देउवासँग चुनाव लड्न नेकपा डडेल्धुराले गर्यो चार जनाको नाम सिफारिस, खगराज किन परेनन् ?
डडेल्धुरा । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) डडेल्धुराले २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारको नाम सिफारिस गरेको छ । नेकपा नेताहरूको बैठकले प्रत्यक्ष तथा समानुपातिक दुवैतर्फ इच्छुक उम्मेदवारको नाम सिफारिस गरेको हो ।
नेकपा नेता उमेशप्रसाद भट्टका अनुसार प्रत्यक्षतर्फ चार जनाको नाम सिफारिस गरिएको छ । महिलातर्फ निरादेवी जैरु, खुल्लातर्फ मानसिंह माल ‘क्रान्ति’ र अनिल बोहरा तथा जेन–जीबाट मुकुन्द भट्टको नाम सर्वसम्मत रूपमा सिफारिस गरिएको भट्टले जानकारी दिए ।
डडेल्धुरामा प्रतिनिधिसभातर्फ एउटा मात्रै निर्वाचन क्षेत्र छ । त्यहाँबाट चुनाव लड्न नेपाली कांग्रेसले भने सभापति शेरबहादुर देउवाको नाम सर्वसम्मत सिफारिस गरेको छ । देउवा २०४८ सालदेखि संघीय निर्वाचनमा अपराजित छन् ।
देउवाका विगतदेखिका प्रतिस्पर्धी नेकपाका नेता खगराज भट्टको नाम भने यसपटक सिफारिस भएको छैन । ‘स्थानीय, प्रदेशसभा र राष्ट्रियसभामा भएकाहरूको नाम सिफारिस नगर्नु भन्ने केन्द्रको निर्देशन छ,’ नेकपा डडेल्धुराका नेता भट्टले भने । खगराज अहिले प्रदेशसभा सदस्य छन् ।
यस्तै, समानुपातिकतर्फ नेकपा डडेल्धुराले १० जनाको नाम सिफारिस गरेको छ । अहिल्या कुँवर, शकुन्तला नगरकोटी, नरबहादुर विष्ट, टेकबहादुर भण्डारी, नन्दादेवी भट्ट, लक्ष्मी कामी, वीरेन्द्र मल्ल, जयन्ती बुढाऐर, नरभान पार्की र धर्म लुहारको नाम सिफारिस गरिएको छ ।
प्रतिक्रिया