आत्महत्याका घटनामा देउतालाई दोष

  बुधबार २६, भदौ २०८१ ०९:००

बैतडी । यस वर्ष जिल्लाका विभिन्न स्थानमा ‘आत्महत्या रोकथामबारे संवाद सुरु गरौँ, दृष्टिकोण बदलौँ’ नाराका साथ विश्व आत्महत्या रोकथाम दिवस मनाइएको छ । आत्महत्या रोकथाम गर्न मनोपरामर्श र मानसिक स्वास्थ्य उपचार आवश्यक परे पनि रूढिवादी परम्पराले देउताको दोष हो भन्दै मानसिक रोग निको पार्न देउतालाई भाकल गर्ने, बोका काट्ने, मन्दिरमा घन्ट चढाउने कुप्रचलन अझै हट्न सकेको छैन । 

गएको पाँच वर्षमा बैतडीका १६४ जनाले आत्महत्या गरेको तथ्याङ्क छ । जिल्ला प्रहरी कार्यालय बैतडीको तथ्याङ्क अनुसार यहाँ हरेक एक महिनामा दुई जनाले आत्महत्या गरेको पाइएको छ । 

“मानसिक स्वास्थ्य समस्याका कारण घरपरिवारका सदस्यले फरक व्यवहार देखाउन थाल्यो भने देउता लाग्यो भन्ने चलन छ,” स्वास्थ्य कार्यालय बैतडीका सूचना अधिकारी विपिन लेखकले भन्नुभयो, “त्यस्तो बेलामा देउता लाग्यो भन्ने होइन, उपचार गर्न अस्पताल लैजानु पर्छ ।” 

सरकारले बैतडी अस्पताललाई मानसिक स्वास्थ्य उपचार केन्द्रका रूपमा विकास गरेर मानसिक स्वास्थ्यसम्बन्धी विशेषज्ञ चिकित्सकद्वारा उपचार भइरहेकाले देउताको पछाडि लाग्नुभन्दा पनि उपचार गराउन घरपरिवारका सदस्य जागरुक बन्नुपर्नेमा उहाँले जोड दिनुभयो ।   

जिल्ला अस्पतालमा हरेक महिनाको १३ गते मानसिक स्वास्थ्य उपचार शिविरमा ५० देखि ६० जना उपचारका लागि आउने गरेको जिल्ला अस्पताल बैतडीका सूचना अधिकारी चन्द्रसिंह डोबालले बताउनुभयो । उहाँले भन्नुभयो, “नियमित रूपमा मनोपरामर्श लिएर जाँचपछि ५० जनाले नियमित औषधी सेवन गरिरहेका छन् । शिविरमा भने पाँचरदस जना थप उपचारका लागि आउने गरेका छन् ।”

बेवारिसे अवस्थामा मानसिक रोगी  

जिल्ला सदरमुकाम बैतडीमा दैनिक तीनदेखि चार जना मानसिक रोगी बेवारिसे अवस्थामा घुमफिर गरिरहेको भए पनि सरोकारवाला निकायको ध्यान जान सकेको छैन । सदरमुकामपछि जिल्लाका देहिमाडौँ, पाटन र खोड्पे बजारसमेत मानसिक रोगी बेवारिसे घुम्ने गरेका छन् । यसरी घुम्नेमा अधिकांश पुरुष मानसिक रोगी रहेको पाइएको छ । 

स्वास्थ्य कार्यालय बैतडीले केही वर्षअघि बजारमा बेवारिसे घुमिरहेका महिला मानसिक रोगीको उद्धार गरेर धनगढीस्थित मानवसेवा आश्रम पठाए पनि पुरुष मानसिक रोगीका लागि भने उद्धारका कुनै कार्यक्रम गर्न सकेको छैन । 

यो वर्ष मानसिक रोगीको उद्धार गर्ने कुनै कार्यक्रम नभएको स्वास्थ्य कार्यालय बैतडीका सूचना अधिकारी लेखकले जानकारी दिनुभयो । उहाँले स्थानीय तहले मानसिक रोगीको उद्धार र उपचार गर्नुपर्ने बताउनुभयो । 

दशरथ चन्द नगरपालिका–४, तिरगाउँमा सौका तिरुवाले आफ्ना दुई छोरा मानसिक रोगी भए पनि उपचारका लागि धनगढी र काठमाडौँका अस्पताल लैजाने खर्च नभएको बताउनुभयो । 

नेपालमा दैनिक सरदर २० जनाले आत्महत्या गर्ने गरेको तथ्याङ्क छ । नेपालमा आर्थिक वर्ष २०८०र८१ मा सात हजार २२३ जनाले आत्महत्या गरेका थिए । विश्व स्वास्थ्य सङ्गठनका अनुसार विश्वभर प्रतिवर्ष आठ लाखभन्दा बढी व्यक्तिले आत्महत्या गर्ने गरेका छन् ।    

clock बुधबार २६, भदौ २०८१ ०९:००

प्रतिक्रिया