सांसद बडूको प्रश्न : कालापानी, लिम्पियाधुरा र लिपुलेक फिर्ता गराउन सरकारको कूटनीतिक तयारी के छ ?

  बिहिबार ०४, जेठ २०८० १४:५५

काठमाडौँ । नेपाली कांग्रेसका सांसद दिलेन्द्रप्रसाद बडूले नेपाली भूमि कालापानी, लिम्पियाधुरा र लिपुलेक फिर्ता गराउन भारतसँग गरिने उच्चस्तरीय वार्ताका लागि सरकारको कूटनीतिक तयारीबारे जवाफ मागेका छन्। 

प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई प्रश्न गर्ने क्रममा उनले सम्भावित भारत भ्रमणमा सीमा विवादको एजेन्डा समावेशबारे जिज्ञासा राख्दै यस्तो जवाफ मागेका हुन्।  

‘भारत भ्रमणमा कालापानी, लिम्पियाधुरा, लिपुलेक सीमा विवादको एजेन्डा समामावेश छ या छैन,’ बडूले प्रश्न गरे, ‘यस सन्दर्भमा उच्चस्तरीय वार्ताका कूटनीतिक तयारी के छ स्पष्ट जानकारी चाहियो।’

जवाफमा प्रधानमन्त्रीले आफ्नो भारत भ्रमण नेपालको बृहत्तर हित अभिवृद्धि गर्ने कार्यमा केन्द्रित रहने बताए।  उनले भने, ‘मेरो निकट भविष्यमा हुने भारत भ्रमण पनि नेपालको बृहत्तर हित अभिवृद्धि गर्ने कार्यमा केन्द्रित रहने विश्वास म व्यक्त गर्न चाहन्छु।’

नेपाल आफ्नो एक इन्च भूमि पनि कुनै राष्ट्रलाई नदिने र अरु राष्ट्रको भूमि पनि नलिने सिद्धान्तमा अडिग रहेको जिकिर गर्दैै प्रधानमन्त्री प्रचण्डले यसै सिद्धान्तमा रहेर छिमेकीसँग सम्बन्ध कायम गर्न नेपाल प्रयत्नशील रहेको बताए।    

उनले नेपाल–भारत सम्बन्धका विविध पक्षहरूलाई पुनरावलोकन गरी समसामयिक बनाउने कार्यमा कूटनीतिक पहलहरु जारी रहेको पनि जानकारी दिए। 

‘सीमासम्बन्धी सबै समस्याहरु पनि कूटनीतिक माध्यमबाट समाधान गरिने र छिमेकी मित्र राष्ट्रहरुसँग सौहार्द र घनिस्ट सम्बन्ध कायम गर्ने नीति सरकारले लिएको छ,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘नेपाल भारतसम्बन्धका विविध पक्षहरुलाई पुनरावलोकन गरी समसामयिक बनाउने कार्यमा कूटनीतिक पहलहरु जारी रहेको जानकारी पनि यस सम्मानित सदनलाई गराउन चाहन्छु।’ 

clock बिहिबार ०४, जेठ २०८० १४:५५

प्रतिक्रिया