सुदूरपश्चिममा सहमतीमै राजनीतिक नियुक्ति गर्ने कांग्रेस र एमालेको निर्णय

  बिहिबार २९, फागुन २०८१ ०६:५३

धनगढी । सुदूरपश्चिम प्रदेशमा कार्यकाल सकिन लागेका राजनीतिक नियुक्ति सम्बन्धीका विभिन्न पदमा तत्काल पदपूर्ति गर्न नेपाली कांग्रेस र नेकपा एमाले सहमत भएका छन् । बुधबार मुख्यमन्त्री कमलबहादुर शाहलको सरकारी निवासमा बसेको सत्ता गठबन्धनको प्रदेशस्तरीय राजनीतिक संयन्त्रको बैठकले राजनीतिक नियुुक्ति तत्काल पदपूर्ति गर्ने सहमती गरेको हो ।

त्यसको खाका बनाउने जिम्मा मुख्यमन्त्री कमलबहादुर शाह र पूर्व मुख्यमन्त्री समेत रहेका नेकपा एमाले संसदीय दलका नेता राजेन्द्रसिंह रावललाई दिइएको छ । ‘प्रदेशस्तरीय राजनीतिक संयन्त्रको बैठकमा प्रदेश सरकारका काम कारवाही थप प्रभावकारी बनाउने विषयमा गहन छलफल भएको छ, बैठकमा सहभागी एक नेताले भने, रिक्त हुन लागेका राजनीतिक नियुक्ति सम्बन्धी पदहरुमा सहमतीका आधारमा चाडै पदपूर्ति गर्ने निर्णय भएको छ ।’

सुदूरपश्चिममा राजनीतिक भागबण्डाका आधारमा नियुक्त गरिने प्रादेशिक अस्पतालका अध्यक्षहरुको कार्यकाल सकिन केही समय मात्र बाँकी रहेको छ । यस्तै, प्रदेश खेलकुद परिषद्, युवा परिषद्, पर्यटन विकास बोर्ड र प्रज्ञा प्रतिष्ठानमा पनि पदहरु रिक्त हुुँदैछन् । नेपाली कांग्रेसको नेतृत्वमा रहेको सत्तारुढ गठबन्धनले सहमतीका आधारमा राजनीतिक नियुक्तिका पदहरुमा भागबण्डा गर्नेछ ।

नेपाली कांग्रेस सुदूरपश्चिमका सभापति बिरबहादुर बलायरको अध्यक्षतामा बसेको प्रदेशस्तरीय राजनीतिक संयन्त्रको बैठकमा एमालेका केन्द्रीय सचिव तथा सुदूरपश्चिम इन्चार्ज लेखराज भट्टलाई समेत बोलाइएको थियो । बैठकमा एमालेका प्रदेश अध्यक्ष कृष्णप्रसाद जैशी, मुख्यमन्त्री कमलबहादुर शाह, एमाले संसदीय दलका नेता राजेन्द्रसिंह रावल लगायतका नेताहरु सहभागी भएका थिए ।

clock बिहिबार २९, फागुन २०८१ ०६:५३

प्रतिक्रिया