थारू समुदायको हकहित संरक्षण गर्न काँग्रेस प्रतिबद्ध : परराष्ट्र मन्त्री राणा

  शनिबार २६, माघ २०८१ २१:१९

धनगढी । नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा परराष्ट्र मन्त्री डा आरजू राणा देउवाले थारू समुदायको हकहित संरक्षण गर्न नेपाली काँग्रेस पार्टी सदैव प्रतिबद्ध रहेको बताएकी छिन्।

नेपाली काँग्रेसको थारू विभाग तथा नेपाल थारू संघले कैलालीको हसुलियामा आयोजना गरेको प्रथम कैलाली जिल्ला भेलामा देउवाले थारू समुदायको हकहितमा लड्ने पार्टी काँग्रेस रहेको बताइन्। उनले भनिन्, ‘नेपाली काँग्रेस सधैँ थारू समुदायको अधिकार स्थापित गर्न लागिरहेको छ, यो तपाईहरू नेपाली काङ्ग्रेसले थारू समुदायका लागि गरिरहेको कामबाट पनि थाहा पाउनुहुन्छ।’

उनले २०५८ सालमा नेपाली काँग्रेसले थारू कम्लरी मुक्त घोषणा गरेकोसमेत स्मरण गराइन्। नेतृ देउवाले सामाजिक सञ्जालमा देशको नकारात्मक चित्रण गर्ने कुरा चुनौतीको रूपमा रहेको बताइन्।

पछिल्लो समय सामाजिक सञ्जालमा देशमा केही भएको छैन भनेर नकारात्मक प्रचार मात्रै भइरहेको भन्दै देउवाले भनिन्, ‘देशमा केही नभएको होइन धेरै काम भएको छ, बाहिरी देशले हेर्ने दृष्टिकोण पनि राम्रो हुदै गएको छ।’ नेपाली काँग्रेसको नीति मार्गदर्शन देश बनाउने भएको बताउँदै सबै नेता कार्यकर्तालाई सकारात्मक सोचका साथ अगाडि बढ्न उनले आग्रह गरिन्।

विभिन्न तहका पार्टी नेता तथा कार्यकर्ताहरूको उल्लेखनीय सहभागिता रहेको कार्यक्रममा थारू समुदायको राजनीतिक सशक्तीकरण, अधिकार सुनिश्चितता, र समृद्धिको विषयमा केन्द्रित रहेर छलफल भएको थियो। थारू विभागका नेताहरूले समावेशिता, शिक्षा, रोजगारी, र राजनीतिक सहभागिताका विषयमा सरकारको ध्यानाकर्षण गराउँदै आगामी दिनमा थप सक्रिय भूमिकाका लागि माग गरे। भेलामा थारू समुदायको आर्थिक तथा सामाजिक विकासका लागि योजनाबद्ध रणनीति निर्माण गर्ने विषयमा छलफल गरिएको थियो।

नेपाल थारू संघ कैलालीका अध्यक्ष लक्ष्मीनारायण चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल थारू संघका केन्द्रीय तथा जिल्ला तहका पदाधिकारी, स्थानीय नेताहरू, बुद्धिजीवी, तथा थारू समुदायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो। भेलाले विभिन्न प्रस्ताव पारित गर्दै आगामी दिनमा थारू समुदायको सशक्तीकरणका लागि प्रभावकारी नीति तथा कार्यक्रम अगाडि बढाउने निष्कर्ष निकालेको छ।

clock शनिबार २६, माघ २०८१ २१:१९

प्रतिक्रिया