वर्षमानलाई प्रश्न- तपाईंकै कारण खगराजलाई दल नेता बनाउने अध्यक्षको निर्देशन कार्यान्वयन नभएको हो ?

  बुधबार २३, माघ २०८१ १३:३१

धनगढी । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले सुदूरपश्चिम संसदीय दलमा देखिएको मतभेद छलफलबाटै अन्त्य गर्नुपर्ने बताएका छन् ।

बुधबार कैलालीको धनगढीमा आयोजित पत्रकार सम्मेलनमा उपमहासचिव पुनले पार्टीको सुझावअनुसार प्रदेश संसदीय दलले निर्णय गरेर विवाद समाधान गर्नुपर्ने बताएका हुन् । ‘यहाँको दलको निर्णय यहीँको दलको बैठकले गर्छ,’ उनले भने, ‘यसको अर्थ केन्द्रले केही गर्दैन भन्ने होइन । तपाईंहरू एकताबद्ध हुनुहोस् भनेर केन्द्रले निर्देशन दिन्छ ।’

तपाईंका कारण खगराज भट्टलाई दल नेता बनाउने अध्यक्षको निर्देशन कार्यान्वयन नभएको हो भन्ने सञ्चारकर्मीको प्रश्नमा पुनले दलभित्र मतभेद देखिएपछि छलफलबाट हल गर्न आफूले पहिले नै आग्रह गरेको बताए । ‘यहाँ दलभित्रै मतभेद देखिएपछि छलफलबाट हल गर्नुहोस् भन्दाभन्दै नेता फेरिदिनुभयो,’ उनले भने, ‘त्यसपछि त्यो विवाद केन्द्रमा पुग्यो । स्थायी कमिटीमा पनि पुग्यो । त्यहाँ साविकको र अहिलेको दल नेता तथा अरु सिनियर नेताको व्यवस्थापनको विषयमा छलफल भएको हो । फेरि पनि समस्या हल नभएपछि अध्यक्षले सिङ्गो दललाई बोलाएर काठमाडौंमा छलफल गर्नुभयो । त्यसपछि अध्यक्ष र महासचिवले सर्कुलर जारी गर्नुभएको हो । त्यो लागू भएन ।’

संसदीय दलमै विवाद भएपछि दलभित्र नै छलफल हुनुपर्ने बताउँदै उनले पार्टीको निर्देशनमा दलले निर्णय गर्नुपर्ने बताए । ‘मेरो कारणले सर्कुलर कार्यान्वयन लम्बियो भन्ने होइन,’ उनले भने, ‘दलको नेता फेर्ने निर्णय पनि अध्यक्षसँग, नारायणकाजीसँग, जनार्दन र मसँग सोझै जोडिने नेताहरूले बसेरै गरेका हुन् ।’

१२ माघ २०८० मा माओवादी केन्द्र, सुदूरपश्चिम संसदीय दलको नेताबाट खगराजलाई हटाएर मानबहादुर धामीलाई  नेता चयन गरिएको थियो । भट्टलाई संसदीय दलको नेताबाट हटाउने निर्णयमा संसदीय दलका उपनेता अक्कलबहादुर रावल, मानबहादुर धामी, शिवसिंह ओली, ओमविक्रम भाट, लक्ष्मी विक र गीतादेवी मालले हस्ताक्षर गरेका थिए । अहिले प्रदेशसभा सदस्य ओली खगराज पक्षमा देखिएका छन् । 

दल नेता धामी उपमहासचिव पुन पक्षका हुन् । पुनले धामीलाई दलको नेता बनाउन भूमिका खेलेको चर्चा छ । सोही कारण अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निर्देशन नमान्नुमा पुनको भूमिका पनि महत्त्वपूर्ण रहेको सुदूरपश्चिमका माओवादी नेता बताउँछन् । 

दलको नेता धामीलाई बनाएको पाँच महिनापछि असारको पहिलो साता अध्यक्ष प्रचण्डले सुदूरपश्चिम प्रदेशका सांसदहरूसँग छलफल गरेका थिए । प्रचण्डले भट्टलाई सुदूरपश्चिम प्रदेशसभाको संसदीय दलका नेतामा पुनर्स्थापित गरेर प्रदेशमा पार्टीलाई एकताबद्ध बनाउन निर्देशन दिएका थिए । त्यो निर्देशन संसदीय दलले कार्यान्वयन गरेन । 

दोस्रोपटक प्रचण्डले फेरि सबै नेताहरूलाई बालुवाटार बोलाएर दलको नेता खगराजलाई बनाउन निर्देशन दिए । त्यो पनि लागू भएन । केन्द्रले २ भदौमा दलका नेता धामीलाई स्पष्टीकरण सोध्दै तत्काल दलको नेता खगराजलाई बनाउन निर्देशन दिएको थियो । तर, प्रचण्डको त्यो निर्देशन पनि कार्यान्वयन भएन ।

clock बुधबार २३, माघ २०८१ १३:३१

प्रतिक्रिया