सुदूरपश्चिम दलको विवाद एक साता भित्रै टुङ्गो लगाउने प्रचण्डको आश्वासन, भट्टलाई नेता तोक्ने तयारी !
कैलाली । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सुदूरपश्चिम प्रदेश संसदीय दलको विवाद एक साता भित्रै मिलाउने दाबी गरेका छन् ।
भर्खरै सम्पन्न भएको केन्द्रीय समितिको बैठकमा पनि दलको विवादका कारण पार्टीमा पनि असर परेको भन्दै माओवादी नेताहरूले ध्यानाकर्षण गराएपछि अध्यक्ष प्रचण्डले अब एक साता भित्रै यो विषय टुङ्गो लाग्ने बताएका थिए ।
केन्द्रीय समितिको बैठकमा धारण राख्ने सबैजसो केन्द्रीय सदस्यहरूले संसदीय दलको विषय टुङ्गो लगाउन नेतृत्वलाई सुझाव दिएका थिए । केहीले लिखित रूपमा पनि यो विषयमा अध्यक्ष प्रचण्डलाई जानकारी गराएका थिए ।
‘सुदूरपश्चिम संसदीय दलमा विवाद बढ्दै गयो। त्यसले पार्टीमा पनि असर गरिरहेको छ भनेपछि उहाँ ९प्रचण्ड०ले एक साताभित्रै यो विषय टुङ्गो लाग्छ भन्नु भएको छ’ बैठकमा सहभागी एक नेताले भने, ‘अध्यक्ष कमरेड यो विषयमा लागिरहनु भएको छ ।’
शनिवार मात्रै फेरि सुदूरपश्चिम प्रदेश अध्यक्ष हरि चौधरी उत्सवको नेतृत्वमा गएको एक टोलीले पनि सुदूरपश्चिम प्रदेश संसदीय दलको नेताको विषयबारे अध्यक्ष प्रचण्डलाई फेरि ध्यानाकर्षण गराएको थियो ।
अध्यक्ष चौधरीसहित, उपाध्यक्ष अक्कल रावल र दीपेन्द्र कुवर, सचिव जनक बुढा, सहसचिव नन्द बहादुर साउद, पालिका अध्यक्षसहितको टोलीले प्रधानमन्त्रीलाई सुदूरपश्चिमको पार्टी राजनीति र दलको किचलोबारे थप प्रस्ट पारेका थिए ।
‘दल भित्रको विषयबारे दुई पटकसम्म लिखित निर्देशन दिइसकेको छु, अब १ गतेभित्रको अर्को सर्कुलरमा पनि त्यहाँको समस्या समाधान गर्ने गरी निर्देशन जारी हुन्छ’ अध्यक्ष प्रचण्डले भने, ‘एक हप्ताभित्रै यो विषय हल गर्छु मैले भनेकै छु त ।’
समस्या समाधान गर्न भन्दै प्रचण्डलाई अहिले प्रदेश कमिटीको टोली मात्रै पुगेको भने होइन । केन्द्रीय समितिको बैठक सकिए लगत्तै भूगोलतर्फका केन्द्रीय सदस्यहरूले प्रचण्डलाई भेटेरै दलको विषय टुङ्गो लगाउन आग्रह गरिसकेका छन् ।
उनीहरूलाई पनि प्रचण्डले छलफलबाटै समस्या समाधान गर्न आफू लागिरहेको बताएका थिए । प्रचण्डले केही टोलीलाई आफूले पटक पटक खगराज भट्टलाई दलको नेता बनाउन निर्देशन दिएको भन्दै अब केन्द्रीय समितिको सर्कुलर पठाउँदा त्यो विषय पनि समेटिने बताएका थिए ।
संसदीय दलका नेता खगराज भट्टलाई अघिल्लो माघ २२ गते बहुमतको आधारमा संसदीय दलको नेताबाट हटाइए मानबहादुर धामीलाई जिम्मेवारी दिइएको थियो । त्यो बेला सभामुख बाहेकका १० सांसद मध्य भट्टको पक्षमा ४ जना सांसद रहेका थिए भने, धामीको पक्षमा ६ सांसद रहेका थिए ।
धामीको पक्षमा रहेका शिव ओली पनि अहिले भट्टको पक्षमा उभिएपछि ५–५ जना पुगेका छन् । अहिले भट्टको पक्षमा ओली सहित, झपट साउद,रमेश धामी, जानकी पौडेल कुवर रहेका छन् भने धामीको पक्षमा अक्कल रावल, ओमविक्रम भाट सरल, लक्ष्मी विक र गीता माल रहेका छन् ।
असार ४ गते माओवादीका ११ सांसदहरूलाई ‘प्रचण्ड’ ले तत्काल दलको नेता परिवर्तन गर्न निर्देशन दिएका थिए । निर्देशन दिएको साता दिनसम्म पनि दलको नेता नफेरेपछि प्रचण्डले फेरि लिखित सर्कुलर पठाएका थिए ।
असार १३ गते प्रदेश अध्यक्ष र इन्चार्जलाई केन्द्रीय अध्यक्ष र महासचिवले पठाएको सर्कुलरमा वर्तमान संसदीय दलको नेता मानबहादुर धामीबाट गम्भीर त्रुटि हुँदै गएको भन्दै दलको नेतामा स्थायी समिति सदस्य खगराज भट्टलाई बनाउने निर्देशन तत्काल कार्यान्वयन गर्न निर्देशन जारी गरिएको छ ।
लिखित सर्कुलर पठाएको एक महिनासम्म पनि उक्त निर्देशन कार्यान्वयन नभएपछि भदौ १३ गते धनगढीमा आयोजना गरिएको प्रदेश परामर्श बैठकमा पनि यो विषयले प्रवेश पाएको थियो ।
बैठक समापन भइसकेपछि आयोजना गरिएको पत्रकार सम्मेलनमा पनि उनले भट्टलाई दलको नेता कायम गराउन निर्देशन दिएको भन्दै उक्त निर्देशन कार्यान्वयन गराउन फेरि निर्देशन दिएको जनाएका थिए ।
सम्बन्धित भूगोलमै आएर दिएको निर्देशन पनि कार्यान्वयन भएको छैन । अहिले प्रचण्ड फेरि नयाँ सर्कुलर जारी गर्ने तयारीमा पुगेका छन्। त्यसका लागि केन्द्रीय सदस्य तथा प्रदेश सभा सदस्यहरूसँग तीव्र छलफल गरिरहेका छन् । उनले आगामी १ गतेभित्रै नयाँ सर्कुलर आउने बताइरहेका छन् ।
प्रतिक्रिया