बैतडीको पाटनका विद्यालयको गुणस्तर परीक्षण सम्पन्न

  बिहिबार ०३, माघ २०८१ १०:०७
पाटन नगरपालिकाको शैक्षिक गुणस्तर परीक्षण प्रतिवेदन बुझाउँदै विज्ञ परीक्षक ।

बैतडी । शैक्षिक गुणस्तर परीक्षण केन्द्रका विज्ञले दुई नगरपालिकाका ३३ वटा माध्यमिक विद्यालयको शैक्षिक गुणस्तर परीक्षणको काम सकेर स्थानीय तहलाई प्रतिवेदन बुझाएको छ । 

परीक्षण केन्द्रले पाटन नगरपालिका र दशरथचन्द नगरपालिकाको काम पूरा गरेर प्रतिवेदन बुझाएको हो । प्रतिवेदनमा दशरथचन्दको भन्दा तुलनात्मक रूपमा पाटनका विद्यालयको शैक्षिक गुणस्तर राम्रो देखिएको छ । 

पाँच विज्ञले एक महिना लगाएर तयार गरेको प्रतिवेदनमा दशरथचन्द नगरपालिकाभन्दा पाटन नगरपलिकाका विद्यालय शैक्षिक गुणस्तरमा अगाडि देखिएको छ । दशरथचन्दका १९ वटा माध्यमिक विद्याललयले ४३ प्रतिशतदेखि ६७ प्रतिशतसम्म अङ्क प्राप्त गरेर सामान्यस्तर कायम गरेका छन् भने पाटन नगरपालिकाका १४ वटा विद्यालय ५४ प्रतिशतदेखि ८२.८३ प्रतिशतसम्म अङ्क प्राप्त गरेर मध्यमस्तरसम्म पुगेका छन् । 

पाटन नगरपालिका–८, खोड्पेको विजयपुरस्थित ज्ञानेश्वर माविले ८२.८३ प्रतिशत अङ्क प्राप्त गरेको छ । ज्ञानेश्वरले गत वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) मा शतप्रतिशत नतिजा ल्याएको थियो । परीक्षण केन्द्रले एसइई परीक्षाको नतिजालाई पनि आधार मानेको छ ।  

प्रतिवेदन अनुसार दशरथचन्द नगरपालिकाको वीरेन्द्र माविले ६४.६४ प्रतिशत, मणिलेक माविले ६०.१८ प्रतिशत, दशरथचन्द माविले ६७.२८ प्रतिशत, कुलौन माविले ५६.१५ प्रतिशत,  निङ्लासैनी माविले ६०।६ प्रतिशत,   शिवस्थली माविले ४९.५८ प्रतिशत,  शोभा मावि कलौनले ५५.५८ प्रतिशत,  जगदम्बा मावि रानीबुङ्गाले ५६.३२ प्रतिशत अङ्क प्राप्त गरेका छन् ।

त्यसै गरी दशरथचन्दकै केदारशीला माविले ५५.६९ प्रतिशत, कैलपालेश्वर माविले ५०.४१ प्रतिशत, केदार मावि सिमलोडासौँले ५५.१५ प्रतिशत,  गुरुकुल मावि शेराले ५०.१४ प्रतिशत,  सरस्वती मावि नकतडीले ५१.०९ प्रतिशत,  कालिका मावि थालिगाडाले ५५.९६ प्रतिशत, दानेश्वर नागार्जुन माविले ६६.३३ प्रतिशत, जोशी बुङ्गा मावि लमौताले ६५.११ प्रतिशत, नागार्जुन मावि बिर्तोलीले ५७.५१ प्रतिशत, केदार नाजार्गुन मावि बगलेखानले ४३.८८ प्रतिशत अङ्क प्राप्त गरेका छन् । 

पाटन नगरपालिकाको ज्ञानेश्वर माविले ८२.८८ प्रतिशत, उदयदेव मावि किम्तोलीले ७०.८२ प्रतिशत, जनता मावि आरुबाटाले ५४.४८ प्रतिशत, सिद्धेश्वर मावि हुक्केडाँडाले ७२.४९ प्रतिशत,  कालिका मावि मटेले ५९.९१ प्रतिशत, सरस्वती मावि सल्लेवासाले ५५.९६ प्रतिशत, नीलपालेश्वर मावि डैसिलीले ५५.५६ प्रतिशत प्राप्त गरेको छ । 

त्यसै गरी पाटनकै सिद्धेश्वर मावि मेलचौराले ६०.३ प्रतिशत, कृष्ण मावि पाटनले ७६.६४ प्रतिशत, सिगास मावि गुरुडाले ७३.८४ प्रतिशत, मावि गुजरले ७०.४४ प्रतिशत, भुवेश्वर मावि ठाँडले ६३.३२ प्रतिशत, त्रिपुरेश्वर मावि द्वाकुलडाले ७१.५१ प्रतिशत अङ्क प्राप्त गरेका छन् ।         

लगानीका हिसाबले पाटन नगरपालिका र दशरथचन्द नगरपालिकाले विद्यालयमा समान किसिमले रकम खर्च गर्दै आइरहेका छन् । पाटन र दशरथचन्द नगरपालिकाले शिक्षामा ३५ करोडभन्दा बढी रकम खर्च गर्दै आएका छन् । नगर शिक्षकमा मात्रै चार करोड रुपियाँ खर्च हुने गरेको छ ।  

दशरथचन्द नगरपालिकाका विद्यालयमा सूचना प्रविधिको प्रयोग कम भएको पाइएको छ भने पाटन नगरपालिका विद्यालयले सूचना प्रविधिको अधिकतम प्रयोग गरेको प्रतिवेदनमा उल्लेख छ । दशरथचन्द नगरपालिकामा चार प्रतिशत मात्रै सूचना प्रविधिको प्रयोग हुने गरेको छ । 

शैक्षिक गुणस्तर परीक्षणमा खटिएका नीलकण्ठ रेग्मीले दशरथचन्दका ८६.३९ प्रतिशत शिक्षकले बिनापाठयोजना कक्षामा छिरेर विद्यार्थीलाई पढ पढ मात्रै भन्ने गरेका बताउनुभयो । उहाँले सरकारले सामुदायिक विद्यालयमा स्मार्ट बोर्ड, आइसिटी कक्षा, विज्ञान प्रयोगशाला, पुस्तकालय,  आधुनिक शैक्षिक सामग्री उपलब्ध गराए पनि दशरथचन्द नगरपालिकाका ८६ प्रतिशत शिक्षकले यी वस्तुको उपयोग नगरी शिक्षण गर्दै आएको बताउनुभयो । 

पाटन नगरपालिकामा भने सूचना प्रविधिको प्रयोग गरी शिक्षण गर्ने विधि राम्रो देखिएको विज्ञ परीक्षक रामबहादुर थापाले बताउनुभयो । परीक्षणको मापदण्ड अनुसार ९० प्रतिशत अङ्क ल्याउने विद्यालयलाई उत्तम मानिँदै आएकोमा पाटनको ज्ञानेश्वर माविले ८२.८३ अङ्क प्राप्त गरेको उहाँले बताउनुभयो ।  

clock बिहिबार ०३, माघ २०८१ १०:०७

प्रतिक्रिया