जनकल्याणकारी धनगढी उपमहानगर

  शुक्रबार ११, असोज २०८१ १६:३४

धनगढी । सुदूरपश्चि प्रदेशको एकमात्र उपमहानगरपालिका धनगढी । १९ वटा वडा र २६१ दशमलव ७५ वर्ग किलोमिटर क्षेत्रफल रहेको यो उपमहानगरपालिकाको जनसंख्या २०७८ को जनगणनाअनुसार एक लाख ९८ हजार ७९२ रहेको छ । 
सुदूरपश्चिम प्रदेशको राजधानी तथा प्रमुख ब्यापारीक शहर रहेको यो उपमहानगरपालिकाले विकास निर्माण लगायतबारे सुदूरपश्चिमकै प्रतिनिधित्व गर्छ ।  सुदूरपश्चिमको प्रमुख ब्यापारी नाका तथा प्रदेशको राजधानी भएपनि धनगढी हर किसिमबाट सधैं ओझेलमा पर्दै आएको थियो । उपमहानगर भएपनि यहाँ बासिन्दा न्युनतम कुराबाट बञ्चित भई उपमहानगरबासीको अनुभव गर्न सकेका थिएनन् ।
सधैं पछि परेको यो उपमहानगरपालिकामा २०७९ को स्थानीय तहको निर्वाचनमा स्वतन्त्र उमेदवारी दिएका सुन्दर सुदू्रपश्चिम अभियानका अभियान्ता गोपाल हमाल विजयी भएपछि भने धनगढीले शिक्षा, स्वास्थ्य, हरियाली प्रबद्र्धन, सडक चौडा, सडक झलमल्ल, सरसफाई, प्लाष्टिक मुक्त तथा नागरिकको सुखदुखमा हरघडी नगर प्रहरी भन्ने नारासहित २४ सैं घण्टा नगर प्रहरी परिचालन भई बेग्लै पहिचान बनाउन सफल भएको छ । 

प्रस्तुत छ, सुन्दर सुदू्रपश्चिम अभियानका अभियान्ता समेत रहेका गोपाल हमालले स्वतन्त्र उमेदवारी दिएर विजयी भएपछि गरेका केही जनकल्याणकारी कामहरूः
‘आमा बचाऔं’ अभियान 
उपमहानगरपालिकाले सञ्चालन गरेको ‘आमा बचाऔं’ अभियान प्रभावकारी बनेको छ ।  २०७९ को मङ्सिर २१ गतेबाट सुरु गरेको उक्त अभियानबाट ग्रामीण क्षेत्रका महिला लाभान्वित भएका छन् ।  गर्भवती, प्रसव र सुत्केरी अवस्थाका महिलालाई निःशुल्क एम्बुलेन्स सेवा दिने उद्देश्यले सञ्चालनमा ल्याइएको ‘आमा बचाऔं’ अभियानबाट अघिल्लो र गत आव २०८०÷८१ गरी दुई वर्षमा चार सय ५४ महिलाले सेवा प्राप्त गरेको उपमहानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख योगेश अवस्थीले जानकारी दिए ।

उनका अनुसार आमा र शिशुको स्वास्थ्यलाई दृष्टिगत गरी सञ्चालन गरिएको ‘आमा बचाउ’ अभियानमा उक्त अवस्थाका महिलालाई अस्पतालसम्म पु¥याउन उपमहानगरले चारवटा एम्बुलेन्सबाट निःशुल्क सेवा सञ्चालन गरेको छ । एउटा एम्बुलेन्स उपमहानगर आफैँले सञ्चालन गरेको र तीनवटा एम्बुलेन्स वडा नम्बर १६, १८ र १९ बाट सञ्चालनमा ल्याइएको स्वास्थ्य शाखा प्रमुख अवस्थीले जानकारी दिए । ‘ग्रामीण क्षेत्रमा अस्पतालसम्म पुग्न सवारी साधन पाइँदैन,’ उनले भने, ‘यसैलाई मध्यनजर गरी यो अभियान सञ्चालन गरिएको हो । यसबाट ग्रामीण क्षेत्रका महिला लाभान्वित हुनुभएको छ ।’

‘आमा बचाऔं’ अभियान ग्रामीण क्षेत्रका महिलालाई निकै प्रभावकारी भएको वडा नम्बर १९ का वडाध्यक्ष बाँधुराम चौधरीले बताए । उनले भने– ‘कसैसँग अस्पताल पुग्ने भाडासमेत हुँदैन । उहाँहरुलाई यसले राहत प्रदान गरेको छ । अस्पतालसम्म पुग्न अन्य सवारी पाउन पनि मुस्किल पर्छ । निःशुल्क एम्बुलेन्स सेवाले गर्भवतीलाई अस्पतालसम्म पुग्न सहज भएको छ ।’

‘शव चिस्यान सेवा’
उपमहानगरपालिकाले निःशुल्क रुपमा उपलब्ध गराउँदै आएको शव चिस्यान सेवाबाट मृतकका आफन्तहरूलाई सहज भएको छ । उपमहानगरपालिकाले नगर क्षेत्रमा बसोबास गर्ने नागरिकहरूको लागि शव चिस्यान सेवा प्रदान गर्दै आएको छ । कोहीकसैको मृत्यु भएपछि टाढा रहेका आफन्त आइपुग्न ढिलो हुने भएपछि शवलाई चिस्यान केन्द्रमा राख्ने व्यवस्था मिलाइएको हो । उपमहानगरले शव चिस्यान सेवा २०८० पुस ९ गतेदेखि सञ्चालनमा ल्याएको हो । 

मृतकका आफन्तले काम विशेषले घरबाहिर भएका सदस्य नआउन्जेलसम्म शवलाई सुरक्षित राख्न निःशुल्करुपमा शव चिस्यान सेवाको उपयोग गर्दै आएका छन् । उपमहानगरपालिकाले सञ्चालन गरेको शव चिस्यान यन्त्रका कारण मृतकका आफन्तहरूलाई निकै सहज भएको धनगढी ६ का बिष्णुदत्त खड्काले बताए ।

उपमहानगरले विद्युतबाट सञ्चालन हुने पाँचवटा शव चिस्यान मेसिन खरिद गरेको छ । पाँच मध्ये तीन वटा धनगढीबासीका लागि तथा दुई वटा चिस्यान मेसिन धनगढीसँग जोडिएका पालिकालाई उपलब्ध गराउने गरिएको छ ।  विदेश वा घरबाट टाढा रहेका परिवारका सदस्य आउँदासम्म शवको सुरक्षाका लागि चिस्यान सेवा सुरु गरिएको उपमहानगरले जनाएको छ । नगर प्रहरीलाई फोन गरेपछि सम्बन्धित घरमा निशुल्क चिस्या मेसिन पुर्याउने र शव अन्तिम संस्कारपछि नगर प्रहरीले नै मेसिन फिर्ता ल्याउने गर्छ । 

‘हरियाली प्रवद्र्धन र पर्यावरणमैत्री’ 
उपमहानगरपालिकाले ‘हरित धनगढी’ अभियान थालेको छ । हरियाली प्रवर्द्धन कार्यक्रमअन्तर्गत बृक्षारोपण अभियानलाई तीव्ररूपमा अघि बढाई ‘हरित धनगढी’ अभियान थालिएको हो । धनगढीलाई हरियाली प्रवर्द्धन गर्ने र पर्यावरण मैत्री बनाउने उद्देश्यले ‘हरित धनगढी’ अभियानअन्तर्गत बृक्षारोपण अभियानलाई तीवरूपमा अघि बढाइएको हो ।

धनगढीलाई पर्यावरणमैत्री बनाउन प्लाष्टिक बेचबिखन गर्न प्रतिबन्ध लगाइएको छ ।  यो अभियानअन्र्तगत उपमहानगरपालिकाले हालसम्म ११ हजार ३ सय बिरुवा रोपिसकेको छ । ‘हरित धनगढी’ अन्र्तगत धनगढी हरियाली प्रवर्द्धन कार्यक्रम २०७९ फागुनबाट सुरु गरिएको धनगढी उपमहानगरपालिका जिन्सी शाखा प्रमुख कृष्णराज जोशीले बताए । 

शाखा प्रमुख जोशीले खाली बृक्षारोपणका लागि बृक्षारोपण नभई उपमहानगरपालिकाले रोपिएका बिरुवाको सुरक्षाका लागि ट्री–गार्ड, तारजाली लगाउने र आवश्यकताअनुसार मल तथा सिँचाइको पनि ब्यवस्था गरी नियमित हेरचाह गर्नेगरेको जानकारी दिए । 

उपमहानगरपालिकाले हालसम्म धनगढीको मोहनापुल–अत्तरिया ६ लेन सडक, वनदेवी मन्दिर क्षेत्र, हुलाकी राजमार्ग, धनगढी विमास्थल सडक, चक्रपथ सडक, क्याम्पसरोड र मोहना आर्यघाट क्षेत्रमा ट्री–गार्डसहित वृक्षारोपण गरेको जनाएको छ ।

आफ्नै जनशक्तिबाट रोपिएका बिरुवाको हरेचाह र सिँचाइ समेत गर्दै आएको उपमहानगरपालिकाले  हरियाली प्रवर्द्धन अभियान सञ्चालन गरेर बृक्षारोपणका लागि जनस्तरबाट हालसम्म ६६ लाख ४० हजार ६ सय १ रुपैयाँसमेत संकलन गरेको छ । 

वृक्षारोपण कार्यक्रमलाई उपमहानगरपालिकाले ‘हरित धनगढी’ नाम दिएको छ । ट्री–गार्डमा कुनै संघ÷संस्था तथा ब्यक्तिले आफ्नो नाम राख्न चाहेमा उपमहानगरपालिकाले प्रति ट्री–गार्ड पाँच हजार रुपैया लिने गरेको छ ।
सुन्दर र पर्यावरणलाई जोगाउन उपमहानगरपालिकाले नागरिकलाई सँगसँगै जोडेको छ ।

बिरुवा, ट्री–गार्ड र बिरुवाको हेरचाह उपमहानगरपालिकाले गर्दै आएको छ । सुन्दर र हरियालीयुक्त धनगढी बनाउने उद्देश्यसहित सुरु गरिएको कार्यक्रममा पछिल्ला दिनमा नागरिक तथा विभिन्न संघ÷संस्थाको सहभागिता बढ्दै गएको शाखा प्रमुख जोशीको भनाई छ ।

‘उज्यालो धनगढी’ अभियान 
उपमहानगरपालिकाले ‘उज्यालो धनगढी’ भन्ने अभियान सुरु गरेको छ । नगरक्षेत्रमा शान्ति सुरक्षा कायम गर्न तथा नगरलाई सुन्दर र उज्यालो बनाउनको लागि उच्च क्षमताको स्मार्ट स्ट्रिट लाइट र  हाइमास्ट लाइट जडान गरिएको छ । यो अभियान अझै जारी छ ।  उपमहानगरको ‘उज्यालो धनगढी’ अभियान मार्फत् रात्रिकालीन यात्रालाई सुरक्षित र सहज बनाउन तथा व्यवसाय प्रवद्र्धन गर्ने उद्देश्य रहेको छ ।

हालसम्म यो अभियानअन्र्तगत त्रिनगर भन्सारदेखि ६ लेन सडकको गोदावरी नगरपालिकाको सिमानासम्म, हुलाकी सडक अन्र्तगत क्याम्पस चोकदेखि मनेहरासम्म, धनगढी एयरपोर्ट चोकदेखि एयरपोर्टसम्म, सहिद गेटदेखि क्याम्पस चोकसम्म, कैलालीपुलदेखि ट्राफिक चौराहसम्म, हसनपुर सडकलगायतका क्षेत्रमा सडक बत्ती जडान गरी झलमल्ल बनाइएको छ । 

साथै धनगढीको प्रवेशद्वार र भन्सार गेटमा फल्ड लाइट र स्ट्रिप लाइट तथा १४० ट्रि गार्डमा स्ट्रिप लाइट जडान गरिएको छ ।  स्ट्रिप लाइटमा नेपालको राष्ट्रिय झण्डामा प्रयोग हुने निलो, रातो र सेतो रंग प्रयोग गरिएको छ । 
हालसम्म नगरक्षेत्रका ३० ठाउँमा  हाइमास्ट लाइट जडान गरी सञ्चालनमा ल्याइसकेको छ । अब १९ वटै वडाको आर्थिक चहलपहल हुने ठाउँको चोकमा हाइमास्ट लाइट राख्न आवश्यक पहल चालिएको नगर प्रमुख गोपाल हमालले बताए ।

‘विशेषज्ञ डाक्टर सहितको निःशुल्क वडा स्वास्थ्य क्लिनिक’ 
२०७९ सािउन १ गतेदेखि धनगढीका १९ वटै वडामा हरेक महिनाको एक दिन निःशुल्क विशेषज्ञ वडा स्वास्थ्य क्लिनिक सञ्चालन हुनेगरेको छ । उपमहानगरपालिकाअनुसार शुल्क नलाग्ने गरी नगरवासीलाई घरआँगनमै विशेषज्ञ सेवा दिन उक्त कार्यक्रम लागु गरिएको हो ।

निःशुल्क विशेषज्ञ वडा स्वास्थ्य क्लिनिक एकजना जनरल फिजिसियन र एकजना स्त्री तथा प्रसूति रोग विशेषज्ञ चिकित्सक रहेका छन् । यो क्लिनिकमा भिडियो एक्स रे, हाडजोर्नी, आँखा तथा दन्त जाँच, अल्ट्रासाउन्ड, इसिजी, मधुमेहको परीक्षण, रक्तचाप, पाठेघरको मुखकोक्यान्सर आदिको परीक्षण हुन्छ । औषधि पनि निःशुल्क उपलव्ध हुन्छ । थप उपचार चाहिनेलाई अस्पताल जान सल्लाह दिइन्छ । 

उपमहानगरले यस्तो क्लिनिक ग्रामीण क्षेत्रमा चलाउन प्राथमिकता दिएको छ । क्लिनिकमा ज्येष्ठ नागरिक र उपचारमा खर्च गर्न नसक्नेहरूले प्राथमिकता पाउँछन् । वडावासीहरूले एक दिनकै भए पनि क्लिनिकलाई गाउँमै अस्पताल आएको रूपमा बुझेका छन् । हालसम्म यो क्लिनिकबाट झण्डै एकलाख सेवा लिएका छन् । 

‘दाहसंस्कार गर्न नगद पाँच हजार र निःशुल्क शव वाहन सेवा’
कुनै नगरवासीको मृत्यु हुँदा आर्थिक अभावमा दाहसंस्कार गर्न समस्या नहोस् भनेर उपमहानगरपालिकाले मृतकको घरैमा नगर प्रहरी पठाएर आफन्तलाई दाहसंस्कार गर्न नगद पाँच हजार दिने गरेको छ । सर्वसाधारणलाई दाहसंस्कार गर्न चाहिने दाउरा र कात्रो किन्न सहज होस् भनेर २०८० असोज १ गतेदेखि यो सेवा थालिएको हो ।

नगर प्रहरीलाई फोन गरेपछि दुईजना नगरी प्रहरी मृतकको घरमै गएर रकम हस्तान्तरण गर्ने र उपमहानगरपालिकाको झण्डा ओढाएर सलामी दिन्छन् । हालसम्म जनालाई यो रकम उपलब्ध गराइएको छ । 
त्यस्तै घर वा अस्पतालबाट घाटसम्म वा अस्पतालबाट घरसम्म शव लैजान निःशुल्क शव वाहन सेवा उपलब्ध गराउने गरिएको छ । हालसम्म यो सेवा ३३० जनाले लिएका छन् । 

‘निःशुल्क रगतको व्यवस्था’  
उपमहानगरपालिकाले नगरक्षेत्रभित्र स्थायी रुपमा बसोबास गर्ने नागरिक बिरामी पर्दा चाहिने रगत निःशुल्क रुपमा उपलब्ध गराउने व्यवस्था गरेको छ । धनगढीमा नेपाल रेडक्रस सोसाइटी कैलाली शाखाबाट सञ्चालित रक्त सञ्चार केन्द्रबाट नगरवासीलाई निःशुल्क रगतको व्यवस्था गरेको हो । रक्त सञ्चार केन्द्रले रगत परीक्षण सामग्री, भण्डारणलगायतको खर्च भनेर रगत उपलब्ध गराएवापत प्रतिपिन्ट रगतको एक हजार १५० रुपैयाँ लिने गरेको छ ।

 नगरवासीले रक्त सञ्चार केन्द्रले रगत उपलब्ध गराएवापत तिर्नुपर्ने प्रतिपिन्ट रगतको एक हजार १५० रुपैयाँ चालु आर्थिक वर्षदेखि उपमहानगरपालिकाले नै तिरिदिने नेपाल रेडक्रस सोसाइटी कैलाली शाखासँग सम्झौता भएको धनगढी उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरेन्द्रबहादुर खातीले बताए । धनगढी उपमहानगरभित्र स्थायी बसोबास भएका बिरामीले चिकित्सकको सिफारिसमा रेडक्रसबाट निःशुल्क रगत पाउने गरेका छन् ।

‘ज्येष्ठ नागरिकलाई मुक्तिनाथ दर्शन’
जीवनभर घर, परिवार र समाजका लागि संघर्ष गरेका ज्येष्ठ नागरिकको सम्मानका लागि उपमहानगरले आफ्नै खर्चमा हिन्दु र बौद्धमार्गीको साझा तीर्थस्थल मुक्तिनाथमा दर्शन गराउँदै आएको छ । २०७९ कात्तिक ३ गते सुरु गरिएको यो अभियानमा हालसम्म ३३३ जनाले मुक्तिनाथको दर्शन गरेका छन् । मुक्तिनाथ दर्शनका लागि उपमहानगरपालिकाले हरेक वडा र समुदायको प्रतिनिधित्व हुने गरी वडा कार्यालयको सिफारिसमा ज्येष्ठ नागरिक छनौट गर्ने गरिएको छ ।

‘नगरप्रमुख शैक्षिक सुधार कोष’ 
विपन्न बालबालिकाहरुको पठनपाठनमा सहयोग पु¥याउने उद्देश्यले उपमहानगरपालिकाले ‘नगरप्रमुख शैक्षिक सुधार कोष’ स्थापना गरेको छ । आर्थिक अभावका कारण विद्यालय पोसाक, शैक्षिक सामग्री लगायतका सामान जोहो गर्न समस्या भएका विपन्न परिवारका बालबालिकाहरुको पठनपाठनमा सघाउन नगरप्रमुख शैक्षिक सुधार कोष स्थापना गरिएको हो । 

उपमहानगरपालिकाले ग्रामीण क्षेत्रका सामुदायिक विद्यालय छनौट गरेर नमुना विद्यालय बनाउने अभियान अघि बढाएको छ । त्यस्ता विद्यालयमा अध्ययन गर्ने बालबालिकाले आर्थिक अभावका कारण बीचैमा पढाई छोड्न नपरोस् भनेर नगरप्रमुख शैक्षिक सुधार कोष स्थापना गरिएको उपमहानगरपालिकाको भनाई छ । नगरप्रमुख शैक्षिक सुधार कोषमा हालसम्म विभिन्न संघसंस्था तथा ब्यक्तिको सहयोगबाट ६० लाख रुपैयाँ जम्मा भएको छ ।

धनगढी उपमहानगरपालिका नगरप्रमुख गोपाल हमाल स्वयंमले विपन्न परिवारका बालबालिकाहरुको शैक्षिक गुणस्तर सुधार्न भनेर आर्थिक वर्ष २०८१÷०८२ को तलब सुविधाबाट पाउने करिब १० लाख रुपैयाँबाट शैक्षिक सामग्री किनेर वितरण गरेका छन् । 

‘हाम्रो धनगढी, सफा धनगढी’ अभियान  
‘हाम्रो धनगढी, सफा धनगढी’ अभियान दिनप्रतिदिन विस्तार भइरहेको छ । गत कार्तिक महिनादेखि सुरु भएको सफा धनगढी अभियानमा हरेक दिन जनसहभागिता बढिरहेको छ । उपमहानगरपालिका प्रमुख गोपाल हमाल, उपप्रमुख कन्दकला राना, वडाध्यक्ष तथा सदस्यहरू स्वयंम नै प्रत्येक विद्यालय र समुदायमा पुगेर नागरिकलाई सरसफाईका लागि प्रेरित गर्दै आएका छन् ।

अभियान अन्तर्गत हरेक वडामा साप्ताहिक रुपमा सरसफाई कार्यक्रम सञ्चालन हुने गरेको छ । नगर प्रमुख, उपप्रमुख, सम्बन्धित वडाका अध्यक्ष तथा सदस्यहरू वडाबासीहरूलाई फोहरमैलाको वर्गीकरण गर्ने लगायतका विषयमा सिकाउने गरिरहेका छन् । 

‘हाम्रो धनगढी, सफा धनगढी’ अभियान अन्तर्गत प्रत्येक वडामा वडा र टोल समिति गठन गरिएको छ । अभियानमा हरेक वडाटोलमा बालबालिकादेखि बृद्धबृद्धाको उत्साहपूर्ण सहभागिता रहँदै आएको छ । पछिल्ला महिनाहरूमा धनगढीका सार्वजनिक स्थान र सडकहरूमा फोहोरमैला कम भई अभियान सफल हुँदैछ । 

सरसफाई अभियानका क्रममा अहिले नगरका सबै १९ वडामा वडा स्तरीय सरसफाइ समिति गठन भइसकेको छ । तीन सय बढी टोल समिति गठन भएका छन् । वडा तथा टोल समितिले हरेक महिना सरसफाई सप्ताह सञ्चालन गरिरहेका छन् ।

‘अपांगता भएकालाई निःशुल्क सहायक सामग्री’ 
उपमहानगरपालिकाले अपांगता भएका व्यक्तिहरूलाई निःशुल्करूपमा सहायक सामग्री दिने गरेको छ । उपमहानगरपालिकाले धनगढीमा रहेका १९ वटा वडालाई पाँच वटा क्लस्टरमा विभाजन गरी अपांगता भएका व्यक्तिको खोजी गर्न स्क्रिनिङ शिविर सञ्चालन पश्चात् आवश्यक सहायक सामग्री निःशुल्क रुपमा वितरण गर्ने गरेको छ । 

अपांगता भएका ब्यक्तिलाई आवश्यकता अनुसार ह्विलचेयर, बैसाखी, ट्राइ साइकल, कम्बोट चियर, हियरिङ एड, लठ्ठी लगायतका सहायक सामग्री प्रदान गर्ने गरेको छ ।

‘स्मार्ट नगरबस’ सञ्चालन
न्गरवासीको यात्रा सहज र सुलभ होस् भनेर उपमहानगरले आफ्नै स्मार्ट सिटी बस सेवा सञ्चालन गरेको छ । यसले गर्दा ग्रामीण भेग बजारसँग जोडिएको छ भने यात्रा सहज भएको छ । धनगढीसँग जोडिएको कैलारी गाउँपालिकाको हसुलियादेखि धनगढीको फूलबारी, मेनरोड हुँदै गोदावरी नगरपालिकाको अत्तरिया र फेरी त्यही रुट हुँदै हसुलियासम्म पुग्ने गरी नगरबस सेवा सञ्चालन गरिएको छ । यही असोज १ गतेबाट पहिलो चरणमा ६ वटा बसबाट नगरबस सेवा सुरू गरिएको छ । 

नगरबस सेवा बिहान ६ बजेदेखि साँझ ७ बजेसम्म सञ्चालन हुन्छ । नेपाल सरकारले तोकेको भाडा भन्दा महंगो लिन नपाउने गरी हरेक आधा÷आधा घण्टामा निश्चित समयमा छुटने गरी नगरबस सञ्चालन गरिएको छ । नगरबसमा कहाँ पुग्यो भनेर घरबाटै लोकेशन हेर्न सकिने जिपिएस जडान तथा यात्रु र सामानको सुरक्षाका लागि सिसिक्यामरा जडान गरिएको छ । 

बसमा सुदूरपश्चिमका धार्मिकस्थल तथा सांस्कृतिक पहिचान झल्काउने पोस्टर र पेन्टिङ गरिएको छ । नगरबस सञ्चालनले ग्रामीण भेगबाट विद्यालय तथा क्याम्पस पढ्न आउने विद्यार्थीहरू र गाउँमा उत्पादन भएको कृषि उपजलाई बजारसम्म ल्याउन सहज भएको छ । 

‘सामुदायिक चौपायाको व्यवस्थापन’
सामुदायिक (छाडा) चौपायाका कारण नगरबासीले भोग्दै आएको समस्यालाई मध्यनजर गरी उनीहरुको व्यवस्थित तवरले व्यवस्थापन गरिएको छ । उपमहानगरले वडा नम्बर ३ को राजघाट, वडा नम्बर ७ कोदेवरिया, वडा नम्बर १६ को रामपुर र वडा नम्बर १८ को फूलवारीमा गौशाला सञ्चालन गरेर सामुदायिक चौपायालाई व्यवस्थित गरेको हो । यी गौशालामा एक हजार बढी गाईगोरुको पालनपोषण र संरक्षण गरिएको छ । 

‘फोहोर बेचेर मोहोर’
उपमहानगरपालिकाले ‘फोहोर बेचेर मोहोर’ कमाउन थालेको छ । उपमहानगरपालिकाले पहिलो पटक वर्गीकृत फोहर बिक्री गर्ने काम सुरु गरेर मोहर कमाउन थालेको हो । उपमहानगरपालिकाले वडा नम्बर २ मा सञ्चालन गरेको सूक्ष्म वर्गाीकरण केन्द्रबाट तयार भएको फोहोर बिक्री गर्ने कामको सुरूवात गरेर पहिलो चरणमा करिब १५ लाख मुल्यको वर्गीकरण गरिएको फोहोर बिक्री गरेको छ ।

उपमहानगरपालिकाले फोहोर बिक्री गर्न मूल्य सूचि नै तयार पारेर ठेक्का सम्झौता समेत गरेको जनाएको छ ।फोहोर संकलनका लागि उपमहानगरपालिकाको वडा नम्बर २ मा एक बिघा जग्गा वार्षिक ८८ हजार आठ सय ८८ रुपैयाँमा भाडामा लिइएको छ । त्यसमा उपमहानगरपालिकाले १९ लाखमा उपकरण तथा संरचना निर्माण र ७ लाखको घेरबार गरेको छ । उपकरणका लागि आवश्यक विद्युत् जडान गरेर दुई जना प्राविधिकसहित १२ जनाले सूक्ष्म वर्गीकरण केन्द्र सञ्चालनमा ल्याएका छन् ।

धनगढी बजार क्षेत्रका वडाबाट मात्र दैनिक २० देखि ३० टनसम्म फोहोर संकलन हुँदै आएको छ । कुहिने फोहोरबाट मल तथा वायो ग्याँस उत्पादन हुँदै आएकोमा नकुहिने फोहोर सूक्ष्म वर्गीकरण गरेर विक्री गरिँदैछ ।

‘स्मार्ट सार्वजनिक शौचालय’
सार्वजनिक शौचालयको कमीको समस्या बेहोरिरहेका धनगढी उपमहानरबासीहरू अब स्मार्ट (आधुनिक) शौचालयको सुविधा पाउने भएका छन् । उपमहानगरपालिकाले बजारका मुख्य क्षेत्रहरूमा स्मार्ट सार्वजनिक शौचालय निर्माण कार्य अघि बढाएको छ ।

