सुदूर पहाडको ‘लाइफलाइन’ सडक दयनीय, तीन दशकसम्म भएन स्तरोन्नति
धनगढी । डडेल्धुरा जोड्ने राजमार्ग हो, भीमदत्त राजमार्ग । सुदूरपश्चिमका सात पहाडी जिल्लालाई जोड्ने वैकल्पिक सडक नभएकाले भीमदत्त राजमार्गलाई पहाडी जिल्लाको लाइफलाइन मानिन्छ । तर, त्यही लाइफलाइन सडकको भने बिजोक छ । एक सय ३५ किलोमिटर लामो राजमार्गको अधिकांश क्षेत्र क्षतिग्रस्त छ । राजमार्गको ६९ किलोमिटर खण्ड कैलाली तथा डोटी र डडेल्धुरामा ३३(३३ किलोमिटर पर्छ ।
डोटी र डडेल्धुरा खण्डको अवस्था सबैभन्दा दयनीय रहेको सवारी चालक रमेश अवस्थी बताउँछन् । ‘डडेल्धुरा खण्डको हगुल्टे लेक क्षेत्रमा त सडक कच्चीभन्दा पनि दयनीय छ,’ अवस्थीले भने, ‘सडकको अवस्था ठीक हुँदा डडेल्धुरादेखि धनगढी पुग्न साढे तीन घण्टा समय लाग्ने गरेको थियो । अहिले पाँच घण्टामा पनि पुग्न मुस्किल हुन्छ ।’ हगुल्टे लेक क्षेत्रमा बर्सेनि हिमपात हुने गरेको छ । तर, सडक डिभिजन कार्यालयले सामान्य मर्मत मात्रै गर्ने भएकाले उक्त क्षेत्रमा सडक वर्ष दिन नपुग्दै भत्किने गरेको छ ।
अर्का सवारी चालक दीपेन्द्र ऐरका अनुसार ठाउँ-ठाउँमा सडक भत्किएको र सयौँ खाल्डाखुल्डी भएकाले आवतजावतमा मुस्किल छ । ‘वर्षात्को समयमा त भगवान् भरोसामा यात्रा गर्नुपर्ने अवस्था छ,’ उनले भने । सडक डिभिजन कार्यालय महेन्द्रनगरका सूचना अधिकारी तारानाथ सिग्देलका अनुसार राजमार्गको स्तरोन्नति नभए पनि कैलाली खण्डमा समय(समयमा आवधिक र पटके मर्मत हुँदै आएको छ । ‘अहिले सहजपुरदेखि फल्टुडेसम्म आवधिक मर्मत भएकाले उक्त क्षेत्रमा सडकको अवस्था ठीक छ,’ उनले भने, ‘अन्य क्षेत्रमा पटके मर्मत मात्रै हुने गरेको छ । त्यो भनेको खाल्डा पुर्ने काम मात्रै हो । त्यो दिगो हुँदैन ।’ उनका अनुसार सहजपुरदेखि फल्टुडेसम्मको आवधिक मर्मतको काममा दुई करोड २६ लाख रुपैयाँ खर्च भएको हो ।
राजमार्गको डडेल्धुरा र डोटी खण्ड भने सडक डिभिजन कार्यालय कुलपाते डोटीले हेर्दै आएको छ । कार्यालयका प्रमुख रमेश भट्टराईका अनुसार सडक मर्मतका लागि यसअघि ठेक्का भएको तर ठेकेदारले काम नगर्दा सडकको अवस्था झन् बिग्रिएको हो । ‘यसअघि सडक मर्मतका लागि तीनवटा ठेक्का लगाइएको थियो,’ उनले भने, ‘तर, ती ठेकेदारले न त मर्मतको काम गरे न कार्यालयले ठेक्का तोड्ने काम नै गरेको थियो । अहिले उक्त ठेक्का तोडेर नयाँ ठेक्का लगाएका छौँ ।’ राजमार्गको भात्काडादेखि गैरासम्म ५ करोडमा उच्चाकोटी निर्माण कम्पनीले ठेक्का पाएको छ । यस्तै, डडेल्धुरादेखि भात्काडासम्म दुई करोड रुपैयाँमा रुद्रावतीले ठेक्का पाएको छ । यसबाहेक डडेल्धुरा-बैतडी राजमार्गमा अनारखोली क्षेमा सडक मर्मतका लागि चार करोडमा उमा विल्डर्सले ठेक्का पाएको छ ।
२०१८ सालतिर भीमदत्त राजमार्ग निर्माणको चर्चा सुरु भएकोमा त्यसपछि सडक रेखांकन र ट्र्याक खोल्ने काम भएर २०२९ सालमा पहिलोपटक डडेलधुरामा गाडी पुगेको थियो । २०४६ सालमा सुरु भएको कालोपत्रे गर्ने काम २०५२ सालमा सम्पन्न भएको थियो । कालोपत्रे भएको तीन दशक पुग्नै लाग्दा पनि सडक स्तरोन्नतिको काम भएको छैन । राजमार्ग सुधार र मर्मतका नाममा हरेक वर्ष खाल्डा पुर्ने मात्रै काम हुँदै आएको छ । तर, उक्त मर्मत पनि एक वर्ष टिक्ने गरेको छैन । यस्तै, भीमदत्त राजमार्गमा दर्जनौँ पहिरोले पनि सडक झन् क्षतिग्रस्त भएको छ । राजमार्गको बुढीतोला क्षेत्रमा त पहिरोले झण्डै तीन सय मिटर सडक बगाएको थियो । अहिले उक्त क्षेत्रमा ६ करोड ६० लाखको ठेक्का लगाएर काम भइरहेको सडक डिभिजन कार्यालय, महेन्द्रनगरका सूचना अधिकारी सिग्देलले बताए । ‘जीएसआई हटैराज जेभीले ठेक्का पाएर काम गरिरहेको छ,’ उनले भने, ‘उक्त क्षेत्रमा कटिङ र वाल लगाउनेलगायतको काम भइरहेको छ । पुसभित्र काम सम्पन्न गर्नुपर्ने सम्झौता छ ।’
