बैतडीको हाट स्वास्थ्य चौकीमा एमबिबिएस डाक्टर

  बिहिबार १८, पुष २०८१ १४:५१

बैतडी । स्वास्थ्य चौकीमा एमबिबिएस डाक्टर, स्वास्थ्य परीक्षणका लागि ल्याब, एक्स–रे, अल्ट्रासाउण्ड, इसिजी र गर्भवतीलाई निःशुल्क एम्बुलेन्सको व्यवस्था गरेपछि स्थानीयले गाउँमै स्वास्थ्य सेवा पाउन थालेका छन् । 

१५ शय्याको अस्पतालले दिने सेवा स्वास्थ्य चौकीमै उपलब्ध हुन थालेपछि स्थानीय खुसी भएका छन् । पुर्चौडी नगरपालिकाले हाट स्वास्थ्य चौकीमा अस्पताल जतिकै सुविधा उपलब्ध गराएपछि जटिल रोगको उपचार बाहेकको सेवा गाउँमै प्राप्त हुन थालेको छ । 

मासिक एक लाख ५० हजार रुपियाँ तलब भत्ता दिनेगरी डाक्टर नियुक्त गरिएको पुर्चौडी नगरपालिका प्रमुख दीपकबहादुर बमले बताए । नगरपालिकाले चिकित्सकको व्यवस्था गरेपछि यस वर्षदेखि स्वास्थ्य संस्थामा जिडिटल एक्स–रे मेशिन जडान भएको पुर्चौडी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जगदीशप्रसाद जोशीले बतांए । 

स्वास्थ्य संस्थामा १५ दिनअघि मात्र डिजिटल एक्स–रे मेशिन जडान भएको उनले बताए । उनले भने, “स्वास्थ्य संस्थामा ९८ प्रकारका निःशुल्क औषधीको पूर्णरुपमा व्यवस्था गरेका छौंं । जनशक्तिका हिसाबले हाट स्वास्थ्य चौकीमा अस्पताल जतिकै सुविधा उपलब्ध गराउने लक्ष्य पूरा गरेका छौं ।”

कुल १० वटा वडा रहेको पुर्चौडी नगरपालिकामा ४० हजार जनसङ्ख्या छ । वडास्तरमा स्वास्थ्य चौकी भए पनि नगरपालिकाको केन्द्र हाटमा रहेको स्वास्थ्य चौकीमा एमबिबिएस डाक्टर, जिडिटल एक्स–रे मेशिन, अत्याधुनिक ल्याब सेवा, गर्भवतीलाई निःशुल्क एम्बुलेन्स उपलब्ध गराएपछि नागरिक खुसी भएको उपप्रमुख मीना धानुकले बताए । 

स्वास्थ्य संस्थामा औषधी अभाव हुन नदिन बेला–बेला अनुगमन हुने गरेको पुर्चौडी नगरपालिका स्वास्थ्य शाखा संयोजक सुरेन्द्रप्रसाद अवस्थीले बताए । स्थानीय तहका स्वास्थ्य संस्थाको अनुगमनका क्रममा पुर्चौडी पुग्नुभएका स्वास्थ्य कार्यालय बैतडीका खोप निरीक्षक हरिश भट्टले हाट स्वास्थ्य चौकीले गुणस्तरीय सेवा दिएको जानकारी दिए । 

स्वास्थ्य संस्था अनुगमनको क्रममा पुर्चौडी हाट स्वास्थ्य चौकी र कोटिला स्वास्थ्य चौकीको सेवा राम्रो देखिएको उनले बताए । कोटिला स्वास्थ्य चौकीले प्रसूति सेवा र ल्याब सेवा सञ्चालन गर्दै आइरहेको स्वास्थ्य चौकी इन्चार्ज सुमन लोहारले बताए । 

स्वास्थ्य चौकीमा सबै किसिमका सेवा उपलब्ध भएपछि बिरामीको चाप बढेको डा. अनमोल थापाले बताए । ग्रामीण भेगबाट आउने अधिकांश पाका उमेरका बिरामीमा दम रोग र बालबालिकामा निमोनियाको समस्या बढी देखिने गरेको उनले बताए । धूमपान र सुधारिएको चुलो नभएका कारण यस्तो समस्या भएको हुन सक्ने उनले बताए । 

हाट स्वास्थ्य चौकीमा चालु आर्थिक वर्षको साउनदेखि मङ्सिरसम्म चार हजारभन्दा बढी बिरामीले सेवा लिएको डा. थापाले बताए । तथ्याङ्कअनुसार गत वर्ष नौ हजार पाँचसय बिरामीले सेवा लिएको पाइएको छ । ओपीडी सेवा सेवातर्फ पाँच सय  र आकस्मिक सेवा छसय जनाले लिएको नगरपालिकाको स्वाथ्य शाखाको तथ्याङ्क छ ।   

हाट स्वास्थ्य चौकीमा ल्याब सेवा, एक्स–रे, अल्ट्रासाउण्ड, इसिजी र एम्बुलेन्स लगायत जिल्ला अस्पताल बराबरको सुविधा भएपछि पालिकास्तरीय अस्पताल घोषणा गर्ने तयारी भइरहेको नगर प्रमुख दिपमबहादुर बमले बताए । 

clock बिहिबार १८, पुष २०८१ १४:५१

प्रतिक्रिया