश्वविद्यालय चलोस् भन्ने सरकारको मनसय रहेको बताए ।

चालु आर्थिक वर्षमा गेटामा शिक्षा र स्वास्थ्य मन्त्रालय दुवैबाट बजेट छुट्याइएको पनि उनको भनाइ छ । यसको ऐन निर्माणको क्रममा रहेको भन्दै उनले यसमा जनताको भावना अनुसार विश्वविद्यालय नै नाम उल्लेख गर्ने प्रतिवद्धता रहेको बताए ।

‘कुरा त त्यही हो, तैपनि विश्वविद्यालय नै हुनुपर्छ भन्ने भावनालाई नजरअन्दाज गर्न सकिन्न । यसको ऐन पनि अगाडि बढ्दैछ, त्यो ऐनमा विश्वविद्यालय नै भनेर आउँछ’, अर्थमन्त्री महतले भने ।

मन्त्रिपरिषद्ले गेटामा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउने निर्णय गर्नुका साथै सरकारको नीति तथा कार्यक्रममा पनि परेको थियो । तर आगामी आर्थिक वर्ष २०८०र०८१ को बजेटमा स्वास्थ्य विज्ञान प्रतिष्ठान भनेर आएपछि सुदूरपश्चिममा विरोध भइरहेको छ ।

clock सोमबार २९, जेठ २०८० १५:३५

प्रतिक्रिया