जताततै छन् मृत्यु स्तम्भ
सात पहाडी जिल्ला जोड्ने भीमदत्त राजमार्ग तीन दशकसम्म स्तरोन्नति नभएपछि दुर्घटना पनि बढ्दै गएका छन् । जसका कारण अहिले राजमार्गका अधिकांश विभिन्न ठाउँमा मृत्यु स्तम्भ बनेका छन् । राजमार्गमा पहिलो मृत्यु स्तम्भ २०३३ सालमा बनेको थियो । डोजर चालक मैते पुनको भासु भीरमा दुर्घटनामा परी मृत्यु भएपछि उनको स्मृतिमा पहिलो स्तम्भ निर्माण गरिएको थियो । अहिले दुर्घटनामा ज्यान गुमाउने व्यक्तिका नाम कुँदिएका स्तम्भले भीमदत्त राजमार्ग भरिभराउ भएको छ ।
एक सय ३५ किलोमिटर राजमार्गको कैलालीमा पर्ने फल्टुडेसम्मको क्षेत्रमा सबैभन्दा बढी दुर्घटना भएका छन् । अहिले दुर्घटना न्यूनीकरणका लागि राजमार्गका विभिन्न स्थानमा ऐना राखिएको छ । सडक डिभिजन कार्यालय कुलपाते डोटीले ऐना राखेको हो ।
कार्यालयका अनुसार आवतजावत गर्ने क्रममा सवारीसाधन आएको नदेखिने अवस्थामा रहेका घुम्तीमा ऐना राखिएको छ । सडक दुर्घटना न्यूनीकरणका लागि घुम्तीमा ऐना राख्ने कार्यको सुरुवात गरिएको कार्यालयले जनाएको छ । घुम्तीमा राखिएका ऐनाबाट विपरीत दिशाबाट आइरहेका सवारीलाई देख्न सकिन्छ ।
आधा दर्जन वैकल्पिक सडकको निर्माण सुस्त
भीमदत्त राजमार्गको विकल्पका रूपमा पहाडी जिल्ला जोड्ने आधा दर्जन वैकल्पिक मार्गको निर्माण हुँदै आएको छ । तर, ती वैकल्पिक मार्गको निर्माण भने सुस्त छ । तीमध्येको एक हो, महाकाली कोरिडोर । कञ्चनपुरको ब्रह्मदेवदेखि डडेल्धुरा र बैतडी हुँदै दार्चुलाको तिंकर जोड्ने योजनाअनुसार कोरिडोरको निर्माण सुरु भएको डेढ दशक बितेको छ ।
महाकाली कोरिडोरका योजना प्रमुख लक्ष्मणदत्त जोशीका अनुसार ब्रह्मदेवदेखि तिंकरसम्म चार सय १३ किलोमिटर रहेकोमा ब्रह्मदेवदेखि दार्चुलाको तुसरपानीसम्म तीन सय ३४ किलोमिटर सडक महाकाली कोरिडोरको योजना कार्यालय र त्यहाँदेखि तिंकरसम्म ७९ किलोमिटर नेपाली सेनाले बनाउने जिम्मा पाएको छ । योजना कार्यालयले जिम्मा पाएको तीन सय ३४ किलोमिटरमध्ये दुई सय ४५ किलोमिटर ट्याक खोल्ने काम सम्पन्न भएको छ । अहिले बजेट अभावका कारण योजना कार्यान्वयनमा समस्या छ ।
यस्तै, सेती लोकमार्गको निर्माणमा झन् सुस्तता छ । कैलालीको टीकापुरदेखि बझाङको उत्तरी सीमा क्षेत्रको उरै भञ्ज्याङ जोड्ने सेती लोकमार्गको दुई खण्डमा काम भइरहेको छ । पर्याप्त बजेट नहुँदा सो लोकमार्ग निर्माण सुरु भएको १५ वर्षमा ट्र्याक खोल्ने काम आधा पनि सकिएको छैन । भीमदत्त राजमार्गको विकल्पका रूपमा सबैभन्दा पहिले हेरिएको सडक हो, धनगढी-दीपायल द्रूतमार्ग । ९४ किलोमिटर सडक निर्माण सुरु भएको १७ वर्षमा अहिले ३० किलोमिटरमा कालोपत्रेको काम भइरहेको छ ।
२०६४ मा खुटिया-दीपायल द्रूतमार्गको औपचारिक रूपमा सर्भे गरी ‘ट्र्याक’ खोल्ने काम गरिएको थियो । त्यसबेला खुटियादेखि दीपायलसम्म ८४ किलोमिटर सडक सर्भे भएकोमा पछि पूर्व-पश्चिम राजमार्गको स्याउले-धनगढीसम्मको १० किलोमिटर सडक थपेर ९४ किलोमिटर कायम गरिएको थियो । यस्तै, दैजी-लिप्ना-जोगबुढा-सलोन-चिर्कटे-पोखरा-ढुंगाड-बझाङ सडक, बेलौरी-कलुवापुर-नाइल-बुडर, मालाखेती-ओलानी-कोलमुडा-फल्टुडे, चिसापानी-जंगलघाट-बडिमालिका सडकको निर्माण पनि सुस्त छ ।
प्रतिक्रिया