चैत मसान्तभित्रै प्रदेशको सुदूरपश्चिमका सबै जिल्लामा पाठ्यपुस्तक पुग्ने

  मङ्गलबार २६, चैत २०८१ १८:३१

धनगढी । सुदूरपश्चिमको सबै जिल्लालाई आवश्यक पर्ने पाठ्यपुस्तक प्रदेश अस्थायी राजधानी धनगढी पुगेको छ । जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले नयाँ शैक्षिक सत्रका लागि यस प्रदेशलाई आवश्यक पर्ने सबै पाठ्यपुस्तक वितरणका लागि आफ्नो प्रादेशिक कार्यालयमा पठाइसकेको हो । 

यस प्रदेशमा नयाँ शैक्षिकसत्रका लागि १८ लाख १७ हजार थान पाठ्यपुस्तक आवश्यक पर्ने अनुमान गरिएको छ । त्यति पाठ्यपुस्तक धनगढीस्थित प्रादेशिक कार्यालयमा आइपुगेको प्रमुख रामविनय श्रेष्ठले जानकारी दिनुभयो । 

उहाँले विकट पहाडी जिल्लामा पाठ्यपुस्तक वितरणसमेत हुन थालेको उल्लेख गर्नुभयो । “बाजुरा, दार्चुला, बैतडी, अछाम, बझाङमा पाठ्यपुस्तक पुगेर वितरण भइरहेको छ”, श्रेष्ठले भन्नुभयो, “डोटी, डडेल्धुरा पनि पुस्तक जाँदै छ ।” उहाँले छ लाख थान पाठ्यपुस्तक वितरण भइसकेको जानकारी दिनुभयो । 

कञ्चनपुरमा आजदेखि वितरण भइरहेको छ । कैलालीमा चैत २८ गतेदेखि पाठ्यपुस्तक वितरण हुने जनाइएको छ । यसवर्ष चैत मसान्तभित्र सबै जिल्लामा पाठ्यपुस्तक वितरण गरी सक्ने प्रमुख श्रेष्ठले बताउनुभयो । “वैशाख १० गतेदेखि नयाँ शैक्षिकसत्रको कक्षा सञ्चालन हुँदै छ”, उहाँले भन्नुभयो,“त्योभन्दा पहिले विद्यार्थीको हात हातमा सबै पाठ्यपुस्तक पुगिसक्ने छ ।” 

सुदूरपश्चिमको पहाडी जिल्लामा ढुवानी समस्या हुने गरेको छ । यसवर्ष सबैभन्दा पहिले विकट जिल्लामै पाठ्यपुस्तक ढुवानी गरिएको छ । सूचीकृत १९४ व्यवसायीमार्फत जिल्ला जिल्लामा किताब ढुवानी भइरहेको हो । 

धनगढी आएका किताबलाई केन्द्रको प्रादेशिक कार्यालयले चैत १७ गतेबाट वितरण सुरु गरेको थियो । यसवर्ष बैतडीमा एक लाख एक हजार ७७३ थान, बझाङमा ७२ हजार ५५० थान, बाजुरामा एक लाख नौ हजार २९६ थान, दार्चुलामा ९५ हजार ४०६ थान पाठ्यपुस्तक पठाइएको छ । नयाँ शैक्षिक सत्रका लागि कक्षा ९ को अर्थशास्त्र, कम्प्युटर र ऐच्छिक गणित परिवर्तन भएको छ । बाँकी सबै कक्षाको पाठ्यपुस्तक पुरानै रहेको प्रमुख श्रेष्ठले जानकारी दिनुभयो । 

clock मङ्गलबार २६, चैत २०८१ १८:३१

प्रतिक्रिया