रवि लामिछानेलाई बुटवल ल्याउने तयारी

  सोमबार १९, कार्तिक २०८१ ११:३८

बुटवल । रष्ट्रिय स्वतन्त्र पार्टी (रास्वापा) का सभापति रवि लामिछानेलाई सहकारी ठगी र संगठित अपराध कसुरमा अनुसन्धान गर्न प्रहरीले बुटवल ल्याउने भएको छ । कात्तिक २ गतेदेखि सहकारी ठगी मुद्दाको अनुसन्धानका क्रममा कास्की प्रहरी हिरासतमा रहेका लामिछानेलाई कास्की प्रहरीले अदालतबाट पाएको म्याद १४ गते नै सकिएको भए पनि तिहार बिदाका कारण हिरासतमै राखिएको छ ।

रूपन्देही प्रहरीले मंगलबार म्याद थप नभएको अवस्थामा सोही दिन र म्याद थप भएमा छठ पर्वपछि बुटवल ल्याउने तयारी गरेको हो । बुटवलस्थित सुप्रिम ऋण तथा बचत सहकारी संस्थाको १४ करोड २९ लाख रुपैयाँ गोर्खा मिडिया नेटवर्क प्रालिमा लगेर खर्च गरेको कसुरमा अनुसन्धान गर्न रूपन्देही जिल्ला अदालतले कात्तिक ८ गते नै लामिछाने, जिबी राईसहित १२ जनालाई पक्राउ गर्न अनुमति दिएको थियो ।

संसदीय छानबिन विशेष समिति र प्रहरीको प्रतिवेदनमा बुटवलस्थित सुप्रिम सहकारीबाट १ करोड ९६ लाख रवि लामिछानेकै नाममा र १४ करोड २९ लाख रुपैयाँ विभिन्न व्यक्तिमार्फत गोर्खा मिडिया नेटवर्कमा पुगेको उल्लेख छ । रूपन्देही प्रहरी प्रमुख प्रहरी उपरीक्षक रञ्जितसिंह राठौरका अनुसार लामिछानेलाई अनुसन्धानका लागि रूपन्देही पठाइदिन एक साताअघि नै पत्राचार गरिसकेको र छठ पर्व सकिएपछि बुटवल ल्याइने छ ।

लामिछानेसँगै गोर्खा मिडिया नेटवर्कका उपाध्यक्ष एवं पूर्वडीआईजी छविलाल जोशी बञ्जाडे पनि कास्की प्रहरी हिरासतमा छन् । बञ्जाडेलाई यसअघि नै बुटवल ल्याएर बयान लिई कास्की फर्काइएको छ । अनुसन्धानबाट खुलेअनुसार लामिछानेले २०७७ चैत १८ मा बुटवल उपमहानगरपालिका–९ राजमार्ग चौराहास्थित सुप्रिम सहकारीबाट २ करोड ऋण लिएका थिए । सेवा शुल्क कटाएर १ करोड ९६ लाख लगेका लामिछाने त्यतिबेला गोर्खा मिडिया नेटवर्कमा कार्यकारी निर्देशक थिए ।

त्यस्तै, बञ्जाडेले २०७७ माघ २९ गते २ करोड ५० लाखमध्ये ५ लाख सेवा शुल्क कटाएर २ करोड ४५ लाख रुपैयाँ ऋण लिएका थिए । लामिछाने र बञ्जाडे दुवैको नामको रकम गोर्खा मिडिया नेटवर्कको ग्लोबल आईएमई बैंकको खातामा जम्मा भएको अनुसन्धानले देखाएको छ । सहकारीका पूर्वअध्यक्ष गितेन्द्रबाबु (जिबी) राई र पूर्व उपराष्ट्रपति नन्दबहादुर पुनका छोरा एवं सुप्रिम सहकारीका पूर्वसचिव दीपेश पुनसहित २८ जनालाई प्रतिवादी बनाइएको यस मुद्दामा लामिछानेलाई प्रतिवादी नबनाइएकोमा सहकारी पीडितले प्रश्न उठाएका थिए । त्यतिबेला लामिछाने गृहमन्त्री थिए । अहिले भने प्रहरीले लामिछानेविरुद्ध पूरक अनुसन्धान प्रतिवेदन तयार गरिरहेको छ ।

प्रहरीको अनुसन्धान प्रतिवेदनमा लामिछानेको नामको ऋण भौचर सुप्रिम सहकारीका व्यवस्थापक सागर केसीले सदर गरेका हुन् । गुल्मीको मालिका गाउँपालिका–८ का ३० वर्षीय केसी हाल फरार छन् । केसीले भौचर सदर गरेपछि रोशनी गुरुङले गोर्खा मिडिया नेटवर्कको बैंक खातामा रकम जम्मा गरेकी थिइन् । गुरुङ अदालतबाट धरौटीमा रिहा भइसकेकी छिन् । 

clock सोमबार १९, कार्तिक २०८१ ११:३८

प्रतिक्रिया