बिजौरामा रहेको स्वास्थ्य आपूर्ति केन्द्रको मेडिकल स्टोरको उद्घाटन
धनगढी । प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रको स्वास्थ्य सामग्री भण्डारण भवनको समुद्घाटन कार्यक्रम सम्पन्न भएको छ। गोदावरी नगरपालिका –१, गेटा बिजौरामा रहेको उक्त भवनको सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले उक्त भवनको समुद्घाटन गरेका हुन ।
कार्यक्रममा सामाजिक विकास मन्त्री मेघराज खड्का, राज्यमन्त्री सरस्वती खड्का तथा मन्त्रालयका सचिव र अन्य विशिष्ट कर्मचारीहरूको उपस्थिति रहेको थियो।
प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रका कार्यालय प्रमुख जनकराज ढुङ्गानाले भवन निर्माणको आवश्यकता, यसको उपयोगिता, र भविष्यमा यसले जनताको स्वास्थ्य क्षेत्रमा पु¥याउने योगदानबारे प्रकाश पारेका थिए ।
सुदूरपश्चिम प्रदेशमा स्वास्थ्य सामग्रीहरूको प्रभावकारी व्यवस्थापनको अभावका कारण धेरैजसो औषधि तथा सामग्री समयमै स्वास्थ्य संस्थाहरूमा पुर्याउन कठिनाइ हुने गरेको बताउदै कार्यालय प्रमुख ढुङ्गानाले महामारी र अन्य आपतकालीन अवस्थामा स्वास्थ्य सामग्रीको भण्डारण र वितरणलाई द्रुत बनाउन यो भवन निर्माण कार्य अगाडि बढेको बताए।
नवनिर्मित भण्डारण भवनबाट औषधि, खोप, र अन्य स्वास्थ्य सामग्रीको सुरक्षित भण्डारण,प्रदेशका नौवटा जिल्लामा समयमै स्वास्थ्य सामग्रीको वितरण,आपतकालीन अवस्थामा स्वास्थ्य सेवा प्रभावकारी बनाउन सहयोग, गुणस्तरयुक्त स्वास्थ्य सेवा प्रदान गर्न सामग्रीको व्यवस्थापन र अनुगमन लगायतका कार्य हुने कार्यालय प्रमुख ढुंगानाले जानकारी दिए।
साथै मेडिकल वायर हाउस पूर्णरूपमा सञ्चालनमा आए स्वास्थ्य सामग्रीको अभावका कारण हुने समस्याहरूको अन्त्य, समयमै औषधि र उपकरण उपलब्ध गराएर स्वास्थ्य सेवा सुधार,महामारी, विपद् वा अन्य आकस्मिक अवस्थामा द्रुत व्यवस्थापनमा सहजता हुने कार्यालयका सूचना अधिकारी जयन्द्र बोगटीले बताए ।
भवनको निर्माण सेभ द चिल्ड्रन को सहकार्यमा सम्पन्न भएको हो। यसले सुदूरपश्चिम प्रदेशका जनतालाई गुणस्तरीय र समयमै स्वास्थ्य सेवा पुर्याउने प्रदेश सरकारको लक्ष्यलाई अघि बढाउन महत्वपूर्ण योगदान गर्ने विश्वास गरिएको छ।
प्रतिक्रिया