कञ्चनपुरका कांग्रेस नगर सभापति कलौनीको पोस्टमार्टम रिपोर्टमा के देखियो ?
कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिकाका नेपाली कांग्रेस सभापति अच्युत कलौनीको पोस्टमार्टम रिपोर्ट सार्वजनिक आएको छ । बुधबार कलौनीको पोस्टमार्टन रिपोर्ट आएको प्रहरीले जनाएको छ ।
रिपोर्टले उनको मृत्युको ठोस कारण खुलाउन नसकेको प्रहरी अधिकारीले जनाएका छन । शनिबार बिहान घोप्टो परेको अवस्थामा मृत फेला परेका कलौनीको घटनाले थप रहस्यमय मोड लिएको छ ।
पोस्टमार्टम रिपोर्टमा बाहिरी वा भित्री चोट नदेखिएको उल्लेख छ । मृत्युको सम्भावित कारण ‘अक्लुजन’ हुन सक्ने संकेत गरिएको छ, तर स्पष्ट निष्कर्ष नआएपछि प्रहरीले मुटु र भिसेरा परीक्षण गर्ने तयारी गरिरहेको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा मुटु परीक्षण पठाइनेछ भने नेपाल प्रहरी विधि विज्ञान प्रयोगशालामा भिसेरा परीक्षण गरिनेछ ।
कलौनीको शव मामा भाञ्जा चोक नजिकै भेटिएको थियो । सीसीटीभी फुटेजमा उनी शुक्रबार राति ९ः३३ बजे हिँडिरहेको देखिएका थिए । घटनाको समयमा उनले अस्पतालबाट ग्यास्ट्रिकको औषधि लिएको प्रहरीको अनुसन्धानले देखाएको छ । उनको साथमा औषधि फेला परे पनि मोबाइल अझै भेटिएको छैन । पर्स भने झरेको अवस्थामा फेला परेको थियो, जसमा पैसा थिएन ।
उनको रहस्यमय मृत्युपछि परिवारले हत्या भएको दाबी गर्दै छानबिनको माग गरेका छन । घटना पछि गृहमन्त्री रमेश लेखक समेत गृह जिल्ला पुगेका थिए । कांग्रेस नगर सभापति तथा बैजनाथ माध्यमिक विद्यालयका व्यवस्थापन समिति अध्यक्ष रहेका कलौनीको मृत्युको यथार्थ पत्ता लगाउन थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया