सिंगापुर हिँडेको हल्लाबीच आरजुले सार्वजनिक गरिन् मार्ट उद्घाटनको फोटो

  शुक्रबार २९, बैशाख २०८० ११:०६

काठमाडौँ । काँग्रेस नेतृ आरजु राणा देउवाले मार्ट उद्घाटनको फोटो सार्वजनिक गरेकी छन् । सिंगापुर भागेको हल्ला आइरहेका बेला कांग्रेस सभापति शेरबहादुर देउवापत्नी आरजुले बिहान सामाजिक सञ्जालमार्फत फोटो सार्वजनिक गरेकी हुन् ।

उनले बिहीबार हेटौँडा २ स्थित जगदम्बा ग्रुपले सञ्चालनमा ल्याउन लागेको स्वदेशी सुपरमार्केट उद्घाटन गरेकी थिइन् । फेसबुकमा पोस्ट गर्दै आरजुले बिहीबार आफू हेटौँडामा रहेको उल्लेख गरेकी छिन् । उनको स्टाटसमा लेखिएको छ ‘हिजो हेटौडास्थित स्वदेशी मार्टको उद्घाटन गर्दै ।’

केही दिनअघि पनि नक्कली भुटानी शरणार्थी प्रकरणमा उनको संलग्नताको भन्दै ‘अडियो टेप’ सार्वजनिक भएपछि यसका विरुद्ध राणा साइबर ब्युरो पुगेकी थिइन् । सो प्रकरणमा पूर्वगृहमन्त्री बालकृष्ण खाँण पक्राउ परेसँगै खाँणपत्नी मञ्जु खाँण र देउवापत्नी आरजु राणाका बारेमा थुप्रै हल्ला सार्वजनिक भएका छन् ।

बिहीबार कांग्रेस नेतृ आरजु भागेको हल्ला आयो । एउटा युट्युब च्यानलले आरजु वीरगन्जबाट भारत हुँदै सिंगापुर गएको सामग्री प्रसारण गरेको छ ।

 

clock शुक्रबार २९, बैशाख २०८० ११:०६

प्रतिक्रिया