स्मार्ट सार्वजनिक शौचालयमा स्यानिटरी प्याड, पर्याप्त पानी, बत्ती र सुविधाजनक शौचको सुविधा रहेको छ । शौचालयमा महिला, पुरुष र अपांगता भएका व्यक्तिका लागि छुट्टाछुट्टै कक्ष बनाइएको छ । स्मार्ट शौचालय परिसरमा क्याफेको पनि व्यवस्था छ ।

स्मार्ट सार्वजनिक शौचालयमा सफाईका लागि पानी, ट्वाइलेट पेपर, स्प्रे, साबुन तथा विद्युतीय हिटरको समेत सुविधा रहको छ । त्यस्तै, शौचपछि प्रयोग गरिने सामग्री व्यवस्थापनका लागि आधुनिक उपकरण समेत राखिएको छ ।

सार्वजनिक शौचालय बाहिर पनि सरसफाई तथा स्वच्छ वातावरण बनाउन आवश्यक प्रबन्ध गर्ने समेत जनाएको छ । हाल उपमहानगरपालिकाको परिसर र अन्य पाँच गरी ६ वटा स्मार्ट शौचालय बनाइएको छ ।  

‘साइकल लेन’
साइकलयात्रीको सुरक्षालाई मध्यनजर गरी साइकल लेन बनाइएको छ । छ लेन सडकको त्रिनगर भन्सारदेखि गोदावरी नगरपालिकाको सिमासम्म पर्ने १४ दशमलव २ किलोमिटर साइकल लेन निर्माण बनाइएको हो । सडकका दुवै छेउमा १ दशमलव ५ मिटर चौडा अन्तर्राष्ट्रिय स्तरको साइकल लेन बनाइएको छ । यस अभियानलाई अब सहरी सडकमा पनि निरन्तरता दिइने उपमहानगरपालिकाले जनाएको छ । 

‘हरघडी नगर प्रहरी’ 
दैबी प्रकोप हुँदा उद्धार गर्नुपरे वा सर्प समात्नु परे, नगरक्षेत्रमा अलपत्र परे तथा बिरामी हुँदा उपचार गर्न अस्पताल लिने÷ल्याउने कोही नभए रातअर्दरात जतिबेला पनि धनगढी नगर प्रहरी नागरिक सेवा खटिने गरेको छ । यी सबै सेवा धनगढी नगर प्रहरी बलले निशुल्क रुपमा सेवा उपलब्ध गराउने गरेको छ । 

यसका लागि धनगढी नगर प्रहरी बलको १८१०५०००००९० टोल फ्री नम्बर र सशुल्क ०९१–५९०६९० मा फोन  गर्नुपर्छ । जो कोहीले पनि आफूलाई परेको समस्या बारे धनगढी नगर प्रहरी बललाई जानकारी गराउना साथ नगर प्रहरी परिचालित भई आवश्यकताअनुसार नागरिकलाई सेवा दिने गरेको नगर प्रहरी बल प्रमुख प्रहरी निरीक्षक धर्मानन्द जोशीले बताए ।  

जोशीकाअनुसार हालसम्म एक हजार सर्पको उद्धार गरी सुरक्षित ठाउँमा छोडिएको छ ।  नगरबासीलाई सर्पदंश र सर्पलाई अकालबाट मारिनबाट जोगाउन  नगर प्रहरीलाई सर्प समात्ने तालिम दिई नगरका घर, टहरा, पसल, गोठबाट आदिमा पसेका सर्पको उद्धार गरिएको छ । 

त्यस्तै, बाढीबाट डुबानमा परेकाको, सडकमा अलपत्र परेका मानवको उद्धार तथा आगलागि नियन्त्रण, कुनै दुर्घटना घाइतेलाई अस्पताल पुर्याउने काम लगायतका नगर प्रहरी बलले गदै आएको छ । 
 

clock शुक्रबार ११, असोज २०८१ १६:३४

प्रतिक्रिया